कारोबारमा आएका सबै समूह रातो



काठमाडौं, (नेस)
साताको तेस्रो दिन मंगलबार पनि नेप्से ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा छरिएको रकम शेयर बजारमा आउने क्रम जारी रहे पनि परिसूचक भने ओरालो लागेको हो।

मंगलबार नेप्से १४ दशमलव ५८ अंक घटेर १ हजार ४ सय ९३ दशमलव ६७ अंकमा पुगेको छ। १ हजार ५ सय ८ दशमलव २५ अंकबाट शुरु भएको बजार दिनभरि नै ओरालो लाग्दै एक महिनापछि १ हजार ५ सय भन्दा तल झरेको हो। मंगलबार १ हजार ५ सय ९३ दशमलव ६७ अंकमा आएर रोकिएको हो।

मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्दा कारोबार रकम भने बढेको छ। सोमबार ५६ करोड ८३ लाख रुपियाँको शेयर कारोबार भएको बजारमा मंगलबार ५९ करोड ९३ लाख ७६ हजार ३ सय २२ रुपियाँको शेयर किनबेच भएको छ। यस दिन बजारमा १ सय ६६ कम्पनीका १४ लाख ५ लाख ९ सय ७१ कित्ता शेयर किनबेच भए। कारोबार रकम र परिसूचक सम्बन्ध विपरित हुने क्रमले मंगलबार पनि निरन्तरता पाउँदा सरकार र राष्ट्रिय सभा गठनको विषयमा रहेको अन्योलको प्रभाव शेयर बजारमा परेको जानकारहरूले बताएका छन्।

मंगलबार कारोबारमा आएका सबै समूह ओरालो लाग्दा नेप्से परिसूचक पनि ओरालो लागेको हो। तीमध्ये बीमा समूह सबैभन्दा धेरै ५३ दशमलव ५३ अंकले ओरालो लाग्यो। त्यस्तै अन्य र होटल समूहमा उपसूचकमा पनि क्रमशः ३५ दशमलव ५७ र ३२ दशमलव ९ अंकका गिरावट आए।
मंगलबार नेप्से बजार पुँजीकरण अघिल्लो दिनको तुलनामा १६ अर्ब रुपियाँले घटेको छ। मंगलबार कारोबार सकिँदा बजारको कुल पुँजीकरण १७ खर्ब ३७ अर्ब रुपियाँमा पुगेको छ। नेप्से परिसूचक घट्दा मंगलबार ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव शून्य ७ अंक घटेर ३ सय १४ दशमलव ७३ मा पुगेको छ।
यस दिन नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा बढी शेयर किनबेच भएको छ। कम्पनीका ७ करोड ९४ लाख रुपियाँ बढीको शेयर कारोबार भएको हो। मंगलबार सबैभन्दा धेरै कमाउनेमा अरूण फाइनान्स लिमिटेडका लगानीकर्ता रहे। यस कम्पनीका लगानीकर्ताले सर्वाधिक ९ दशमलव ७ प्रतिशत कमाउँदा सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ५ दशमलव ९७ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस्