अभिभावकले बालमनोविज्ञान कसरी बुझ्ने ?



छोटो समयमै अरूका बच्चाभन्दा धेरै जान्ने र सिपालु बनून् भन्ने चाहना सबै अभिभावकको हुन्छ। हाम्रा बच्चाले के–के कुरा कसरी सिक्दा रहेछन्, उनीहरू कहाँनेर रमाउँछन्, के कुरामा रमाउँछन् र कुन कुराले उनीहरूको सिकाइ प्रक्रियालाई सजिलो बनाउँछ भन्ने कुरातर्फ ध्यान गएको हुँदैन, जुन हाम्रो चाहनाभन्दा महत्वपूर्ण विषय हो। बच्चाको सिकाइमा देखिने कमजोरीमा अभिभावकले आफूलाई भन्दा बढी स्कुललाई जिम्मेवार ठान्ने गर्छन्। स्कुल गएको छोटो समयमै मेरो बच्चाले त त्यो स्कुलमा सिक्न सकेन, राम्रो गरेन, गृहकार्य पुगेनजस्ता गुनासाहरु गरिन्छ। यसबाट बालबालिकाको चाहना तथा विद्यालयका अन्य विशेषताहरुलाई महत्व नदिएको प्रसट हुन्छ।

बालबालिकाले कसरी सिक्छन्, कस्तो वातावरणमा सिकाइँदा प्रभावकारी हुन्छ भन्ने कुराको ख्यालै नगर्नाले पनि बालबालिकाले सोचेजस्तो उपलब्धि हासिल गर्न सकेका छैनन्। आफ्नो बच्चाको क्षमता, विश्वास र सिकाइ अवस्थाभन्दा पनि आफूलाई कहाँ सजिलो हुन्छ, कोप्रति बढी विश्वास छ, त्यसअनुरुप गर्नाले बालमनोविज्ञान र चाहना बुझन नसकेको स्पस्ट हुन्छ।

अभिभावकले स्कुल परिवर्तन गर्ने वा नजिकको विद्यालय छोडी टाढाको विद्यालयमा भर्ना गराउने प्रचलन पनि बढ्दो क्रममा छ। एकपटक विद्यालय भर्ना गरेपछि सधैँ त्यही स्कुलमा राखिरहनुपर्छ भन्ने छैन। स्कुल फेर्नु पनि पर्छ। स्कुल परिवर्तन गर्नाले बालबालिकाको मनोसामाजिक अवस्थामा नकारात्मक असर पर्न सक्छ। जसले बालबालिकाको पढाइ तथा सिक्ने क्षमतामा प्रत्यक्ष प्रभाव पर्छ। त्यसैले आफ्नो बच्चालाई एउटा विद्यालयबाट अर्कोमा लाने निर्णय गर्नुभन्दा पहिले निकै सतर्कताका साथ यस विषयमा सोच्न आवश्यक छ। पहिले पढ्दै गरेको विद्यालयमा बच्चालाई मन परेका कुराहरु के–के छन्, उसले चित्त नबुझाएका कुराहरू अथवा उसलाई मन नपर्ने कुरा तथा व्यवहार छन् भने त्यसको बारेमा पनि जानकार हुनुपर्छ।

