परिसूचक निरन्तर ओरालो कारोबार रकममा भने वृद्धि



काठमाडौं, (नेस)
पछिल्लो समय नेप्से परिसूचक निरन्तर ओरालो लागे पनि कारोबार रकम भने सुधार आउने क्रम जारी छ। यसै क्रममा साताको पहिलो दिन तथा महिनाको पहिलो कारोबार आइतबार नेप्से परिसूचक ११ दशमलव शून्य १ अंकले गिरावट आएको छ।

परिसूचक घट्दा आइतबार कारोबार रकममा भने सुधार भएको छ। शेयर बजारमा आइतबार ५१ करोड १२ लाख १२ हजार १ सय ९२ रुपियाँको कारोबार भएको थियो। यस दिन १ सय ५८ कम्पनीका ११ लाख ६ हजार ३९ कित्ता शेयर किनबेच भए। गत बिहीबार ४५ करोड ३१ लख ४४ हजार ९ सय २९ रुपियाँको कारोबार भएको थियो। आइतबार कारोबारको शुरूआती १५ मिनेट सामान्य देखिएको बजार त्यसपछि भने लगातार घटेको थियो। १ हजार ५ सय २० दशमलव १५ अंकबाट शुरू भएको बजार सुधारिन नसक्दा बजार परिसूचक १ हजार ५ सय ९ दशमलव १४ बिन्दुमा पुगेर रोकिएको हो।

नेप्से परिसूचक घट्दा आइतबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५८ अंकले घटेर ३ सय १८ दशमलव शून्य ७ अंकमा पुगेको छ।

आइतबार कारोबारमा आएका १० समूहमध्ये ७ समूह ओरालो लाग्दा परिसूचक घटेको हो। यसदिन होटल, उत्पादनमुलक र अन्य समूह बाहेक सबै समूह ओरालो लागेका छन्। आइतबार सबैभन्दा बढी बीमा समूहमा ८८ दशमलव दशमलव ७ अंकले घटेको छ। त्यस्तै विकास बैंक समूह १८ दशमलव ६२ अंक, जलविद्युत् समूह १६ दशमलव ६२ अंक, बैंकिङ समूह १२ दशमलव ७८ अंकले घट्दा लघुवित्त, ट्रेडिङ र वित्त समूह पनि क्रमशः १२ दशमलव ४६, ९ दशमलव ३८ र ६ दशमलव ४८ अंकले ओरालो लागेका छन्।

बढ्नेमा उत्पादन समूह सबैभन्दा धेरै ३५ दशमलव १ अंकले बढ्यो। त्यस्तै होटल र अन्य समूह क्रमशः १२ दशमलव २९ र ८ दशमलव ६७ अंकले बढे। आइतबार सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको शेयरको भयो। बैंकका ६ करोड ५४ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार हुँदा ग्लोबल आईएमई बैंकको पनि ४ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ करोड रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ।

आइतबार बोटलर्स नेपाल तराईको शेयर मूल्य सबैभन्दा बढी ८ दशमलव ३३ प्रतिशतले बढेको छ। त्यस्तै सर्वाधिक गुमाउनेमा कालिका माइक्रो क्रेडिटका लगानीकर्ता रहेका छन्। यस कम्पनीको शेयर मूल्य ९ दशमलव शून्य ९ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्