के गरेमा लाइसेन्स रद्द हुन्छ ?



लाइसेन्सको कुन–कुन प्रकारले दुरुपयोग गरेमा खारेज हुन्छ भन्ने कुरा हामी सबैले जान्नुपर्ने हुन्छ। सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित पार्न बनेको नियमावलीले विभिन्न कुराहरुलाई उल्लेख गरेर लाइसेन्स रद्द हुन सक्ने अवस्था उल्लेख गरेको छ। नेपाल समाचारपत्रको पाठकपत्रमार्फत मैले यो जानकारीका लागि उल्लेख गरेको हुँ।
निम्न अवस्थामा सवारीचालक अनुमति पत्र रद्द हुन्छः
तोकिएभन्दा बढी यात्रु राखेर सञ्चालन गरेमा
मालवाहक सार्वजनिक सवारीसाधनमा तोकिएभन्दा बढी तौलको मालवस्तु राखेर सवारीसाधन चलाएमा
मादक पदार्थ वा कानुनले निषेध गरेको लागूऔषधको प्रयोग गरी सवारीसाधन चलाएमा
चालक अनुमतिपत्र अरूलाई प्रयोग गर्न दिएमा
तोकिएभन्दा बढी गतिमा सवारीसाधन चलाएमा
अर्को सवारीसाधानमा चढ्न लागेका वा चढ्ने तयारीमा रहेकालाई हस्तक्षेप गरेमा
सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा
तोकिएकै समयमा वा नतोकिए पनि उपयुक्त समयमा यात्रा नटुंगिने गरी ढिलाइ गरेमा वा समयमा यात्रा टुंग्याउन लापरबाही गरेमा
जाँच नभएको सार्वजनिक सवारी चलाएमा
रुट इजाजत नभएको ठाउँमा यात्रु वा मालवस्तु ओसारपसार गर्न सवारीसाधन सञ्चालन गरेमा
सार्वजनिक सवारीसाधनमा चाहिने ब्लुबुक, चालक अनुमतिपत्र, बिमा र सवारी जाँचको प्रमाणपत्र साथमा नराखी सवारीसाधन सञ्चालन गरेमा

– सुमित कंशाकार, एलएलबी प्रथम वर्ष

सरकारले नदेखेको कर छली

नेपाल सकारको कर छली विभिन्न किसिमले हुँदै आएको छ। विज्ञापनका लागि राखिने होर्डिङ बोर्ड व्यक्तिगत घरमा राख्दा घरधनीले वार्षिक ५० हजारसम्म लिँदा सार्वजनिक स्थानमा राख्दा सरकारलाई केही नबुझाएको पाइएको छ। सरकारी जमिनको आसपास, खोलाको छेउमा राखेका त्यस्ता होर्डिङ बोर्डहरुको पैसा कसले लिन्छ ? नगरपालिका या अन्य निकाय, अनि सरकारी नीतिमा होर्डिङ बोर्ड राख्न नपाउने नियम हुँदाहुँदै पनि विभिन्न जिल्लाका सबै क्षेत्रमा व्यापक मात्रामा होर्डिङ बोर्डहरु राखेर विज्ञापन भइरहेको छ।

यस विषयमा सरकारको ध्यान नगएको पाइएको छ। विभिन्न कम्पनीले राखेका यस्ता बोर्डबाट सरकारलाई राजस्व उठ्नु जरुरी छ। यस विषयमा कानुन नै बनाएर काम गर्न नेपाल सरकारका सम्बन्धित अधिकारीलाई मेरो सुझाव छ।

