अलाबामा सिनेटरमा डेमोक्रइट जोन्स विजयी, ट्रम्पका लागि अर्को धक्का



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राज्य अलाबामाको सिनेट चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो धक्का लागेको छ। अलाबामाको चुनावमा डेमोक्रइटिक पार्टीका डग जोन्सले रिपब्लिकन पार्टीका उम्मेदवार रोय मुरलाई पराजित गरेका छन्।
अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सको कार्यकाल समाप्त भएपछि उक्त सिटका लागि चुनाव भएको हो। मुरमाथि किशोरी केटीहरूमाथि यौन उत्पीडनको आरोप लागेको थियो। तर उनले ती आरोपलाई अस्वीकार गरेका थिए। यसका बाबजुद ट्रम्पले मुरको समर्थन गरेका थिए। यस चुनावको नतिजा आएपछि ट्रम्पले ट्विटमा भनेका छन्– ‘यो अन्त्य होइन, रिपब्लिकन पार्टीका लागि चाँडै अर्को अवसर आउँदै छ।’

रिपब्लिकन उम्मेदवार मुरलाई सर्वोच्च अदालतले दुईपटक हटाइसकेको छ। उनी समलिंगी गतिविधिलाई गैरकानुनी घोषित हुनुपर्ने पक्षमा वकालत गरिरहेका छन्। ६३ वर्षीय डग जोन्स एक पूर्व वकिल हुन् जसले सन् १९६३ मा बर्मिङगमको चर्चमा भएको बम विस्फोटको घटनामा कुख्यात ‘कु क्लक्स क्लैन’ समूहका दुई सदस्यलाई सजाय दिलाएका थिए। उक्त हमलामा ४ केटीले ज्यान गुमाएका थिए। उक्त समूह नस्लवादी विचारलाई मान्छ।

आफ्नो जितपछि जोन्सले चुनावी लडाइँ सम्मान र मर्यादाका लागि भएको बताए। जोन्सले अलाबामा विश्वविद्यालयबाट राजनीति शास्त्रमा उच्च शिक्षा हासिल गरेका थिए। सन् १९९७ मा तात्कालीन राष्ट्रपति बिल क्लिन्टनले उनलाई महान्यायाधिवक्ता बनाएपछि उनी चर्चामा आएका हुन्।

गत अगस्टमा उनी सात अन्य आकांक्षीलाई पछाडि पार्दै डेमोक्रइटिक प्राइमरीमा जित हासिल गरी सिनेट सिटका लागि उम्मेदवार हासिल गरेका थिए। डग जोन्सको विजयले सिनेटमा रिपब्लिकन र डेमोक्रइट पार्टीको सिट ५१ र ४९ भएको छ। सिनेटमा रिपब्लिकन पार्टीलाई बहुमत तल झरेको छ र यसले ट्रम्पलाई कानुन पारित गर्न कठिनाइ बढ्न सक्ने अनुमान गरिएको छ।

सिनेटरको कार्यकाल ६ वर्षको हुन्छ। सिनेटको संरचना यस्तो छ, जहाँ प्रत्येक दुई वर्षमा एक तिहाइ सिट खाली हुन्छ र त्यसमा चुनाव हुने गर्छ। विद्यमान सिनेटको ३३ सिटमा अर्को वर्ष चुनाव हुनेछ। उक्त चुनावमा ट्रम्पले माथिल्लो सदनमा रिपब्लिकन पार्टीको दबाब कायम राख्ने प्रयास गर्नेछन्। विगत २५ वर्षमा अलाबामाबाट रिपब्लिकन उम्मेदवारलाई हराएर सिनेटको सिट हासिल गर्ने डग जोन्स पहिलो डेमोक्रइट हुन्।

प्रतिक्रिया दिनुहोस्