डिजिटलको नाममा आर्थिक भार



नरेन्द्रमान श्रेष्ठ

नेपालमा केबलटेलिभिजनमार्फत विदेशी टेलिभिजन च्यानल हेर्ने गरिरहेकोमा मसिर १६ गतेदेखि कतिपयको टेलिभिजनमा विदेशी च्यानल आएन। यसले कतिपयलाई आफूले नियमित हेर्ने गरेको विदेशी टेलिसिरियलहरु अकस्मात् हेर्न नपाएकोमा रिस पनि लाग्यो होला। त्यसो त कतिपयलाई विदेशी टेलिभिजन च्यानल नआएकोमा केही फरक पनि परेन होला। मानिसलाई बाँच्नको लागि नभई नहुने अति आवश्यकीय पानी धाराबाट नआएमा त केही फरक पर्दैन भने जाबो विदेशी टीभी नआए के नै फरक पर्ला र ? दिनको १६ घन्टा बिजुली नआए त फरक नपर्नेहरुका लागि जाबो टीभी नआए के फरक पर्ला त ?

नेपालका नेतालगायत सरकारले समेत झुटो आश्वासन दिँदा, देश भ्रष्टाचार र कमिसनतन्त्रमा लिप्त हुँदा अनि अदालतले भकाभक भ्रष्टाचारी, अपराधीहरुलाई छाड त फरक नपर्ने नेपाली नागरिकहरुका लागि विदेशी टीभी च्यानल नआएमा के नै फरक पर्ला र ? विदेशी टीभी च्यानल नआएकोमा ठीक भयो भनेर भन्नेहरु पनि त होलान्, एकातिर विदेशी टीभीलाई शुल्क तिर्न परेन भने अर्काेतिर खाना समयमै खान पनि पाइयो होला। हिन्दी टेलिसिरियल हेरेर समयमा खान नपाइने थुप्रै छन्। विदेशी टीभी नआएकोले कतिपयले समयमा खान पाए होलान् तर पनि कतिपयलाई हामीले पनि सेट टप बक्स राख्नुपर्यो भनेर परिवारले किचकिच गरिरहेका होलान्। शायद यो समस्या धेरैको घरमा भइरहेको छ होला।

डिजिटलले विदेशी टीभी च्यानलका दर्शकहरुलाई एक किसिमको आतंक नै सिर्जना गर्यो भन्दा फरक नपर्ला। त्यसो त विश्वमा पछिल्लो समयमा नयाँ–नयाँ प्रविधिको विकास भइरहेको छ, नयाँ–नयाँ प्रविधिको प्रयोग भइरहेको छ। नयाँ–नयाँ प्रविधिहरुको प्रयोग गर्न समयको पनि माग हुनसक्छ। टेलिभिजन च्यानलहरु पनि डिजिटल हुनु राम्रो हो।

यसले स्तरीय, राम्रो, सफा कार्यक्रम हेर्न पाउँछन् दर्शकहरुले। तर पनि कतिपय दर्शकहरुलाई आर्थिक भार पर्ने भएकाले एनालग र डिजिटल दुईवटै प्रयोग गर्न दिनुपर्छ भन्नेमा धेरै दर्शकहरु रहेका देखिन्छन्। विगतमा विदेशी टीभी च्यानल हेर्नका लागि घरको छाना वा छतमा एन्टिना ठड्याउनुपथ्र्यो। राम्ररी कार्यक्रम हेर्नका लागि बेला–बेलामा सो एन्टिना मिलाउनुपथ्र्यो। तर अहिले शुल्क तिरेरै भए पनि राम्रोसँग विदेशी टीभी च्यानलहरु हेर्न पाइरहेका छन् दर्शकहरुले। हुन त नयाँ–नयाँ प्रविधिको प्रयोगले दर्शकहरुमा आर्थिक भार पर्ने गरिरहेको छ भने देशको करोडौं रकम विदेशमा गइरहेको छ। यसमा भने सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

