नेपालले इस्टर्न रिजनको उपाधि जित्यो



नेपाल समाचारपत्र
काठमाडौं

थाइल्यान्डमा भएको एसीसी यु १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले अपराजेय हुँदै उपाधि हात पारेको छ।

आइतबार टेर्डथाई क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले माथ खुवाउँदै उपाधि हात पार्यो। नेपालले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो। जवाफमा प्रतिद्वन्द्वी सिंगापुर ३१.५ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रनमै समेटिएपछि नेपाल च्याम्पियन बनेको हो। यो नेपालको यस वर्ष एसीसीमा दोस्रो उपाधि थियो। नेपालले यसअघि सेप्टेम्बरमा मलेसियामा भएको यु १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो।
नियमित कप्तान रित गौतम बिरामी भएपछि नेपालको जिम्मेबारी विशाल बिक्रम केसीले लिएका थिए। टस जितेर ब्याटिङ रोजेको नेपाललाई बिशालको अद्र्धशतक र नारायण जोशीको विस्फोटक ब्याटिङको सहयोग मिलेको थियो। विशालले ७९ बलमा ६३ रन र नारायणले २३ बलमा ४६ रनको योगदान दिएका थिए। विशालले चार चौका र एक छक्का प्रहार गर्दा नारायणले ५ चौका र १ छक्का हाने। सिंगापुरका बलर इशान साउनेले २ विकेट लिएका थिए।

नेपालका बलरले पनि सानदार प्रदर्शन गरेका थिए। सूर्य तामाङ र अजयकुमार लोनीयाले समान तीन–तीन विकेट लिएर सिंगापुरलाई हराउन प्रमुख भूमिका खेलेका थिए। हर्शा बेणुगोपाल क्रिजमा रहन्जुल नेपालका लागि कठिन स्थिति रहेको थियो। तर अजयले उनलाई आउट गरेपछि सिंगापुरमाथि नेपाल हावी भएको थियो। बेणुगोपालले ३१ रनको योगदान दिएका थिए।

यसअघि कुशल मल्लको विकेट गुमाएर नेपालको ब्याटिङ शुरू भएको थियो। मल्ल डकआउट भएपछि राजन मगर ३ रनमा पवेलियन फर्के। कप्तान रितको स्थानमा आएका सुबोध अयेरले भने २२ बलमा २२ रन जोडे भने त्रिटराज दासले १९ रन बनाएका थिए। त्यस्तै सुनील भण्डारीले १५ रन जोडेका थिए।

प्रतिक्रिया दिनुहोस्