साहित्यकार प्रेमाको निधन, नायिका जल शाहलाई मातृशोक



नायिका जल शाहकी आमा तथा साहित्यकार प्रेमा शाहको बिहीबार बिहान निधन भएको छ।
अमेरिका आउने–जाने गर्दै आएकी तथा केही समयदेखि छोरी–ज्वाइँका साथ अमेरिकामा रहँदै आएकी साहित्यकार शाहको नेपाली समयअनुसार बिहीबार बिहान ५ः५५ बजे अमेरिकाको साल्टलेक सिटी युटास्थित इन्टर माउन्टेन हेल्थ सेन्टरमा उपचारका क्रममा निधन भएको जलका पति शरद्कुमार रिजालले नेपाल समाचारपत्रलाई जानकारी गराए। अस्वस्थताका कारण प्रेमालाई केही समयदेखि उपचारार्थ सो अस्पतालमा भर्ना गरिएको थियो। उनी केहीअघिदेखि अस्वस्थ थिइन्। उनको निधनपछि जल विक्षिप्त बनेकी छिन्। शरद्का अनुसार प्रेमाको दाहसंस्कार आज शुक्रबार युटामै गरिनेछ। स्थानीय प्रचलनअनुसार पूजाआजापछि प्रेमाको अन्तिम संस्कार गरिनेछ।

वीरगन्जको श्रीपुरमा जन्मिएकी ७५ वर्षीया प्रेमा यौन मनोविज्ञान र विद्रोह तथा नारी सचेतनामूलक साहित्यिक कृतिका लागि लोकप्रिय थिइन्। स्थानीय मदन मेमोरियल स्कुल पढ्दा नै उनले साहित्यमा कलम चलाएकी थिइन्। त्यस बेला उनले लेखेको प्रतिक्रिया शीर्षकको कथा प्रकाशित भएको थियो। उनको कथा संग्रह पहेंलो गुलाब र विषयान्तर र उपन्यास मम्मी प्रकाशित भएका छन्। उनका आधा दर्जन बालकथा र ३ बाल उपन्यास पनि प्रकाशित छन्। साहित्यकर्ममा योगदान पुर्याएबापत प्रेमाले २०४५ सालमा मैनाली कथा पुरस्कार पाएकी थिइन्। जल शाहलाई नायिकाका रूपमा अगाडि बढाउन उनले ठूलो भूमिका निर्वाह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्