जर्मनी फुटबलका महारथी



पुष्करलाल श्रेष्ठ

सन् १९९० मा जर्मनी सरकारको निम्तोमा पूरै जर्मनी घुमिसकेको हुँदा यसपटकको युरोप यात्रामा जर्मनीको मुख्य शहर म्युनिख मात्र घुम्ने योजना बनाएका थियौं। यसपटकको जर्मनी यात्रा भने त्यति सुखद रहेन। अस्ट्रियाको राजधानी भियना शहरमा बसिरहेका हामी यहीँबाट गएको भए ट्रेनमै ४ घण्टाभित्र म्युनिख पुग्न सक्थ्यौं। तर इटलीको राजधानी रोमबाट हिँडेकाले हामीलाई म्युनिख पुग्न झन्डै १२ घण्टा ट्रेनको यात्रा गर्नुपर्यो। रोमबाट साँझ ४ बजे हिँडेको ट्रेन बिहान अस्ट्रियाको साल्जबर्ग पुगेपछि अनाहकमा ४ घण्टा ट्रेन रोकिदिएका कारण थप सास्ती व्यहोर्नुपरेको थियो।

जापानपछि नेपाललाई सबैभन्दा बढी माया गरेर आर्थिक सहयोग गर्ने देश जर्मनीमा जान नचाहने नेपाली सायद कमै होलान्। भक्तपुर शहरलाई सफा, सुग्घर र समृद्ध बनाउन जर्मनीले गरेको सहयोगलाई हरेक नेपालीले सराहना गरेको पाइन्छ। संसारमा पुग्नैपर्ने देशको सूचीमा सातौं स्थानमा रहेको जर्मनीमा वार्षिक सरदर ३ करोड पर्यटक पुग्ने गर्छन्। जर्मनीको राजधानी बर्लिन संसारकै तेस्रो सबैभन्दा बढी पर्यटक ओइरिने शहर पनि हो।

पहिलो र दोस्रो दुवै विश्वयुद्ध हुनुमा जर्मनीको हात भएकाले ऐतिहासिक कारणले पनि जर्मनीबारे बुझ्ने धेरैको चासो हुने गर्दछ। सन् १९१४ जुन २८ का दिन बिहान सवा ११ बजे अस्ट्रिया–हंगेरीका राजकुमार आर्कड्युक फ्रान्सिस र उनकी श्रीमती सोफियालाई सर्व जातिका ग्याब्रियल प्रिन्सेपले बोस्निायाको राजधानी सराजेभोमा हत्या गरिदिएपछि यसकै निहुँमा प्रथम विश्वयुद्ध शुरू भएको थियो। यो हत्याको जिम्मेवार अस्ट्रियन–हंगेरीले सर्वियामाथि लगाउँदै २९ जुलाईमा बेलग्रेडमाथि बम वर्षा गर्न थालेको थियो।

यो युद्धमा रसिया, बेलायत, फ्रान्स र एसियाबाट जापान एकढिक्का भएका थिए भने जर्मनीले अस्ट्रिया–हंगेरीको साथ दिएको थियो। चार वर्षसम्म चलेको यस युद्धमा करिब २ करोड १० लाख मान्छेको मृत्यु भएको अनुमान गरिएको छ। दुवै विश्वयुद्धमा मरेको मान्छेको संख्या जोड्ने हो भने करिब ९ करोड ३४ लाख ६८ हजार ९ सय पुग्न आउँछ। प्रथम विश्वयुद्धमा गुमेको आफ्नो साखलाई जोगाउन जर्मनीका तानाशाह रुडोल्फ हिटलरले दोस्रो विश्वयुद्ध शुरू गरे पनि दुवै विश्वयुद्धमा जर्मनीले धेरै कुरा गुमाउनुपरेको थियो।

