प्रेमीको साथ पाउन पत्नीद्वारा पतिको हत्या



नयाँदिल्ली, (एजेन्सी)
भनिन्छ, प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ। मानिस आफ्नो प्रेमको स्वार्थ पूरा गर्नका लागि जुनसुकै कदम चाल्न पछि नपर्ने कुरा भारतको एक घटनाले स्पष्ट पारेको छ। भारतमा एक जोडीलाई महिलाको पतिको हत्या गरी प्रेमीलाई उनको स्थानमा राख्न कस्मेटिक सर्जरी गराइएको एउटा घटना पर्दाफास भएको छ।

दक्षिणी भारतीय राज्य तेलान्गनाको प्रहरीले एउटा नाटकीय आक्रमणमा ती प्रेमीको अनुहारमा एसिड छइपिएपछि उनको अनुहारको सर्जरी गरिएको जनाएको छ। आफ्नै छोरामाथि एसिड आक्रमण भएको ठानेर आमाबुबाले अस्पतालको सम्पूर्ण बिल भुक्तानी गरिदिएको बताइएको छ।
तर ती षडयन्त्रकारी महिलाका देवरले अस्पतालमा बिरामी दाजु हेर्न जाँदा षडयन्त्र भएको हुनुपर्ने आशंका गरेका थिए। उनले त्यसबारे प्रहरीमा उजुरी गरेपछि औंठा छापको परीक्षण गर्दा षडयन्त्रको भन्डाफोर भएको हो।

ती देवरले ती प्रेमी–प्रेमिका जोडीविरुद्ध आफ्नो दाजुको हत्याको आरोप लगाउँदै उजुरी गरेका थिए। स्वाती रेड्डी नामक ती मृत व्यक्तिका पत्नीलाई प्रहरीले गिरफ्तार गरेको छ। प्रहरीले तेजावले पोलेको अनुहारको उपचार गरी अस्पतालबाट डिस्चार्ज हुनासाथ उनका पे्रमी राजेश अज्जाकोलुलाई पनि गिरफ्तार गरिने बीबीसी तेलुगुलाई जानकारी दिएको छ।

२६ नोभेम्बरको राति हत्या गरी भोलिपल्टै सुधाकर रेड्डीको लाशको ठेगान लगाइएको थियो। तर अझैसम्म पनि उनको लाश फेला पर्न सकेको छैन। प्रहरीले स्वातीले आफ्नो प्रेमीसँग मिलेर पतिको हत्या गरेको स्विकारिसकेको बताएको छ।

स्वातीले पतिको नातेदारहरूलाई आफ्नो पतिमाथि अनुहारमा एसिड आक्रमण भएको खबर दिएपछि २८ नोभेम्बरमा राजेश अस्पतालमा भर्ना भएका थिए। आफ्नै छोरामाथि आक्रमण भएको सम्झेर आमाबुबाले अस्पतालको ५ लाख भारु खर्च बेहोरेका थिए।

प्रतिक्रिया दिनुहोस्