इपिएलको नौलो प्रयासः विदेशी खेलाडीहरु देखी मार्की खेलाडीसम्म



फिरोज राजोपाध्याय, काठमाडौँ ।
टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको पर्खाई आजबाट सकिँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा ईपीएलको उदघाटन आज हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले झण्डै प्रतियोगिता रोक्न सक्ने स्थिति बनाइसकेको थियो । तर आईसीसीले आयोजकलाई २० हजार डलर जरिवाना तिर्न लगाएर प्रतियोगिता आयोजना गर्न मञ्जुरी दिएको थियो । यसले सहभागि टोली, आयोजक र क्रिकेट प्रेमीको लागि राहत पनि भयो ।

आज काठमाडौं किंग्स र ललितपुर प्याट्रियोसबीच एक खेल मात्रै हुनेछ । भोलिदेखि भने दुई दुई खेल हुनेछ भने यो प्रतियोगिता पुष १५ गतेसम्म चल्नेछ । यस पटक सबैभन्दा आकर्षक पक्ष भनेको विदेशी खेलाडीको सहभागिता हो । आईसीसीले विदेशी खेलाडी पनि अनुबन्ध गर्न पाउने स्विकृत दिएपछि टोलीहरुले तीन तीन विदेसी खेलाडीलाई सहभागिता गराइरहेको छ । तर सहभागि एक टोली भैरहवा ग्लाडियटर्सले भने विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ। विराटनगर वारियर्सले तीन विदेशी राख्न सक्ने प्रावधान भएपनि दुई जना विदेशी खेलाडीलाई टोलीमा भित्र्याएको छ । नेपालको क्रिकेटलाई अझै सशक्त गर्न इपिएलले नेपाली क्रिकेटमा थप व्यवसायिकताको अभ्यास गर्यो। देशका ६ शहरका फ्रेन्चाइजमा आधारित टोलीहरु र अक्सनसँगसँगै अनिवार्य तीनजना विदेशी खेलाडीहरु, एक–एक जना मार्की खेलाडी र ‘ट्यालेन्ट हन्ट’बाट स्थानिय खेलाडी, आइसिसीबाट मान्यता लगायतका नौला प्रयास इपिएलले सुरु गरेको छ।

यसमध्ये आज हुने खेलमा प्रमुख आकर्षण भनेको काठमाडौं किंग्सका कप्तान फरभीज महारूफ हुनेछन् । महारूफ श्रीलंकाका लागि २२ टेस्ट र १ सय ९ वानडे अन्तर्राष्ट्रिय खेल खेलिसकेका परिपक्व बलर समेत हुन् । काठमाडौं किंग्सले नेपाली खेलाडीलाई कप्तान नदिएर उनलाई छनौट गर्नु पनि विदेशी खेलाडीको सम्मान भएको पुष्टि हुन्छ । महारूफले टेस्टमा २५ विकेट र वानडेमा १ सय ३५ विकेट लिएका छन् ।

यस्तै महारूफसँगैं श्रीलंकाकै अक्षय फर्नान्डेजले काठमाडौंको लागि खेल्नेछन् । काठमाडौंको लागि तेस्रो विदेशी खेलाडीमा भारतका सागर कुमार रहेका छन् । यसैगरी विराटनगरले हङकङका बाबर हायत र अंशुमन राथलाई अनुबन्ध गरेको छ । विराटनगरका कप्तान नेपाली राष्ट्रिय क्रिकेटका कप्तान समेत रहेका पारस खड्का हुन् । ललितपुर प्याट्रिओसमा योगेस नगर, सुभाष भाटी र जयकिसन अनिल रहेका छन् । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल हुन् ।

चितवन टाइगर्सले तीन खेलाडी अनुबन्ध गर्नेक्रममा प्रवीण गुप्ता, प्रमेश कुमार र सावेज खानलाई भित्रयाएको छ । यी तीनै खेलाडी भारतका हुन् । यसमध्ये प्रवीण गुप्ताले सन् २००३ मा भएको यु १९ विश्वकपमा समेत खेलिसकेका थिए । पोखरा राइनोजले इन्सारल्लाह, असिफ अली र ताज अलीलाई अनुबन्ध गरेको छ । यीनीहरु पाकिस्तानी खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्