तनावको भुमरी



प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक भएसँगै प्रदेश सरकार गठन गर्ने, प्रदेशसभा तोक्ने विषय अहिले निकै चर्चामा छ। प्रदेश नं २ बाहेक अन्य ६ वटै प्रदेशमा वामपन्थी गठबन्धनले बहुमत पाएको छ। बढ्दो चिसो मौसमका बीच मुख्यमन्त्री को बन्ने भन्ने बहसले राजनीतिक माहोल निकै तातेको छ।

२ नम्बर प्रदेश बाहेक बाँकी ६ वटा मध्ये कुनै एक प्रदेश माओवादीलाई सुम्पिएर अन्य प्रदेशमा आफ्नो पक्षमा सरकार बनाउने गृहकार्यमा एमाले जुटेको चर्चा छ। प्रदेश नं १ मा एमालेका भीम आचार्य र शेरधन राई जसरी पनि मुख्यमन्त्रीको कुर्ची फुत्काउने दाउमा छन् भने प्रदेश २ मा संघीय फोरम र राजपाले तालमेल गर्ने बताउन थालेका छन्।

३ नं मा एमालले अष्टलक्ष्मी शाक्यलाई भावी मुख्यमन्त्रीका रूपमा अघि सारे पनि भित्रभित्रै धादिङका राजेन्द्र पाण्डेले कुर्ची फुत्काउन धेरै तानाबाना बुन्न थालिसकेको धरहराले देख्न थालेको छ। प्रदेश नं ५ मा एमालेका शंकर पोखरेल सो पदमा सर्वसम्मत् मानिए पनि प्रदेश–४ मा सोही पार्टीका पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ पार्टीका शीर्ष नेताको चाकडीमा जुटेका छन्। प्रदेश ६ र ७ मा पनि उस्तै दौडधुप चलेको छ। यस्तो दौडधुप तीब्र भइरहँदा धरहरा के कुरामा प्रष्ट छ भने वाम गठबन्धन अहिले उत्साहित देखिए पनि भित्र–भित्रै ठूलै तनावको भुमरीमा फसेको छ।

प्रतिक्रिया दिनुहोस्