सन् १९१८ मा पहिलो विश्वयुद्ध समाप्तिको घोषणा हुँदासम्म युरोप लगभग ध्वस्त भइसकेको थियो। अमेरिका, फ्रान्स र बेलायतले युद्ध जितेपछि विश्वयुद्धको सबै जिम्मेवारी जर्मनीले लिनुपर्ने र नोक्सानको भर्पाइबापत जर्मनीले १ सय ३२ बिलियन गोल्ड मार्क तिर्नुपर्ने सम्झौतामा हस्ताक्षर गर्न जर्मनीलाई बाध्य पारिएको थियो। यसबाहेक जर्मनीले १ लाखभन्दा बढी सेना राख्न नपाउने, एयरफोर्स बनाउन नमिल्ने, जर्मनीको अधीनमा रहेका सबै उपनिवेश बेलायत र फ्रान्सलाई बाँड्नुपर्ने, ६ वटाभन्दा बढी सैन्य दस्ता बनाउन नसकिने आदि बुँदामा हस्ताक्षर गर्न जर्मनीलाई बाध्य बनाइएको थियो।

यस्तो सम्झौतामा हस्ताक्षर गराइसक्दासमेत जर्मनीलाई चारैतिरबाट नाकाबन्दी गरेर घेरेपछि नै जर्मनीमा हिटलरजस्तो तानाशाहको जन्म भएको थियो। हिटलरको उदय हुनेबित्तिकै युद्धमा हारेबापत जर्मनीले बेलायत र फ्रान्ससँग गरेका सबै सम्झौता उल्लंघन गरी जर्मनीसँग छिनेका सबै कोलोनीहरू फर्काउने भन्दै सैनिक संख्यासमेत बढाउँदै लगेपछि शुरूमा हिटलरप्रति जर्मनी नतमस्तक नै भएका थिए। अहिले अमेरिकी राष्ट्रपतिले ‘मेक अमेरिका ग्रेट अगेन’ भनेजस्तै त्यस बेला हिटलर ‘मेक जर्मनी ग्रेट अगेन’ भनी भाषण गर्थे। हिटलरसँगको यही प्रभावले जर्मन जनताले हिटलरलाई भगवान् नै मानेर सत्तामा पुर्याएका थिए। हिटलरको चुरिफुरी र जर्मनीको त्यस बेलाको शक्ति देखेर बेलायत र फ्रान्ससमेत हच्केको अवस्था थियो।

जर्मनीले आफ्ना गुमेका कोलोनी फर्काउँदै गरे पनि पोल्यान्डमा आँखा नगाड्न बेलायतको चेतावनीलाई हिटलरले लत्याउँदै सन् १९३९ सेप्टेम्बरमा पोल्यान्डमाथि आक्रमण गर्न थालेपछि फेरि बेलायत र फ्रान्सले जर्मनीविरुद्ध युद्धको घोषणा गरेका थिए। यो युद्धको शुरूमा जर्मनीले तत्कालीन सोभियत संघको साथ पाए पनि पछि हिटलरले सोभियत संघलाई धोका दिई सन् १९४१ मा उसलाई नै हमला गर्न थालेपछि सोभियत संघ पनि बेलायतसँग मिल्न पुगेको थियो।

सन् १९४४ को अन्त्यतिर सोभियत सैनिक हिटलर लुकेको बंकर नजिक पुगेपछि युद्ध हार्ने निश्चित देखेका हिटलरले आफू लुकेको बंकरभित्र आफूले पालेका कुकुर र पत्नी इभा ब्राउनलाई समेत विष खुवाएर सन् १९४५ अप्रिल ३० तारिखमा आत्महत्या गरेपछि जर्मनी दोस्रो विश्वयुद्धमा पनि नराम्ररी पराजित हुन पुग्यो। दोस्रो विश्वयुद्धका प्रणेता बनेका पूर्वजर्मन चान्सलर रुडोल्फ हिटलरले यो युद्धमा अमानवीयरूपमा करोडौं मानिसको नरसंहार गरेपछि खलनायक बनेका उनलाई अहिले जर्मनीमा नामसमेत लिन चाहँदैनन्।

तर, यति भएर पनि जर्मनी अहिले विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बन्न सफल भएको छ। जर्मनी अहिले अमेरिका र फ्रान्सपछि संसारलाई आर्थिक सहयोग गर्ने तेस्रो ठूलो मुलुक बनेको छ भने युरोपियन युनियनलाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने पहिलो मुलुक हो। त्यसै गरी संयुक्त राष्ट्रसंघलाई सहयोग गर्नेमा पनि जर्मनी तेस्रो ठूलो मुलुकमा पर्छ।

