अन्योलमा छ धरहरा



अनेकौं तर्क र ठूला–ठूला शंका र आशंकाबीच केही महिनाअघि स्थानीय र भर्खरै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ। तर, राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशको गाँठो फुकाउन दलहरूको आ–आफ्नै अडान दोहोर्याउँदा ‘हात्ती छिर्यो, पुच्छर अड्कियो’ भन्ने उखान अहिले मुलुकको राजनीतिसँग दुरुस्तै मेल खान थालेको छ।

त्यसो त यही विषयको गतिरोध अन्त्यको प्रयास गर्दै हिजोआज हरेक दिनजसो दलका नेता राष्ट्रपति भवन शीतल निवास धाउन थालेका छन्। कहिले प्रधानमन्त्री देउवासहितको टोली त्यहाँ पुग्छ भने कहिले वामपन्थी गठबन्धनका नेता। दुवै पक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आग्रह भने एउटै हुन्छ– ‘दलीय सहमति जुटाउन अपिल गर्नुहोस्।’ हुन त सेरेमोनियल हैसियतमा रहेकी राष्ट्रपतिले भन्ने नै त्यही होला, धरहराले यस्तै बुझ्या छ।

हुन पनि हो, विगतमा ठूला दलका केही नेतामात्रै आमने–सामने बस्दा निकै जटिल मानिएका राजनीतिक गतिरोधसमेत टुङ्गो लगाएका उदाहरण छन्। सरकार गठन, होस् या चुनावी तालमेल, जे गर्न पनि लचक हुने दलका नेता राष्ट्रिय सभा गठन अध्यादेशलाई टुङ्गोमा लगाउन भने निकै ठूलो आनाकानी गरिरहेका छन्। दलहरूलाई चुवानी परिणामले यस्तो दम्भ बढाएको हो या लज्जास्पद हारले, धरहराले बुझ्न सक्या छैन।

प्रतिक्रिया दिनुहोस्