ट्राफिक प्रहरीको अर्को राम्रो काम



सार्वजनिक सवारीसाधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको छ। यो एकदमै राम्रो कामका रूपमा मैले लिएको छु। सर्वेन्द्र खनाल ट्राफिक प्रहरी प्रमुख बनेपछि केही हदसम्म जाम कम भएको, मापासे कम भएको र ट्राफिक नियम पालना भएको देखिरहेको समयमा फेरि आरक्षण सिटमा समस्या देखिएको भन्दै नयाँ नियम लागू भएको छ।

उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था मिलाएको छ। यसलाई विस्तार गरेर धेरै ठाउँमा लैजानुपर्छ। शुरुवातमा १० स्थान गराउनु पनि राम्रो हो। यसलाई कार्यान्वयन मुख्य चुनौती रहेको छ। यसका लागि सर्वेन्द्र खनालले विशेष ध्यान दिएर काम गर्नु जरुरी रहेको छ। एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिल मात्रै नभएर अन्य स्थानमा पनि यो व्यवस्था लागू गर्न प्रहरीले काम शुरु गरिहाल्नुपर्छ।

लाम बस्ने व्यवस्थाले मानिस उकाल्न तथा ओराल्न सहज हुन्छ। मानिस एक मिनेट भए पनि चाँडो गन्तव्यस्थलमा जान खोज्दा सवारी भीड हुने गर्छ। यस व्यवस्थाबाट अलि कम सास्ती हुने देखिन्छ। त्यति मात्रै हैन, बस कहाँ पाइन्छ भन्नेबारे सूचनापाटी नराख्दा यात्रु अन्योलमा परेको देखिएको छ। यसमा पनि खनालको ध्यान जान जरुरी रहेको छ।
– पुष्प अधिकारी, ओखलढुंगा

देउवा, नैतिकताका आधारमा राजीनामा देऊ
पञ्चायतकालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले सिंहदरबारमा आगलागी हुँदा नैतिकताको आधारमा राजीनामा दिएका थिए। दशरथ रंगशालामा ढोकामा चेपिएर धेरै जनाको ज्यान गएपछि त्यति बेलाका शिक्षामन्त्री केशरबहादुर विष्टले पनि राजीनामा दिए। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले आफू नेतृत्वको पार्टी नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनमा २३ सिट मात्र जितेर तेस्रो स्थानमा पुगेको छ। तर पनि उनी राजीनामा दिएर मार्गप्रशस्त गर्नेतिर नलागी मनपरि निर्णय गर्दै छन्।

लज्जास्पद पराजय भएको हुँदा पनि प्रम देउवाले नैतिकताको आधारमा राजीनामा दिएका छैनन्। उनी के आधारमा अझै पनि पदमा बसिरहेका छन् ? जनताले प्रश्न उठाइरहेका छन्। उनीसँग नैतिकता नभएर पनि यस्तो गरेको आँकलन भइरहेको छ। हालै सम्पन्न निर्वाचन परिणामबाट वाम गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेको छ। यस अर्थमा उनीहरू ताजा जनादेशसहित सिंहदरबारमा कब्जा जमाउने हकदार बनेका छन्।

अब छिटोभन्दा छिटो अल्पमतमा रहेको कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर ताजा जनादेशप्रति सम्मान व्यक्त गर्न सक्नुपर्दछ। जनताको मतको कदर गर्न सक्नुपर्छ। सचेत नेपाली जनता अहिले प्रम देउवाको अग्निपरीक्षा गरिरहेका छन्। उनी अहिले हारलाई स्वीकार्दै जनतामाझ गएमा फेरि नेपाली जनताले सोच्ने अवस्था आउन सक्छ। नत्र देउवाको यो पाराले कांग्रेसलाई ठूलै घाटा हुने निश्चित छ। कांग्रेस नेतृत्वको अक्षमता र गुट⁄उपगुटको गम्भीर कारणले नै कांग्रेस पार्टीले लज्जास्पद हार व्यहोर्नुपरेको कुरा घामजस्तै छर्लंग छ। तसर्थ, छिटोभन्दा छिटो प्रम पदबाट राजीनामा दिएर बचेखुचेको इज्जत जोगाउनुमा नै देउवाको कल्याण हुनेछ। देउवाले बचेको इज्जत बचाउन भए पनि त्यो कुर्सी छाड्न जरुरी छ।

– हरिकृष्ण खड्का, हेटौंडा
लागूऔषधको रूपमा औषधि प्रयोग नहोस्
बिरामीलाई दिने औषधि अनुमतिपत्र (प्रेसक्रिप्सन) को दुरूपयोग भएको देखिएको खबर समाचारमा आउन थालेको छ। खासगरी बिरामीको उपचारका लागि दिइएका केही औषधि लागूऔषधको रूपमा प्रयोग भएको देखिनु गम्भीर कुरा हो। चिकित्सकको प्रेसक्रिप्सनविना प्रयोग गर्न नपाइने नार्कोटिप औषधि बिरामीले भन्दा पनि बिरामीको बहानामा लागूऔषध प्रयोगकर्ताले सेवन गर्ने गरेको विषयमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्छ। यसको दुरूपयोग हुन नदिन काम शुरु गर्न जरुरी छ।

मानसिक रोगी, अनिद्रा, नसाका बिरामी आदिका लागि प्रयोग हुने औषधि लागूपदार्थको रूपमा दुरूपयोग भएको हो। यस्ता औषधि जथाभावी बिक्री गर्न नपाइने व्यवस्था भए पनि मेडिकलबाट बिक्री भइरहन्छन्। यसलाई पहिले नियन्त्रण गर्नुपर्छ। यसो त कतिपय औषधि विक्रेताले लगत राख्ने गरे पनि आफन्तकै नाममा युवाहरू औषधि लिन आउने भएकाले रोक्न नसकिएको पनि समस्या हुन सक्छ। सरकारले चिकित्सकको सल्लाह र निगरानीबाहेक यस्ता औषधि बिक्री गर्न नपाइने भने पनि मेडिकलबाट अन्य औषधिसरह बिक्री भइरहेकाले समस्या देखिएको छ। सरकारी अस्पतालबाट यसको दुरूपयोग नभएको र मेडिकलबाट दुरूपयोग भएको पनि देखिएको छ।
– सुरेन्द्र केसी, पाल्पा

प्रतिक्रिया दिनुहोस्