मिश्रित अर्थतन्त्र भए पनि न्यून भ्रष्टाचार, सक्षम कामदार र भरपूर सिर्जनशीलता भएको जर्मनीमा ४ प्रतिशतको हाराहारीमा मात्र बेरोजगारीको समस्या छ। जर्मनी युरोपकै सबैभन्दा कम बेरोजगारी समस्या भएको देश हो। निर्यातमा युरोपकै पहिलो देश जर्मनी संसारमा सबैभन्दा बढी निर्यात गर्ने तेस्रो मुलुक पनि हो। जर्मनीमा उत्पादन हुने मर्सिडिज बेन्च, बीएमडब्ल्यू, भक्स वागन, अडीजस्ता गाडीहरू संसारमै प्रख्यात मानिन्छन्। त्यसै गरी खेलकुद सामान उत्पादन गर्ने एडिडास, छपाइ मेसिन हाइडलवर्गलगायत केमिकल सामान, विद्युतीय सामग्री, औषधि, स्टिल, खाद्यान्न, रबर, प्लास्टिक, सिमेन्ट आदिको उत्पादन र निर्यातमा जर्मनी अन्य मुलुकको दाँजोमा निकै अगाडि छ। हामीले लामो समयदेखि पिउँदै आइरहेको पेय पदार्थ फेन्टा पनि जर्मनीकै उत्पादन हो भन्ने कुरा सायद अमेरिकाको कोकाकोलासँगै आउने भएकाले धेरैलाई थाहा नहुन पनि सक्छ।

डेनमार्क, पोल्यान्ड, अस्ट्रिया, चेक गणराज्य, स्विट्जरल्यान्ड, फ्रान्स, लक्जेम्बर्ग, बेल्जियम र नेदरल्यान्डले घेरिएको जर्मनीको क्षेत्रफल ३ लाख ५७ हजार २१ वर्गकिलोमिटर छ। यहाँको जनसंख्या ८ करोड २० लाखको हाराहारीमा पुगिसकेको छ। बर्लिन जर्मनीको राजधानी हो भने म्युनिख, हैम्बर्ग, फ्र्यांकफर्ट, नुरेम्बर्ग जर्मनीका नाम चलेका शहर हुन्। जर्मनीले अहिलेसम्म सातपटक आफ्नो राजधानी परिवर्तन गरिसकेको छ।

गणतान्त्रिक शासन व्यवस्था भएको जर्मनीका वर्तमान चान्सलर एन्जिला मार्केललाई संसारकै दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ।

झन्डै ७० प्रतिशत क्रिस्चियन धर्मावलम्बी रहे पनि जर्मनीमा क्रूर शासक मानिने नाजीको पतन भएपछि धर्मप्रति उदार भएको यो मुलुकमा अहिले जुनसुकै धर्म मान्न सकिन्छ। जुनसुकै धर्म र जातिका लागि जर्मनीको उदार नीतिले गर्दा अहिले यहाँ नेपाली, भारतीयलगायत संसारका सबै मानिस बसोबास गर्ने भएकाले यहाँ संसारभरिकै खानाको स्वाद चाख्न सकिन्छ। पाउरोटी, चिज र ससेस जर्मनीका प्रिय खाना हुन् भने बियर त यहाँको राष्ट्रिय पेय पदार्थ नै बनिसकेको छ। जर्मनीका बियर रेस्टुरेन्टका बेराहरूले एकैपटक २०–२२ वटा ठूला–ठूला टन्न भरिएका बियर ग्लास बोकेर ग्राहकलाई सर्व गर्ने कला देखेर हामी त तीनछक परेका थियौं।

जर्मनीमा बियर पिउने एउटा अनौठो पर्व छ। अक्टोबर फेस्ट नामक उक्त पर्वमा झन्डै ७७ लाख लिटर बियर खपत हुने गर्छ। सन् १८१० देखि मनाउन शुरू भएको यो पर्वमा बियर पिउन विश्वभरबाट लाखौं मान्छे ओइरिने गर्दछन्। १६ दिनसम्म चल्ने यो पर्व सेप्टेम्बरको अन्त्यतिरबाट शुरू भई अक्टोबर पूरै महिना चल्छ। अक्टोबर फेस्टलाई जर्मनीहरू विश्वकै ठूलो मेला भएको दाबी गर्छन्। यस पर्वमा पिलाउने बियरको मापदण्ड पहिले नै तय गरिएको हुन्छ र आपूर्तिका लागि नाम कहलिएका बियर कम्पनीलाई मात्र बियर उत्पादन गर्न स्वीकृति दिइन्छ। यो पर्व शुरू भएदेखि प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र एकपटक आर्थिक मन्दी भएको बेलामा मात्र यो पर्व मनाउन रोक लगाइएको थियो।

