रसुवासँग प्रेम साटियो



मोहन दुवाल
रसुवामा बास बस्न पाएको छैन। बागमती अञ्चलकै ७ वटा जिल्लाहरुमध्ये सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौंमा बरोबर बास बस्न पाएको छु। काभ्रे जिल्ला आफू जन्मेको जिल्लामा पनि धुलिखेल, साँगा, पाँचखाल, भकुण्डे, दोलालघाट, पनौती, खोपासी, मण्डन, ढुङ्खर्क, घर्तीछाप, मादनकुँडारी, मङ्गलटार, वनखु, वाल्टिङ, रयाले, कुशादेवी, श्रीखण्डपुर, चौकोटलगायत थुप्रै गाउँठाउँमा बास बसेको छु। तर नजिक भएर पनि रसुवा जान नपाएकोले रसुवालाई नजिकले हेर्ने र एकरात बास बसेर अनुभूत गर्ने मन भएकोले मोटर भएका मित्र गणेशदास उलकलाई मेरो मनको धोको सुनाएँ। उनी उत्ति नै खेर रसुवा जान राजी भए।

कार्तिक २४ गते शुक्रबार बिहानै जाने कार्यक्रम तय भयो। तर जाँदाजाँदै १०ः४५ तिर मात्र हामी गोङ्गबु चोक भएर टोखाको नयाँ बाटोबाट रसुवा जाने भयौं। गणेशदास उलक र भाउजू, म र भारती गणेश दाइको मोटरबाट रसुवातर्फ हुइँकियौं। टोखाको नयाँ बाटो (बन्दै रहेको उबडखावड बाटो) भएर रसुवालाई मनमा राख्दै हामीहरु कुदिरह्यौं। थानाभज्याङमा १२ः४५ मा खाना खायौं। खानापछि पुनः हामी मोटरमार्फत रसुवा मनमा झुन्ड्याएर गुडिरह्यौं। बाटो गतिलो नभएको, जहाँतहीँ पहिरोको स्लखन देखिँदो पहाडहरु हेरेर हामी मोटरबाट कुदिरह्यौं। डरलाग्दा पहाडका शृङ्खलाहरु हेर्दै, माथिबाट धेरै तल बहँदै गरेका खोलाका छालहरु मनमा राख्दै हामीहरु कुरा गर्दै लम्किरह्यौं।

लाङटाङ हिमाल लुकिरहेजस्तो अर्थात् अग्लाअग्ला पहाडहरुबाट छेकिरहेको जस्तो सेताम्मे हिमाल देखिँदो छ। साँझ पर्न लागेको छ, हामी अप्ठ्यारो बाटो पार गर्दै छौं। खोटाङतिरको बाटोभन्दा डरलाग्दो बाटो भएर हामी रसुवा पुग्न हतारिँदै मोटरमा गुडिरहेछौं। मेरा साहित्यिक मित्र दिलबहादुर नेवारले बरोबर कता पुग्नुभयो भनी सोध्ने गर्छन्, यिनै मित्रका माहिली बुहारी हीरादेवी श्रेष्ठ पनि फोनबाट हामी कता पुग्यौं भनी बरोबर सम्पर्क गरिरहे। धुन्चेको चौकीअगाडि नै घर, पसल भएको बताउँदै हामीलाई त्यतैतिर ओर्लिन अनुरोध गरे। हामी चौकीनेर पुग्दा ६ः३० बज्यो, बुहारी हीरादेवी चौकीनेर उभिइरहेकी देखियो। भेटघाट भयो, पहिलोचोटि भेटेर पनि आत्मीयता गाँसिएका इष्टकै व्यवहार प्रदर्शन भयो। हामीलाई डोर्याएर सनसाइन होटेलमा लगिन्। धुन्चेकै प्रख्यात होटेलमा दुईवटा कोठा देखाइदिइन्।

एकछिन् होटेलकै एकठाउँमा रमेर हीरादेवीले ल्याइदिएको लालीगुराँस जुस पिउन शुरु गर्यौं। खाना पाकिसकेको खबर होटेलका साहूजीले गरेलगत्तै खाना खान हामी तयार भयौं। धुन्चेको स्वादिलो खाना खाएर हामी आ–आफ्ना कोठातर्फ लाग्यौं। दुईवटा खाट मिलाइएको कोठामा भारती र म विभाजित भएर आरामले सुत्यौं। धुन्चेमा आरामले निदाइयो। अघिपछि जस्तै बिहान ४ः०० बजे नै निद खुल्यो। भारती पनि बिस्तारै उठिन्। बिहान ५ः०० बजे नै केरुङतिर लाग्ने कार्यक्रम बनेकोले भारती र म मोटर पार्किङ गरेको ठाउँमा पुग्यौं। गणेश दाइ र भाउजू पनि सँगसँगैजसो मोटर पार्किङ गरेकै ठाउँमा देखा परे। हाम्रो मोटर रहेको छेउमा चारजना युवायुवती देखा परे। र, उनीहरुले आफूहरु पनि केरुङतिर जाने रहर गरेको कुरा सुनाए। हुन्छ, जाऊँ भनेर हामीले मोटरमा लिफ्ट दियौं।

