रिपोर्टस् डायरी :- एउटा पीडितको खोजी



सुरेश तामाङ, काठमाडौं

२०७४ भदौ महिनाको १३ गते। जुन दिन मैले एउटा अप्रत्यासित सूचना पाएँ। त्यो सूचना, राजधानीकै एउटा गुम्बामा १० वर्षदेखि विभिन्न उमेरका महिलालाई बन्धक बनाई गुम्बा सञ्चालक तथा धार्मिक गुरुले यौन शोषण गर्दै आइरहेको छ भन्ने थियो। त्यो अपुष्ट थियो। यो सूचनालाई पुष्टि गर्न र थप कुरा बुझ्न पीडितको परिवारसम्म पुग्नु थियो। जहाँबाट म गुम्बासम्म पुगेर त्यससम्बन्धी सम्पूर्ण सूचना संकलन गर्न सक्थें।

म पीडितका परिवारको सम्पर्क नम्बर लिएर सूचनादातासँग छुट्टिएँ। त्यहाँबाट सीधै कार्यालय गएँ। त्यसपछि सूचना दिने व्यक्तिले दिएको नम्बरमा कार्यालयबाट नै निरन्तर फोन गर्न थालें।

केहीबेरमा केटाको स्वरमा फोन उठ्यो। र, मैले आफ्नो परिचय सुनाउँदै उनको परिचय पनि मागें। पीडित युवतीकी भाइ रहेछन्। मैले सुनेको कुराको फेहरिस्त उनलाई सुनाएँ। उनलाई मैले सुनेको कुराहरू सही हो कि होइन? वास्तविक कुरा के हो? भनेर सोधें। उनले यो कुरा वास्तविक हो तर यसबारे आफूलाई भन्दा अर्काे दिदी धेरै जानकार रहेको बताउँदै सम्पर्क नम्बर दिएर मलाई फोनबाटै बिदाइ गरे।

काभ्रेकी उनी घरकी कान्छी छोरी रहेछिन्। पीडितकी आमाबुबा साथै दुई दिदी रहेछन्। मलाई पीडितका भाइले ठूली दिदीसँग कुरा गर्नु भनेर नम्बर दिएका हुन्।

अफिसमा काम प्याक भएकाले मैले भरे घरबाटै फोन गर्ने निर्णय गरें। त्यही साँझदेखि पीडितका भाइले दिएको नम्बरमा फोन लगाएँ तर फोन लागेन। भोलिपल्ट ९ बजेतिर फेरि गरें। फोन केटाको स्वरमा उठ्यो। मैले दिदी हुनुहुन्छ भनें। उनले दिदी बजार गएको सुनाए। मैले आफ्नो परिचय राखें। उनी दिदीको श्रीमान् रहेछन्। मैले यो नम्बर भाइले दिएको र दिदीसँग कुरा गर्नुपर्ने बताएँ।

उनले दिदीलाई १० मिनेटपछि फोनमा कुरा गर्न सक्ने बताए। करिब १५ मिनेटपछि मैले सोही नम्बरमा फोन लगाएँ। योपटक दिदीले उठाउनुभयो। दिदीलाई आफ्नो परिचय दिएर मैले सुनेको कुराका बारेमा बताउन आग्राह गरें। दिदीले यो कुरा साँचो हो। अहिले कान्छी बहिनीलाई त्यहाँबाट छुटाएर घर फर्काइसकेको बताउनुभयो।

उहाँले फागुन महिनामा कालिमाटी प्रहरी वृत्तमा गुम्बाका सञ्चालक र बहिनीलाई झिकाई आपसी सहमतिमा कागज गर्दै गुम्बाबाट छुटाएर घर फर्काइएको बताउनुभयो। सहमतीमै घर फर्काइसकेपछि अप्ठइरो हुन्छ भन्दै यो कुरालाई मिडियामा नल्याऔं भाइ भन्नुभयो।

