पुलमा झुन्डिएका लाशहरू



मेक्सिको सिटी, (एजेन्सी)
विदेशी पर्यटकका लागि निकै लोकप्रिय क्षेत्रका तीनवटा छुट्टाछुट्टै पुलमा छ जना पुरुषको लाश झुन्ड्याइएको अवस्थामा फेला परेको प्रहरीले बिहीबार जनाएको छ। प्रहरीले अघिल्लो दिन ती लाश बाजा क्यालिफोर्निया सुर स्टेटका व्यस्त राजमार्गका पुलहरूमा फेलापरेको जानकारी दिएको छ।

प्रत्येक पुलमा दुईवटा लाश भेटिएको हो। मृतकको अझैसम्म पनि सनाखत भइनसकेको बताइएको छ। कुनै समय निकै शान्त र सुरक्षित मानिने मेक्सिकोका निकै प्रचलित पर्यटकीय क्षेत्रहरूमा केही वर्षयता हिंसात्मक गतिविधि निकै बढ्न थालेको पनि प्रहरीले जनाएको छ। स्थानीय अधिकारीहरूले लोस क्यावोस रिसोर्ट एरियादेखि ला पाज, सान जोस डेल क्यावो र क्यावो सान लुकासमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने मार्गमा ती लाश फेला परेको बताएका छन्।

स्टेट अफ बाजा क्यालिफोर्निया सुरका गभर्नर कार्लोस मेन्दोजा डेभिसले भनेका छन्– ‘यस सम्बन्धमा गम्भीर अनुसन्धान शुरू भइसकेको छ। म यस्ता कार्य र हिंसाको कडा शब्दमा भत्र्सना गर्दछु। यस्तो निन्दनीय परिस्थितिबाट छुटकारा पाउन अब यहाँका सबै बासिन्दा एकजुट हुनु पर्दछ।’

यसै क्षेत्रमा जनवरीदेखि अक्टोबरबीचमा मात्र विभिन्न हिंसात्मक गतिविधिमा ४ सय जनाभन्दा बढीको ज्यान गइसकेको एएफपी समाचार निकायले जनाएको छ। मेक्सिकोमा कुख्यात लागूऔषध माफियाहरू सक्रिय रहेका छन्। सन् २००६ को डिसेम्बरमा सरकारले यस्ता आपराधिक गिरोहविरुद्ध युद्ध घोषणा गरेयता २ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस्