जेरुसलम राजधानी विवाद, विरोधमा जाने देशलाई सहायता रोक्ने ट्रम्पको धम्की



वासिङ्टन, (एजेन्सी)
जेरुसलमको मुद्दामा अन्तर्राष्ट्रिय समुदायमा एक्लिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उक्त निर्णयको विरोधमा जाने देशहरूलाई चेतावनी दिएका छन्। ट्रम्पले जेरुसलमलाई इजरायली राजधानीको दर्जा दिने निर्णय खारेज गर्ने संयुक्त राष्ट्र संघको प्रस्तावको समर्थन गर्ने देशलाई आर्थिक मद्दत रोक्ने धम्की दिएको छ। ट्रम्पले भने– ‘यिनीहरू हामीसँग अर्बौं डलरको सहायत लिन्छन् र हाम्रैविरुद्ध मतदान गर्छन्।’

‘हामी हेरिरहेका छौं। उनीहरूलाई हाम्रोविरुद्ध मतदान गर्न दिनु। हामीलाई कुनै फरक पर्ने छैन।’ –ट्रम्पले भने। ट्रम्पको उक्त बयान संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीको ट्विटपछि आएको हो। हेलीले ट्विटमा संयुक्त राष्ट्र संघको महासभामा हाम्रो निर्णयको आलोचना गरिहेका देशहरूको नाम अमेरिकाले लिने उल्लेख गरेकी थिइन्। संयुक्त राष्ट्र संघ महासभामा जेरुसलमको मुद्दामा छलफलका लागि बिहीबार आपतकालीन बैठक बोलाइएको छ। यसअघि यस मुद्दामा संयुक्त राष्ट्र सुरक्षा परिषद् सबै १४ सदस्यले उक्त प्रस्तावको मसौदाको पक्षमा भोट दिएका थिए, तर अमेरिकाले त्यसमा भिटो प्रयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्