उहाँले बहिनी १० वर्षदेखि गुम्बामा रहेको र अरू युवती र महिलाहरू पनि रहेको सुइँको दिनुभयो। मलाई झन् खुल्दुली बढेर आयो। तर, गुम्बा कहाँनिर छ ? को–को बन्धक छन् ? कहिलेदेखि छन् ? के गर्न भनेर गएका र तिनीहरू कसरी फसे ? बन्धक बनाउने मुख्य मान्छे को हो ? भन्ने कुरा मलाई थाहा थिएन, यसबारे मैले दिदीसँग जिज्ञासा राखें तर उहाँले जवाफ दिन मान्नुभएन।

दिदीले उनीहरू गुम्बाबाट बाध्यताले नै आउन नमान्ने कुरा बताउनुभयो। त्यहाँ गुरुले उनीहरूलाई गुम्बाबाट भागेमा अकाल मृत्यु हुने, परिवार नष्ट हुने, अप्रिय घटना घट्ने भन्दै डर धम्की दिएर राखेको रहेछन्। मैले सम्झाउन थालें तर दिदी थप कुरा खोल्न राजी हुनुभएन। दिदीले यतिकैमा पछि केही भो भने भाइलाई खबर गर्छु ल भन्दै फोनबाटै बिदाइ गर्नुभयो। मैले पनि जुनसुकै बेला तपाईंलाई अप्ठइरो परेको बेला सम्झनुस् सहयोग गर्छु भनें।

यसै क्रममा भदौ ३० गते शुक्रबार बेलुकातिरको समय हो। मेरो मोबाइलमा त्यही ठूली दिदीको नम्बरबाट फोन आयो। उहाँले भाइ फेरि समस्या भो तपाईसँग भेट्नुपर्यो भन्नुभयो। भोलि समय भए स्वयम्भु आउनु भन्नुभयो। मैले हुन्छ भनें। भोलिपल्टको भेटमा उहाँले मलाई बहिनी फेरि घरबाट भागेर गुम्बा पुगेकी बताउनुभयो।

उहाँले त्यस बेला गुम्बाको बारेमा सबै कुरा खुलाएर भन्नुभयो। गुम्बा करिब १० वर्षदेखि सञ्चालनमा रहेको, दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल बोसोनमा कासुङ गुम्बा रहेको, त्यहाँ ५⁄६ जना कलिला युवती २⁄३ जना महिलालाई बन्धक बनाई युवतीहरूलाई यौन हिंसा गरिरहेको, दैवी शक्तिमार्फत सबै रोगको उपचार गर्ने नाममा बन्द कोठामा लगेर निस्वस्त्र बनाई जबरजस्ती करणी गर्ने, यसबारे बाहिर हल्ला गरे अकाल मृत्यु हुने, परिवार नष्ट हुने भन्दै डर देखाएर राख्ने, लामाले आफूलाई १०औं अवतारी लामा भन्दै आफू नै साक्षात भगवान् भन्ने गरेको, प्रायःजसो त्यहाँ एलर्जी, छारेका रोगी जाने गरेको, त्यहाँ सिन्धुली–९ कुशेश्वर दुम्जा मलङ्गा देउरालीका गुरु रिम्पोर्छे छुल्ठिम दोर्जे योन्तान (योञ्जन) टुल्कु लामा नाम गरेको गाउँमा उनलाई माइला नामले चिनिने, उनी पहिला टुरिस्ट गाइड काम गरेको, करिब १५ वर्षअघि सो पेसा छोडेर भारतमा गई तान्त्रिक विद्या सिकेको तर लामाको धार्मिक पुस्तक पढ्नसमेत नजान्नेलगायतका कुराहरू सुनाउनुभयो।
यो कुरा उहाँकी कान्छी बहिनीले १ वर्षअघि मात्रै आफू नर्कमा फसेको, आफूलाई झारफुकको नाममा जबरजस्ती यौन सम्पर्क गर्ने गरिरहेको, आफूलाई गुम्बाबाट निकाल्न भन्दै दिदीलाई फोन गरेकी थिइन्। ‘तर, परिवारका सदस्यले धेरै प्रयास गर्दा पनि बहिनीलाई त्यहाँबाट निकाल्न सकिएन। यो वर्ष उनको बिहे गर्नुपर्ने थियो। केटा जापानबाट बिहे गर्न आउने पक्कापक्की भइसकेको थियो। परिवार पूरै चिन्तित थियो। केटो आफ्नै फुपूको छोरा हुन्। उनलाई यस विषयमा सबै थाहा छ तर पनि आफू स्वीकार्न तयार छु भन्छन्’, उहाँले सुनाउनुभयो– तर, उनी लामाको उही डर धम्कीले गर्दा गुम्बामै बस्न बाध्य भएको कुरा पटक–पटक मलाई भन्ने गरेकी थिइन्।’ अब चिन्ता लिनुपर्दैन मेरो साथ सहयोग निरन्तर हुन्छ भन्दै सान्त्वना दिएर म त्यहाँबाट छुट्टिएँ।

