इपीएलः पोखरा राइनोज् १० विकेटले विजयी



नेपाल समाचारपत्र, काठमाडौँ ।
एभरेस्ट प्रिमियर लिग (ईपीएल) को मंगलबार भएको दोस्रो खेलमा पोखरा राइनोले सहज जित हात पारेको छ । चितवन टाइगर्सलाई १० विकेटले हराउँदै पोखराले विजयी सुरुवात गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले व्याटिङ गरेको चितवन टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाएको थियो । चितवनका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रन बनाए भने अनिल मण्डलले ३२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक पनि जोड्न सकेनन् । पोखराका लागि पाकिस्तानी खेलाडीद्वय इजराहुल्ला र ताज वालीले क्रमश ४ र ३ विकेट लिए ।

११४ रनको सामान्य लक्ष पाएको पोखराले १७.४ ओभरमा बिना विकेट ११६ रन बनाउँदै जित हात पारेको हो । पोखराका लागि बलिङतर्फ ४ विकेट लिएका इजराहुल्लाले ६१ रन र सुनिल धमलाले ४६ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्