स्पोर्टस् सेन्टरमा आगलागी, अठारको मृत्यु



सोल, (एजेन्सी)
दक्षिण कोरियाको एउटा स्पोर्टस सेन्टरमा आगलागी हुँदा १८ जना व्यक्तिको ज्यान जानुका साथै अन्य थुप्रै व्यक्ति घाइते भएको सरकारी अधिकारीहरूले बिहीबार बताएका छन्। दक्षिणी शहर जेचेयोनस्थित आठ तल्ले भवनको भूमिगत तल्लाबाट आगलागी शुरू भएको हो।

सरकारी टेलिभिजनबाट प्रसारित फुटेजमा उक्त भवनबाट बाक्लो धुवाँको मुस्लो र आगोका लप्का निस्किरहेको देखिन्छ। यस समाचार प्राप्त हुँदासम्म आगो करिब करिब नियन्त्रणमा आइसकेको तथा थुप्रो भौतिक सम्पत्ति पनि नष्ट भएको सरकारी अधिकारीहरूले पत्रकारहरूलाई बताएका छन्।

अधिकांश लाश दोस्रो तल्लाको सौनामा फेला परेको बताइएको छ। अग्ननियन्त्रकले अझै जीवित व्यक्तिको खोजी गरिरहेको र मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। आगो लागेपछि ज्यान बचाउन भवनको छतमा सरण लिन पुगेका करिब २० जनालाई सकुसल उद्धार गरिएको बताइएको छ।

धुवाँ निलेर निस्सासिएका थुप्रै घाइतेलाई नजिकका अस्पतालमा पुर्याइएका छन्। राजधानी सोलदेखि करिब १ सय ६८ किमि दक्षिण–पूर्वमा रहेको उक्त शहरमा भएको यस आगलागी नियन्त्रणका लागि ६० जना अग्निनियन्त्रक खटिएको बताइएको छ। उक्त भवनमा एउटा फिटनेस सेन्टर, रेस्टुरेन्टहरू र एउटा पब्लिक सौना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्