– दीपिका प्रसाईं, रोल्पा

योमरी पुन्हीप्रतिको आकर्षण
मार्ग शुक्ल पूर्णिमालाई नेवार समुदायले योमरी पुन्हीको रूपमा हर्षोल्लासका साथ मनाएका छन्। चामलको पीठोबाट बनेको विशेष परिकारलाई चाकुसँगै खाँदा चिसो सहन गर्ने क्षमता बढ्ने विश्वास नेवार समुदायमा छ। ज्यापू दिवसको समेत मान्यता पाएपछि झन् धुमधाम हुन थालेको योमरी पुन्ही पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बन्दै गएको छ। योमरी पुन्ही नेवार समुदायको विशेष पर्वको रुपमा प्रसिद्ध छ। केही वर्षयता ज्यापू दिवसको रूपमा पनि मनाइँदै आएको छ। काठमाडौं उपत्यकाका नेवार समुदायले ४ सय वर्षअगाडि सूर्य उत्तरायण हुने दिन माघ १ गतेबाट मार्ग शुक्ल पूर्णिमामा सारेर योमरी पुन्ही मनाउन थालेको बताइन्छ।

चामलको पीठोबाट बनेको विशेष परिकारमा चाकु राखेर बनाइन्छ, योमरी। मार्ग शुक्ल पूर्णिमाको दिन योमरी खाए शरीरमा जाडो सहन गर्ने शक्ति बढ्ने विश्वास पनि गरिँदै आएको छ। योमरी पुन्हीका दिन नयाँ अन्न राखिएको भकारी एवम् भण्डारमा योमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो स–सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने प्रचलन रहिआएको छ। योमरीलाई भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास रहेको छ।
योमरी पुन्हीका दिन परम्परागत नेवारी भेषभूषामा सजिएर युवायुवतीहरूले रमाइलो गर्ने चलनसमेत विकास हुन थालेको छ। योमरी बनाउँदा चामलको पीठोमा तातोपानी हालेर मुछेपछि डल्लो बनाई एकछेउ चुच्चो हुने गरी औंलाको सहायताले खाल्डो पारिन्छ। अण्डाकारको स्वरूपमा आइसकेपछि पीठोभित्र विशेष प्रकारले बनाइएको चाकु र तिलको मिश्रण राखिन्छ। यसरी बनाइएको योमरी बाफले मात्रै पकाइन्छ। आजकल योमरी खाने र हेर्नेहरूको भीड पनि उत्तिकै देखिन थालेको छ।
तिहारमा देउसी–भैलो खेलेझैँ टोल–टोलका घर–घरमा गएर युवायुवतीले गीत गाउँदै योमरी माग्ने प्रचलनसमेत छ। योमरी मास, खुवा आदि राखेर पनि बनाउने गरिन्छ। चामलको पीठोबाट बनाई बाफले मात्रै पकाइने भएकाले योमरी स्वादिलो र स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ। किंवदन्तीअनुसार पाञ्चाल देशका सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जनको श्रीमतीले ब्राह्मणरूपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारेर राखेको योमरी खुवाएपछि धनसम्पत्ति वृद्धि भएको र योमरी खाएका कारण शरीरसमेत हृष्टपुष्ट भएकाले त्यही बेलादेखि नेवार समुदायमा योमरी पुन्ही संस्कृतिको विकास भएको बताइन्छ।

नेवार संस्कृतिमा योमरीको विशेष महत्व छ। धनसम्पत्ति वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा योमरी पुन्हीका दिन सबैले योमरीसहित विभिन्न देवी–देवताको पूजा गरी दान गर्ने चलन छ। बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म योमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ। जन्मदिनमा बच्चालाई वर्षअनुसार योमरीको माला लगाइदिने चलन छ। योमरी पुन्हीका दिन विभिन्न मठमन्दिरमा मेला लाग्ने गर्छ। यस दिन बनेपाको धनेश्वर मन्दिरमा ठूलो मेला लाग्ने गर्छ। त्यस्तै बौद्धमार्गीहरूले पनि स्वयम्भू, बौद्धलगायतका विभिन्न चैत्य वा विहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ।
– राज श्रेष्ठ, भक्तपुर

प्रतिक्रिया दिनुहोस्