त्यहाँबाट छुट्टिएपछि म सीधै बोसोनतिर गएँ। दिदीले सुनाउनुभएको साँचो हो कि होइन भन्दै चेक गर्न गुम्बा रहेको ठाउँमा पुगें। गुम्बा हेरें। वरपर रहेको गाउँलेसँग गुम्बाका बारेमा कुरा बुझें। गाउँलेसँग ४ वर्षअघि गुम्बाको परेवा मारेको निहुँमा झगडा भएको रहेछ।

त्यही दिनदेखि गुम्बामा आवत–जावत, बोलचाल बन्द भएको रहेछ। गाउँलेले लामालाई आफ्नो गाउँमा सत्कारका साथ स्वागत गरेको तर पछि आएर ढोंगी व्यवहार देखाउने, पढ्नै नआउने, केटीहरू गुम्बामा थुपारेर मोजमस्ती गर्न थालेको कुराहरू मलाई सुनाए। यस विषय धर्म र समाजसँग जोडिएकाले संवेदनशील ठहर गरी यत्तिले मात्रै समाचार नबनाउने र गहिरो खोज गरेर मात्रै अगाडि बढ्ने निर्णय गरें।

यस विषयलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग मिलेर काम गर्दा थप प्रमाणहरू भेटिन सक्छन् भन्ने सोचेर असोज २ गते सीआईबीका तत्कालीन प्रवक्ता एसपी मीरा चौधरीसँग भेटी यसको फेहरिस्त सुनाएँ। उहाँले पीडितका परिवारलाई बोलाउन भन्नुभयो।

मैले पनि ढिलो नगरी पीडितका जेठी दिदी र भाइलाई बोलाइदिएँ। यस विषयमा हेर्ने पिलर–३ का अधिकारीहरूसँगै राखेर लामो समय छलफल भयो। सो पिलरका अधिकारीले पीडितका परिवारको ठाडो उजुरी उतार्यो तर दर्ता भने भएन। सीआईबीले मास भिक्टिमको केसमा मात्रै हेर्ने भनेर अरू पीडित पनि खोज्न परिवारलाई भने। सीआईबीका अधिकारीहरूले हाम्रोतर्फबाट गर्नुपर्ने कार्य गर्दै जान्छौं तपाईंहरू पनि आ–आफ्नो हिसाबले थप सूचना, पीडित संकलन गर्नु भने।