हामी ८ जना केरुङ पुग्ने रहर बोकेर गुड्यौं। बाटो साना दुईवटा गाडी जसोतसो चल्ने, अप्ठ्यारो बाटो, ट्रक डिजाइल गाडीहरु बाटोभरि यत्रतत्र फिँजिएका छन्। मोटर पास हुन नै गाह्रो बाटो हेर्दै हामी स्याफ्रुबेंसीमा चिया पिउन मोटर रोक्यौं। र, एकछिन् त्यहाँको जनजीवन, वातावरण नियाल्यौं। अनि मीठो चिया पिएर हामी गन्तव्यमा पुग्न उठ्यौं।

सिन्धुपाल्चोकको तातोपानी गाउँजस्तो देखिँदो थातथलो स्याफ्रुबेंसीमा चिसो शुरु हुन लागेको मौसम भोग्दै शेर्पाहरुको बाहुल्य रहेको बस्ती नियालियो। यस क्षेत्रकै चल्तीको बजार केहीक्षण अप्ठ्यारा बाटोहरुमा मोटरका डोबहरु छोड्दै हामी केरुङछेउ पुग्यौं। नेपाल र चीनको सिमाना तोकिएको पुलमा फोटाहरु खिँच्यौं। नेपालको भन्सार क्षेत्रमा एकछिन् अलमलियौं, पास चाहिने रहेछ, हामीसँग पास नभएको कारणले चीनतिरको भन्सार टाढैबाट हेरेर मन बुझायौं। सम्पन्न चीन र असम्पन्न नेपालको चित्र सीमानाभित्र देखिँदो छ, मनभित्र राख्यौं। प्रबन्ध नभएको देशमा रमाउन बाध्य हामी नेपालीको गति र मति देशका सिमाना–सिमानामा दुख्दाका दृश्यहरु हेनुपर्ने बाध्यता छ। यहीँ पनि त्यही स्थिति देखियो, भोगियो। धुन्चेका स्थानीयहरुलाई पास नचाहिने व्यवस्था गरेका रहेछन्।

त्यसैले धुन्चेवासीहरु केरुङभित्र छिरेर पोकापुन्तुरा काँधमा झुन्ड्याएर, हातमा राखेर आफ्ना निन्याउरा मुहारहरु देखाउँदै यत्रतत्र कुदिरहेको देखिन्छ। केरुङभित्र पुग्न १६ किलोमिटर पार गर्नुपर्ने, पास चाहिने, सामान खरिद गर्ने रहर नभएको आदि कारणले गर्दा हामी केरुङभित्र छिर्न मन गरेनौं। केरुङको तल बजारसम्म पुग्न सक्ने हामीसँगै आएका युवाहरुले माध्यम देखाइदिएको भए तापनि हामी भित्र छिरेनौं। बाटो जाम होला भन्ने एकातिर डर रहेको र अर्कोतिर हामी आजै बनेपा पुग्नुपर्ने बाध्यता रहेकोले नअलमलिईकन धुन्चे फर्किने भयौं। र, एक रफ्तारले बाटोका अजंगका सुख्खा पहाडहरु छोडेर, लाङटाङको मीठो स्पर्शलाई बाइबाई गरेर हामी धुन्चे फर्कियौं।
धुन्चेको नागबेली परेको एकसरो बजार नियाल्यौं। पहाडले घेरिएको अप्ठ्यारो बस्ती हेर्यौं। लाङटाङ हिमालको बाहुल्य रहेको यस ठाउँमा चारैतिर आँखाहरु कुदायौं। यही धुन्चेको बजारमा लालीगुराँसको जुसको व्यापार–व्यवसायमा आफूलाई सफल राख्न सक्षम व्यवसायी बाबुराम श्रेष्ठ नेवार धुन्चेका एकजना व्यापारी, एकजना साहित्यकार पनि हुन्।

उनी काम विशेषले धादिङमा रहेकै कारणले हाम्रो सत्कार यिनकै दुईवटी बुहारीहरुलाई जिम्मा दिएकाले बुहारीहरु हस्याङफस्याङ गर्दै खाना पकाउँदै गर्दा हामी घरछेउ पुग्यौं। बिहानको खाना घरैमा खुवाउने उनीहरुको रहर रहेछ। हामीले आनाकानी नगरीकन उनीहरुले सत्कारमा दिएको मिष्ठान्न भोजन गर्यौं। खानापछि हामीले फर्किने चाँजोपाँजो मिलायौं र हामी फर्कियौं। फर्किंदा एकठाउँमा मोटरको ब्रेक फेल भएकोले केही क्षण अलमलियौं। नुवाकोटको बटार बजारमा खाजा खायौं। बनेपा, घर पुग्दा अबेर भयो। रसुवाको आतिथ्यता न्यानो रहेकै कारणले कवितामा रसुवालाई यसरी कैद गर्यौं–

लाङटाङ हाँसिरहेको हेरेर मस्तीमा रमेको
आत्मीयता मीठो र सौहार्द थियो यो धुन्चेको
सोझासीधा मनहरु चिसो स्याँठ भोग्न जानेको कसरी ?
केरुङबाट आउने हावा भोग्दै आफूलाई हेर सम्हालिरहेको।

प्रतिक्रिया दिनुहोस्