अनुदित कथाको पोको



रोहिणी घिमिरे
पत्रकारिता छोडेर ८–१० वर्षअगाडि अमेरिका पसेका हिकमत डंगोलको ‘प्रारम्भ’ नामक अनुदित कथासंग्रह बजारमा आएको छ। यस संग्रहमा एन्तोन चेखव, लियो टाल्सटाय, भ्लादिमिर नावाकोभ, चाल्र्स मिल्टन ली, एडगर एलन पो, ओहेनरी लगायतका विश्वप्रशिद्ध लेखकहरुका आठवटा कथा समावेश गरिएका छन्। अंग्रेजी भाषाको ज्ञान नभएका तर पाश्चात्य कथाहरु पढ्न रुचि भएका नेपालीभाषीहरुका लागि यो कथासंग्रह पठनीय हुने देखिन्छ। अनुवादक डंगोलले युवायुवतीदेखि बूढाबूढीसम्म सबैलाई मनोरञ्जनका साथै शिक्षा दिने खालका कथाको छनोट गरी अनुवाद गरेका छन्। कथा छनोटमा लेखक डंगोल निकै कुशल देखिन्छन् तर यसको सम्पादन भने निकै कमजोर देखिन्छ।

यसमा संग्रहित केही कथाका बारेमा भन्नुपर्दा, ‘कालो बिरालो’ शीर्षकको कथाले अन्याय गर्दा आफैंलाई हानि गर्छ भन्ने दर्शाएको छ भने ‘अन्तिम पात’ कथाले मनोवैज्ञानिक असर र यसको निराकरणको राम्रो चित्रण गरेको छ। यस्तै ‘कुकुर र एक युवती’ जस्ता प्रेमकथाहरु मनोरञ्जनात्मक एवम् भावुक छन्।

एडगर एलन पोद्वारा लिखित ‘कालो बिरालो’ शीर्षकको कथामा एक जनावरप्रेमीले पालेका जनावरहरुमध्ये कालो बिरालोसँग उसको निकै मित्रता हुन्छ। तर विवाह भएको केही अविधिपछि भने सो बिरालोप्रति उसको वितृष्णा जाग्दै जान्छ। एक दिन उसले बिरालोको एउटा आँखा नै चक्कुले निकालिदिन्छ। यति गर्दा पनि बिरालो ऊसँग लुटपुटिन छोड्दैन। एक दिन साँझ घरबाहिर रुखमा त्यो बिरालोलाई झुन्ड्याएर ऊ सुत्छ।
राति घरमा ह्वारह्वार आगो दन्केको आवाजले ऊ बिउँझिन्छ र श्रीमतीसहित बाहिर भागेर उसले ज्यान बचाउँछ।

बिहान डढेको घरको भित्तामा धुवाँले बनेको सोही कालो बिरालोको आकृति दाख्दा ऊ भयभित हुन्छ। आखिर सो बिरालोलाई बिर्सन नसकेर त्यस्तै अर्को बिरालोको खोजीमा ऊ हिँड्छ। अर्को त्यस्तै बिरालो पाएपछि उसले त्यसलाई माया गर्छ। तर एक दिन बिरालोले अल्झाएर लड्न खोज्दा रिसले चुर भई बन्चरो उजाउन पुग्छ। श्रीमतीले देखेर हत्तपत्त रोक्न खोज्दा बिरालोलाई हानेको बन्चरो श्रीमतीमाथि बज्रिन पुग्छ। के गर्न खोजेको तर के भयो, ऊ आत्तिन्छ। अब लासलाई घरको भित्ता फोरेर त्यहीँ लुकाई भित्ता जस्ताको त्यस्तै बनाउँछ।

प्रहरी घर खानतलासी गर्न आउँदा केही नभेटी हिँड्न लाग्दा भित्ताबाट आवाज आउँछ। प्रहरीले भित्ता भत्काउँछन्। त्यहाँबाट बिरालो फुत्त निस्किन्छ। त्यहाँ लास पनि देखिन्छ। कथा यत्तिकैमा सकिन्छ। ‘पाप धुरीबाट कराउँछ’ भन्ने नेपाली उखानसँग यो कथा मेल खान्छ।