हुन्छ भन्दै हामी आफ्नो बाटो लाग्यौं। बाटोमा गफ चल्यो। अर्काे आपत् पनि आइलाग्यो। पीडितहरू कहाँबाट ल्याउने ? सबै गुम्बामा छन्, गुम्बामा गयो भने अनेक लाञ्छाना लगाउँदै प्रहरी लगाएर दुःख दिने गरेको रहेछ। त्यही भएर पीडितका परिवार त्यहाँ जान नमान्ने रहेछन्। पीडितका परिवारलाई आफ्नो छोरी चेलीलाई भेटघाट गर्न पनि नदिने रहेछन्। फोन सम्पर्क गर्न पनि नदिने। पूरै बन्धक जीवन जस्तै।

गैह्रीधारामा बोसोनमा गुम्बा बन्नुअघि भाडामा लिएको फ्ल्याट नै रहेछ। पछि त्यो धर्म गुरुले सेफ हाउसको रूपमा प्रयोग गरेको भन्ने बुझियो। त्यहाँ अहिले गुरुको छोरी हेर्न भन्दै गुरुले गुम्बाको २ जना युवतीलाई राखेका रहेछन्। त्यसमध्ये एउटी युवतीलाई १७ वर्षको उमेरमा गुरुले जबरजस्ती यौन सम्बन्ध राखेका रहेछन्। उनले आफूलाई गुरुले जबरजस्ती गरेको भिडियोसमेत रहेको भन्ने कुरा भएपछि उनलाई उजुरी दिन लगाउने कुरा भयो।

हामीले योजना बनायौं। योजनाअनुसार नै असोज ८ गते सीआईबीका प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक महिला र म गैह्रीधाराको सो फ्ल्याटतिर लाग्यौं। त्यहाँ हामीले १७ वर्षको उमेरमा पीडित बनेको भनिएकी युवतीलाई भेटेर वास्तविकता पत्ता लगाई उजुरीका लागि सहयोग गर्नु थियो।

त्यहाँ पुगेर पीडितको नाम लिँदै उनलाई एकछिन भेट्नुपर्ने छ भनें। उनी बाहिर आइन्। महिला प्रहरीलाई छुट्टै ठाउँमा लिएर गफ गर्न लगायौं। हामी भने बाहिरै बस्यौं।

करिब १५ मिनेटपछि महिला प्रहरी निस्कनुभयो। हामीसँगै निस्केर एकसुरमा कुरा गर्दै सडकतर्फ निस्किरहेका थियौं। यत्तिकैमा एक किशोर जंगिँदै हामीतर्फ आएर भन्यो– ‘२ जना केटा र १ जना केटी मान्छे घरभित्र बसिरहेको तपाईंहरू नै हो ? किन आउनुभएको ? को हो तपाईंहरू ?’

थाहा छैन खौई को हो भन्दै हामी त यहाँ गर्मी भएर शीतलमा बसिरहेको भन्यौं। ए ए होइन भनेर ऊ फनक्क फक्र्यो। उसलाई हामीले प्रतिप्रश्न गर्यौं– ‘किन सोध्नुभएको ?’ ‘त्यसै हो।’ –उसले भन्यो। उसले त्यो बेला गुम्बाको बा८छ ३५४९ को गाडीसमेत लिएर आएको थियो। गाडीभित्र ३ जना महिला १ पुरुष देखियो। हामी गाडी लिएर बालुवाटारको बाटो हुँदै गुम्बा पुग्यौं।

हामी सोही घरमा हुँदा त्यही फ्ल्याटमा बस्ने अर्की युवती गेटबाहिर निस्किन्। ती युवती पसल गइन् होली भन्ने सोचेका थियौं तर होइन रहेछ। केही मान्छे बोलाइएका रहेछिन् उनीहरूलाई नै लिन गएकी रहिछन्।

यसै क्रममा महिला प्रहरीले हामीलाई त्यहाँभित्र भएको संवाद सुनाइन्। त्यहाँ ती युवतीले आफूलाई गुरुले त्यस्तो जबरजस्ती नगरेको, आफू छारेरोगी भएकाले यहाँ उपचारका लागि बसेको लगायतका कुरा सुनाएकी रहिछन्।

