अस्ट्रेलियाले जित्यो एसेस सिरिज



लन्डन, (एजेन्सी)
इंग्ल्यान्डलाई तेस्रो टेस्टमा इनिङ र ४१ रनले हराएर अस्ट्रेलियाले ३–० को अग्रतासँगै एसेस सिरिज जितेको छ। सोमबार अन्तिम दिन २ सय ५९ रन बनाएर इंग्ल्यान्डले अस्ट्रेलियालाई पुनः ब्याटिङ गर्न लगाउनुपर्ने थियो। तर पाहुना टोली ३४ ओभरमा २ सय १८ रनमा अलआउट भएपछि अस्ट्रेलियाले एसेस जित्यो। पर्थमा इंग्ल्यान्डलाई हराउन घरेलु बलर जोश हेजलवुडले ४८ रन दिएर ५ विकेट लिएका थिए।

पाँच टेस्टको एसेस सिरिजमा अस्ट्रेलियासँग ह्वाइवासबाट जोगिन इंग्ल्यान्डलाई दुई मौका बाँकी रहेको छ। अस्ट्रेलियाले पहिलो इनिङमा ९ विकेटको क्षतिमा ६ सय ६२ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो। जसमा कप्तान स्टिभ स्थिमले २ सय ३९ र मिचेल मार्शले १ सय ८१ रन बनाएका थिए।
इंग्ल्यान्डले पहिलो इनिङमा ४ सय ३ रन बनाएको थियो। डाविन मालानले टेस्टमा पहिलो इनिङमा शतक बनाए भने दोस्रो इनिङमा ५४ रन बनाएका थिए। दोस्रो इनिङमा एक समय ४ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको इंग्ल्यान्डले बाँकी ६ विकेट गुमाउँदा ८६ रन मात्र जोडेको थियो।

यो अस्ट्रेलियाको आठ एसेसमा सातौं सिरिज जित हो। टोलीले २०१५ मा इंग्ल्यान्डसँग हारेको ट्रफी फेरि हात पारेको छ। अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध घरेलु टेस्टमा लगातार आठ जित हात पारेको छ। यो १९२० मा राखेको रेकर्डसँग पनि बराबरी गरेको छ। अहिले अस्ट्रेलियाले ११ वर्षमा लगातार दोस्रो पटक ५–० ले जित्ने लक्ष्य पनि राखेको छ। बाँकी दुई टेस्ट मेलबर्न र सिड्नीमा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्