यस्तै पुस्तकको अन्त्यमा भएको ओ हेनरीद्वारा लिखित ‘अन्तिम पात’ शीर्षकको कथा अप्रत्यक्षरुपमा मनोवैज्ञानिक छ। यस कथामा सु र जोन्सी नामका दुई महिला चित्रकारिताको काम गर्ने हुनाले सँगै बस्छन्। जोन्सी ठण्डाले गर्दा निकै बिरामी परेकी हुन्छिन्। सिकिस्त भएकाले बेडबाट झ्यालबाहिर पर्खालमा रहेको ओइलाउँदै गरेको एक लहराको पातसँग उनी आफूलाई तुलना गर्छिन्। दैनिक पात झरेर सकिँदा आफ्नो जीवन पनि समाप्त हुने उनी कल्पना गर्छिन्। त्यसैले ओछ्यानबाटै दैनिक ती पातको ८–७–६ भन्दै काउन्ट डाउन गरिरहन्छिन्। ती पात झरिसक्दा आफू पनि अन्तिम पातसँगै मर्छु भन्नेमा उनी विश्वस्त भएको डाक्टरले थाहा पाउँछन्। शायद डाक्टरले सोही अनुसारको उपचारको तरिका अपनाएका हुन सक्छन्।

अन्त्यमा एक रात लहरामा एउटा मात्र पात बाँकी रहन्छ। सो रात बढी नै ठण्डा हुन्छ र पानीसमेत पर्छ। उता जोन्सीमा भने रातिको पानी र हावाले पात झर्यो होला, अब मेरो पनि अन्तिम समय भयो भन्ने विचार आउँछ। भोलिपल्ट बिहानै डाक्टर आएर जोन्सीकी साथी सुलाई जोन्सी खतारामुक्त भएको खबर गर्छन् र सोही घरमा बस्ने एक बूढो चित्रकारको उपचारका लागि उसको कोठातिर लाग्छन्। जोन्सीचाहिँ आफ्नो अन्त्यका लागि झ्याल खोल्न लगाउँछिन् र लहरामा हेर्छिन्। तर पात जस्ताको त्यस्तै।

वास्तवमा सो पात सोही रात झरिसकेको हुन्छ। जोन्सीले देखेको पात त सोही घरमा बस्ने वृद्ध चित्रकारले राति पर्खालमा पेन्ट गरेर बनाइदिएको चित्र हुन्छ। जोन्सीलाई यो कुरा के थाहा ? पात जस्ताको त्यस्तै देखेर जोन्सी मर्दिनन्। तर बूढो चित्रकार रातिको पानीको भिजाइ र ठण्डाले बिहानसम्ममा मरिसकेको हुन्छ। कथा सकिन्छ। जोन्सीलाई बचाउने उपाय डाक्टरले गरेको होला भन्ने कुरा बुझ्न कठिन पर्दैन।
यस पुस्तकमा कथा मात्र नभएर केही प्ररणादायी वास्तविक घटना पनि समावेश गरिएको छ। आजकल प्रेम पाउन गाह्रो मात्र होइन, प्रेममा स्वार्थ, धोका, छलकपट पनि हुने गरेको पाइन्छ। यस्ता प्रेमबाट दिक्क भएकाहरुलाई पुनः प्रेमको सुन्दरता, पवित्रता, स्वच्छतातर्फ आकर्षित गराउने अर्थात् प्रेमप्रति आस्थावान् बनाउने खालका दशवटा प्रेरणादायी वास्तविक घटनालाई पनि डंगोलले अनुवाद गरेर पुस्तकमा समावेश गरेका छन्।

एकै दिन जन्मेर वैवाहिक बन्धनमा बाँधिएका एक जोडी ९५ वर्षको उमेरमा सँगै मरेका, भागेर प्रेम विवाह गरी सबैभन्दा लामो अवधि वैवाहिक जीवन सँगै बिताएका जोडी, पहिलो चुम्बन गरेको ७५ वर्षपछि जीवनसाथी बनाएका जोडी आदिका तस्वीरसहित सत्य प्रेमकहानीले पुस्तकलाई सजीवता प्रदान गरेको छ। यसो हेर्दा कथाको पुस्तक नभएर यो सत्य घटनाको सँगालो हो कि जस्तो लाग्न सक्छ। कभर पृष्ठमा ‘अनुदित कथासंग्रह’ भनिदिएको भए पाठकले अनुवाद गरिएको कथा रहेछ भन्ने सजिलै थाहा पाउँथे। यस्ता कमी–कमजोरी धेरै छन्। आगामी दिनमा सुधारको खाँचो छ।

प्रतिक्रिया दिनुहोस्