बच्चालाई त्यो विद्यालयका साथीहरु असाध्यै मन परेको रहेछ भने उसलाई अर्को स्कुलमा लैजाँदा एक्लो महसुस गर्ने सम्भावना हुन्छ। नयाँ स्कुलमा यसबाट उसको सिकाइमा नकारात्मक प्रभाव पर्ने सम्भावना बढी हुन्छ। अधिकांश बच्चाहरूलाई आफू पढिरहेको स्कुलका शिक्षकहरूको माया लाग्छ। उनीहरूको पढाउने शैलीसँग उनीहरु सहज महसुस गर्छन्। त्यस्तो अवस्थामा स्कुल परिवर्तन गर्नु असाध्यै जटिल विषय बन्न पुग्छ।
नयाँ स्कुलमा जानेबित्तिकै नयाँ शिक्षकहरूको पढाउने शैली बालबालिकाको लागि नौलो मात्र होइन, मन पर्न र अभ्यस्त हुन निकै समय लाग्न सक्छ। स्कुल फेर्ने कुरामा बच्चाको उमेर, प्रकृति र व्यवहारले पनि प्रभाव पार्दछ। यसो भन्दैमा विद्यालय फेर्न नहुने पनि होइन। नफेर्दाका अप्ठ्यारा पनि हुन सक्छन्। बच्चा जुन स्कुलमा पढिरहेको छ, त्यहाँ उसलाई सहज छैन, त्यहाँका शिक्षकहरूसँग आत्मीय बन्न सकेको छैन, ऊ रमाइरहेको छैन, साथीहरुसँग सहज भैसकेको छैन भने ऊ सजिलै अभिव्यक्त हुने मौका पाउँदैन। बालबालिकाले आफूलाई विद्यालयका बारेमा मन नपरेका कुराहरु, साथीहरुबाट भएको हेपाइ वा असहयोग, शिक्षकबाट भएको फरक व्यवहारलाई सीधै भन्न सक्दैनन्। न त अभिभावकले यस्ता विषयमा चासो लिएर सोध्ने वा बुझ्ने गरेको नै पाइन्छ।

यस्तो अवस्थामा बालबालिकाले आफूलाई परेको असजिलो र तनावलाई बेग्लै तरिकाले प्रस्तुत गर्छन्, उनीहरुको प्रतिक्रिया फरक हुन्छ। उनीहरु बिरामी भैदिन्छन्, स्कुल जाने बेला भयो कि उनीहरुको पेट दुख्छ वा टाउको दुख्छ, शौचालय जान खोज्छन्, खाना खान मान्दैनन् वा खाँदाखाँदै वाक्क गर्छन्। यस्ता खालका व्यवहारहरू बालबालिकाले देखाउँदा हामीले उनीहरूको स्वास्थ्य बिग्रेको भन्ने सोच्छौं। तर वास्तविकता फरक पनि हुनसक्छ। म स्कुल जान्नँ, मेरा शिक्षक यस्ता छन्, मेरो साथीले यसो गर्यो भन्ने बच्चाहरू त एकदमै थोरै हुन्छन्। यदि भनिहाले पनि पत्याउने अभिभावक कम नै हुन्छन्। यसबाट बालबालिकामा झनै तनाव थपिन्छ। त्यसैले स्कुल परिवर्तनको विषय सोचे जति सजिलो छैन।