असोज २२ गते आइतबार बिहानै सीआईबीकै योजनामा उही पीडितलाई परिवारले सीआईबी कार्यालयमा ल्याए। सीआईबीले केरकार गरे। सम्झाउने बुझाउने गरे तर पीडितले आफू पीडित नभएको बताइरहिन्। बिहानदेखि बेलुकीसम्म पटक–पटक सम्झाइयो । तर, उनी आफू पीडित भएको कुरा खुलाउन सहमत भइनन्।
पीडितका परिवारले गुरुले उनलाई टुनामुना लगाएको, विभिन्न डर त्रास देखाएकाले गर्दा कुराहरू ओकल्न नसकिएको बताए। तर, सीआईबी अधिकारीहरूले पीडितले मुख नखोले कारबाही अगाडि नबढ्ने बताए।

पीडित फर्केर गुम्बा जाने भनिरहिन्। पीडित युवतीलाई गुम्बाबाट निकालेको ७ घण्टापछि गुरुले पीडित युवतीको व्यक्तिगत फेसबुकमा अँगालो हालेको, किस खाएको जस्ता अश्लील तस्वीर राखे। युवतीलाई तिम्रो फेसबुकमा त अश्लील फोटो हालेको रहेछ हेर त भनेर देखाउँदा युवतीले यो त सिम्पल हो भन्ने जवाफ दिइन्।

जे–जस्तो गरे पनि फकाउन सकिएन। उनी जहिले पनि गुम्बा र गुरुको गुनगान मात्रै गाउन थालिन्। परिवारका सदस्य सबै उनले दुस्मन ठान्थिन्। परिवारको सदस्यलाई देख्यो कि उनी रिसाइहाल्थिन्।

छोरीको व्यवहारले पूरै परिवार हायलकायल भइसकेका थिए। बेला–बेला म पनि उहाँहरूसँग भेटघाट, टेलिफोनमार्फत सम्पर्कमा रहन्थे। म सान्त्वना दिन्थें। काम भइरहेको छ, भन्थे म। मैले त्यस बेलासम्म गुम्बा आसपासका केही मानिससँग पनि गुम्बाका बारेमा राम्रै सूचना लिइरहेको थिएँ।

यसै क्रममा एकदिन पाटन उच्च अदालतले छलफलका लागि उपस्थिति हुन भन्दै पीडित युवतीका ५ जना परिवारलाई पत्र काटेछ।

छोरी उद्धार गर्न गुम्बा जाँदा गुम्बा तोडफोड गरेको, हातहतियार देखाएको, पेट्रोल बम हानेको लगायत आरोप लगाउँदै क्षतिपूर्ति भराउने मागसहित निषेधाज्ञाको समेत माग गर्दै अदालतमा रिट हालिएको रहेछ। रिटमा पीडितकी दिदी, भिनाजु, बाबा, आमा, भाइलगायतलाई विपक्षी बनाइएको थियो।

यही कुरालाई लिएर पीडित युवतीलाई तिम्रो बुबा, आमा, दिदी सबैलाई मुद्दा हालेर गुरुले जेल हाल्ने भयो। तिमी एक्लै भोज खाएर बस भनेपछि मात्रै बल्ल उनले मुख खोलिन्। उनले भनिन्– ‘आजसम्म गुरुको पक्षमा बोलियो। अब बोल्दिनँ। मेरो जोवन नै गुरुका लागि भनियो। अहिले आएर धोका भयो। उल्टै मेरा आमाबुबालाई जेल हाल्न खोज्ने ? म अब पर्दाफास गर्छु।’

नभन्दै उनले सीआईबी कार्यालयमा सबै फेहरिस्ट सुनाइन्, धर्म गुरुको कालो कर्तुत छताछुल्ला भयो। र, नरकको दलदलमा फसेका युवती तथा महिलाहरूलाई उद्धार गर्न सफल भइन्।

प्रतिक्रिया दिनुहोस्