विश्वमा पहिलो पुस्तक छाप्ने श्रेय प्राप्त जर्मनीमा फुटबललाई पनि राष्ट्रिय खेलकै रूपमा लिएको पाएको छु। यो जर्मनीको सबैभन्दा लोकप्रिय खेल भएको कुरा चार–चारपटक जर्मनीले फिफा विश्वकप जितेकोबाट पनि प्रमाणित भइसकेको छ। जर्मनीले सन् १९५४, ७४, ९० र सन् २०१४ गरी चारपटक विश्वकप फुटबल जितिसकेको छ। चारपटक नै फिफा विश्वकपको उपविजेता जर्मनी आफैंले पनि सन् १९७४ र २००६ मा विश्वकप फुटबलको आयोजना गरिसकेको छ। यसबाहेक जर्मनीमा टेनिस, कार रेसिङ, एथ्लेटिक्स र अन्य थुप्रै खेल पनि खेल्ने गरिन्छ। टेनिसका महान् खेलाडीहरू स्टेफी ग्राफ, बोरिस बेकर आदि जर्मनीकै खेलाडी हुन्।

आफ्ना नागरिकलाई मात्र नभई संसारभरिकै मानिसले निःशुल्क शिक्षा लिन सकिने अचम्मको यो देशको जति तारिफ गरे पनि कमै हुन्छ। सुरक्षाको दृष्टिले समेत ढुक्क भएर घुम्न सकिने भएकाले एकपटक जर्मनीलाई पुग्नै पर्ने देशको सूचीमा राख्न सकिन्छ। जर्मनीको पासपोर्ट संसारकै सबैभन्दा बलियो पासपोर्ट भएको कुरा पनि सायद धेरैलाई थाहा नहुन सक्छ। जर्मनी पासपोर्ट बोकेपछि लगभग संसारभरका देशमा अध्यागमनस्थलमै पुगेर भिसा लिन सकिन्छ।

सार्वजनिक यातायातको अत्यन्त सहज पहुँच भएकाले जर्मनी भ्रमण गर्नुअघि यहाँ चल्ने सार्वजनिक यातायातबारे जानकारी लिएर जर्मनी पुग्ने हो भने पैसा र समय दुवैको राम्ररी जोहो गर्न सकिन्छ। ठगठाग गर्ने मानिस नभेटिने भएकाले मेट्रोबाटै ढुक्कसँग पूरै देश आरामले घुम्न सकिने देश यस लेखकले जर्मनी मात्र देखेको छ। जर्मनीजस्तो युरोपकै पाँचौं ठूलो देशमा हेर्ने कुरा अनगिन्ती भए पनि यहाँ पुगेपछि छुटाउनै नहुने ठाउँ कोलन क्याफेडल, स्टेन्ड क्यासल, बर्लिन बुन्डेस्टाक, हाइडलबर्ग क्यासल, युरोपा पार्कजस्ता सयौं आकर्षक हरिया पार्क हुन् जस्तो लाग्छ। यसै गरी समयले साथ दिन्छ भने बर्लिनको ब्रान्डेनवर्ग गेट, बर्लिन चिडियाघर, जुलोजिसान गार्डेन, निमफेनवर्ग दरबार, रिसट्याग भवन, मेरिनप्लाज, मिनियचर वन्डरल्यान्ड, इङ्लिस गार्डेन, ड्युसचेज म्युजियम, म्युनिख रेरिडेन्ज पनि जर्मनीका हेर्नलायक अरू सुन्दर ठाउँ हुन्।

जर्मनीले सन् १९५४, ७४, ९० र सन् २०१४ गरी चारपटक विश्वकप फुटबल जितिसकेको छ। चारपटक नै फिफा विश्वकपको उपविजेता जर्मनी आफैंले पनि सन् १९७४ र २००६ मा विश्वकप फुटबलको आयोजना गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्