देशमा थुप्रै नेपाली टीभी च्यानलहरु प्रसारण भइरहेका छन्। नेपाली र नेवारी भाषाका २० वटा च्यानलभन्दा बढी नेपाली टीभी च्यानलहरु प्रसारण भइरहेका छन्। आफ्नै देशमा विभिन्न विषयमा विविध नेपाली टीभी च्यानलहरु जस्तै– मनोरञ्जनात्मक, कृषिसम्बन्धी, धार्मिक, आर्थिक, न्युज च्यानलहरु प्रसारण भइरहेका छन्। तर पनि कतिपय नेपाली दर्शकहरु विदेशी च्यानल खासगरी हिन्दी च्यानलहरुप्रति आकर्षित भइरहेका छन्। विदेशी टीभी च्यानल खासगरी हिन्दी टेलिसिरियल नहेरी खाएको नै नपचेको जस्तो गर्ने नेपाली दर्शकहरु पनि नभएका भने होइनन्। त्यसो त नेपाली टीभी च्यानलहरुले दर्शकहरुलाई आकर्षित गर्न नसकिएको हो कि, कतै दर्शकहरुले नै नेपाली टीभी च्यानलहरु हेर्न मन नपराको हो कि ? अथवा नेपाली टीभी च्यानलहरुले दर्शकहरुको रुचिका विषयमा कार्यक्रमहरु बनाउन नसकेको हो कि ? टीभीका दर्शकहरु भनेको धेरैजसो महिला, केटाकेटी, गृहिणीहरु नै हुने गरेका छन्।

उनीहरुको रुचि र चाहनाअनुसारका कार्यक्रमहरु बनाउन नसकिएको हो कि ? त्यसो त अधिकांश नेपाली टीभी च्यानलहरुमा समाचारहरु, राजनीतिक विषयका कार्यक्रमहरु, राजनीतिक सरोकारका कार्यक्रमहरु नै धेरैजसो प्रसारण हुने गरेका छन्। तर विदेशी टीभी च्यालहरु खासगरी हिन्दी टीभी च्यानलहरुले महिला, गृहिणी, युवायुवतीहरुलाई ध्यानमा राखेर कार्यक्रमहरु प्रसारण गर्ने गरिरहेका छन्। यसले पनि दर्शकहरु उतापट्टि आकर्षित भएका हुन् कि।

नेपालमा थुप्रै विदेशी टीभी च्यानलहरु प्रसारण भइरहेका छन्। विदेशी टीभी च्यानलहरु केबल लाइनमार्फत प्रसारण भइरहेका छन्। केबल लाइनबाट विदेशी टीभी हेर्ने दर्शकहरुले केही शुल्क तिर्नुपर्ने हुन्छ। नेपालीहरुको करोडौं कमाइ टीभीको नाममा, मनोरञ्जनको नाममा महिनैपिच्छे विदेश गइरहेको छ। त्यसमा पनि अहिले फेरि एनालगको सट्टा डिजिटल जडान गर्नुपर्ने बाध्यताले गर्दा दर्शकहरुलाई बढी आर्थिक भार पर्ने देखिन्छ। एनालगबाट डिजिटलमा जाँदा सेट टप बक्स जडान गर्नुपर्ने हुन्छ भने सेट टप बक्सको लागि अलग्गै शुल्क तिर्नुपर्छ।