नयाँ विद्यालयमा कस्ता शिक्षकले कुन विधिमा कसरी पढाउँछन्, शिक्षक तालिमप्राप्त छन् कि छैनन्, बालबालिकाको सिकाइबारे कतिको सचेत छन्, अनुशासन कसरी कायम गर्दा रहेछन्, पिट्ने पो गर्छन् कि ? सबै कुरामा ध्यान पुर्याउनुपर्छ। यसै गरी गृहकार्य कति दिँदा रहेछन्, जाँच्दा रहेछन् कि नाइँ ? गृहकार्य नगरे कस्तो सजाय दिँदा रहेछन्, सिकाइको मूल्यांकन कसरी गर्दा रहेछन्, शिक्षकहरु भावनात्मकरुपमा स्वस्थ छन् कि छैनन् ? साथै उनीहरु कस्तो मनोसामाजिक स्थितिमा छन् भन्ने कुरा पनि अभिभावकले बुझ्नु आवश्यक छ। हामीकहाँ बढीजसो दुई खालका अभिभावक हुन्छन्। एक अनुशासनको नाममा जति पनि दण्ड दिनुपर्छ भन्नेमा विश्वास गर्ने र विद्यालयमा आफ्ना छोराछोरीलाई बढीभन्दा बढी गृहकार्य दिन, गाली गर्न, पिट्न अनुरोध गर्ने। अर्को, विद्यालयले के गरिराखेको छ, कस्तो छ भन्ने कुरामा पटक्कै चासो नलिने र पूर्णतया विद्यालय वा शिक्षकमा नै निर्भर रहने। यी दुवै तरिका गलत हुन्।
बालबालिकाले प्रारम्भिक उमेरमा पाउने तनाव, डर र त्रासले उनीहरुको बौद्धिक क्षमतामा नकारात्मक असर गर्दछ। साथै विद्यालयबारे कत्ति पनि चासो नराख्दा बालबालिकामा परेका त्यस्ता असरबारे अभिभावकलाई थाहा हुँदैन। तसर्थ अभिभावकले छोराछोरीहरुसँग उनीहरुको शिक्षक तथा साथीहरुको बारेमा कुराकानी गर्नाले विद्यालयका सम्बन्धमा उनीहरुको धारणा पनि थाहा पाउन सकिन्छ। यसका साथै विद्यालयको वातावरणको बारेमा विशेष जानकारी राख्नुपर्दछ। विद्यालय वातावरणभित्रका अवयवहरु, खेल्ने चउर, खानेपानी, शौचालय र कक्षाकोठाभित्रको बसाइ व्यवस्थापन पनि त्यत्तिकै महत्वपूर्ण कुरा हुन्। विद्यालयमा खेल्नलाई पर्याप्त ठाउँ नभएको, घाम नपरेका अँध्यारा र साना कक्षा कोठा, साँघुरो ठाउँ, फर्निचरलगायत पिउने पानीको व्यवस्था छ वा छैन, हेर्नुपर्छ। बालमैत्री, छात्रामैत्री र समग्रमा विद्यार्थीमैत्री विद्यालय छ कि छैन भन्ने पनि ख्याल गर्नुपर्छ।

यी कुरा बालबालिकाको चौतर्फी विकासका लागि आधारभूत आवश्यकता हुन्। यस्ता कुराहरूको लेखाजोखा नगरी अरुको लहलहैमा वा बच्चाले भनेकै भरमा विद्यालय परिवर्तन गर्दा बालबालिकाको क्षमतामा ह्रास आउनुका साथै सम्हाल्नै नसकिने नोक्सान व्यहोर्न पर्ने हुनसक्छ। गुणस्तरीय शिक्षाको बहानामा घरबाट टाढाको विद्यालयमा भर्ना गर्ने गलत परम्पराको विकास भएको पाइन्छ। बालबालिकाको चौतर्फी विकासका सन्दर्भमा यो सरासर गलत अभ्यास हो। टाढाको विद्यालयमा पठाउँदा विद्यालय र शिक्षक दुवै राम्रा हुदाँहुदै पनि सिकाइ गुणस्तरीय हुन्छ भन्न सकिँदैन। घन्टौँ लगाएर विद्यालय पुग्दा ती बालबालिकाको पढ्ने चाहना र अवस्था दुवै घट्न सक्छ। पुर्याउन र लिन जान पनि समय लाग्ने हुन्छ।

बिहान स्कुल जाँदा जुन फूर्ति हुन्छ, टाढाको विद्यालय पुगिसक्दा त्यो मरिसकेको हुन्छ। थकित अवस्थामा सोच्ने, कल्पना गर्ने र स्मरणशक्ति कमजोर हुने अवस्था आउँछ। स्कुल परिवर्तन गर्नुअघि वा बच्चालाई स्कुल भर्ना गर्नुअघि अभिभावकले बच्चाको सिकाइमा पर्न सक्ने यी र यस्ता अदृश्य प्रभावलाई पनि आँकलन गर्न आवश्यक हुन्छ। अभिभावक नै सचेत हुनुपर्छ यस्ता विषयमा।
– सुलोचना चौधरी, टीकापुर
(मन्टेश्वरी शिक्षक)

प्रतिक्रिया दिनुहोस्