महिना–महिनामा रिचार्ज पनि गरिरहनुपर्ने हुन्छ। सेट टप बक्सको पनि केबलवालाहरुले न्यूनतम रु. ५ सयदेखि रु. ३ हजारभन्दा बढी लिइरहेका छन्। सेट टप बक्सको मूल्यमा पनि समानता छैन। एनालगमा एउटै लाइनबाट दुई–तीनवटा टीभी हेर्न सकिन्छ तर सेट टप बक्स राख्दा एउटा बक्सले एउटा टीभी मात्र हेर्न सकिन्छ। परिवारमा दुई–तीनवटा टीभी हेर्ने गरिएको छ भने त सेट टप बक्स पनि अलग–अलग नै राख्नुपर्ने हुन्छ। फेरि रिचार्ज पनि अलग–अलग नै गर्नुपर्ने हुन्छ। यसले गर्दा विदेशी टीभी च्यानल हेर्ने दर्शकहरुमा आर्थिक भार बढी पर्ने देखिन्छ भने सेट टप बक्सले पनि देशको करोडौं रकम विदेशिने देखिन्छ।

त्यसो त इन्टरनेसनल टेलिभिजन एकाइ आईटीयुले नै एनालग प्रविधिलाई विस्थापित गरी डिजिटल प्रविधि लागू गर्नुपर्ने नियम लागू गरेको थियो। तर पनि हाम्रो जस्तो देशका लागि एनालग र डिजिटल दुवै प्रयोगमा राखिराख्नुपर्ने धेरैजसो दर्शकहरुको भनाइ रहेको देखिन्छ। कतिपय दर्शकहरुको माग आफ्नो च्वाइस र क्षमताअनुसार हेर्न पाउनुपर्ने रहेको छ। त्यसो त हाम्रा दर्शकहरु पनि कम बाठा छैनन्। एउटा केबल लाइन लिएर आफ्नो घरमा भाडामा बस्नेलाई मात्र नभई छरछिमेकलाई पनि लाइन वितरण गरेर फाइदा लिन्छन्। यसले केबलवालाहरुलाइ त नोक्सान नै हुन्छ भने यसले राजस्वमा समेत नकारात्मक असर पर्ने हुन्छ। सरकार, नेता, राजनीतिक दलहरुले मात्र नागरिकलाई ठग्छन् भनेर भन्ने गरिन्छ तर कतिपय सर्वसाधारणहरु पनि कम्तीका छैनन्। उनीहरु आफूले लिएको केबल लाइन भाडामा बस्ने र छिमेकीहरुलाई समेत बाँडेर पैसा उठाइरहेका हुन्छन्। अब डिजिटलमा गएपछि यस्तो हुने सम्भावना रहँदैन भनेर पनि सरोकारवालाहरु बताउँछन्। तर चोरको हजार दाउ भन्ने उखान पनि छ। त्यस्तै खाने मुखलाई जुँगाले छेक्दैन पनि भन्ने गरिन्छ। त्यसैले यी कुराहरुमा चनाखो हुनै पर्छ।

एकातिर एनालगबाट डिजिटलमा जाने भएपछि दर्शकहरुलाई बढी आर्थिक भार पर्ने देखिन्छ भने अर्कोतिर नेपालको करोडौं रकम विदेशिने देखिन्छ। तर पनि नेपाली टीभी च्यानलहरुले विदेशी टीभी च्यानलहरुप्रति आकर्षित भइरहेका नेपाली दर्शकहरुलाई आकर्षित गर्न सकिरहेका छैनन वा कोशिशसमेत गरेका छैनन् भन्नेहरु धेरै भेटिन्छन्। विदेशी टीभी च्यानलहरुप्रति आकर्षित भइरहेका कतिपय दर्शकहरुलाई नेपाली टीभीप्रति कमै मात्र आकर्षण गर्न सकिए पनि नेपालका टीभी च्यानलहरुका लागि लाभदायक हुनेछ। नेपालका नेपाली टलिभिजन च्यानलहरुले आफ्ना कार्यक्रमहरु निर्माण गर्दा सबै वर्गका दर्शकहरुलाई ध्यानमा राखेर उनीहरुको चाहना र रुचिअनुसारको स्तरीय कार्यक्रमहरु निर्माण गर्नुपर्छ। यसमा सरोकारवालाहरुले ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्