युरोपेली संघद्वारा जेरुसलमलाई इजरायली राजधानी मान्न अस्विकार



ब्रसेल्स (एजेन्सी) युरोपेली संघका विदेश निति प्रमुख फ्रेडरिका मोगेरिनीले अन्तिम रूपमा शान्ति सम्झौता नभएसम्म इयु सदस्यले जेरुसलमलाई इजरायली राजधानी नमान्ने बताएकी छिन्।

युरोपेली संघको विदेश निति प्रमुखले उक्त कुरा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँगको भेटवार्ता पछि बताएकी हुन्। नेतान्याहुले युरोपेली संघ यस मामिलामा अमेरिकी निति नै अवलम्बन गरुन भन्ने चाहेका छन्।

विदेश मामिला प्रमुख फ्रेडरिका मोगेरिनोले ब्रसेल्समा नेतान्याहुसँगको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा युरोपेली संघले जेरुसलमको मुद्दामा अन्तराष्टिय सहमतिलाई मान्यता दिन जारी राख्ने बताइन्। उनले भने–दुई पक्षबीच सिधा वार्ताको माध्यमबाट अन्तिम सहमति नबनेसम्म युरोपेली संघ र उसका सदस्य अन्तराष्टिय सहमतिको सम्मान गरिरहन्छ।

यद्यपी इजरायली प्रधानमन्त्री नेतान्याहुले जेरुसलमलाई इजरायली राजधानीका रूपमा अमेरिकाले दिएको मान्यता एक ‘वास्तविकता‘ भएको बताए।

अमेरिकाका राष्टपति डोनाल्ड ट्रम्पले जेरुसलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएपछि उक्त फैसलाको अन्तराष्टिय स्तरमा कडा आलोचना भइरहेको छ।

ट्रम्पको एकपक्षिय घोषणालाई लिएर टर्की, पाकिस्तान, चीन, रुस लगायत अधिकांश मुस्लिम देशहरूले कडा आपत्ती जनाउँदै त्यसको विरोध गरेका छन्।

टर्कीका राष्टपति रिसेप तयैप एर्डोगानले इजरायलाई ‘आतंकवादी राज्य‘को संज्ञा दिँदै जेरुसलमलाई इजरायलको राजधानीको दर्जा दिने अमेरिकी मान्यता ‘निरर्थक‘ भएको घोषणा गरेका थिए।

सिवासमा सत्तारुढ जस्टिस एन्ड डेभेलपमेन्ट पार्टीको बैठकमा बोल्दै एर्डोगानले भने– प्यालेस्टाइन सन् १९४७ देखिनै अधिनष्ठ रहेकोछ , इजरायल एक अतिक्रमणकारी राज्य, आतंकवादी राज्य हो।

एर्डोगानको उक्त कडा टिप्पणीलाई इजरायली प्रधानमन्त्री नेतान्याहुले अपमानित गर्ने बयान भएको बताए। उनले जवाफमा टर्की नेतालाई प्रवचन दिइरहनु नपर्ने बताए।

उनले टर्कीमा कुर्दिस गाउँहरूमा बमबारी गरेकाछन्, पत्रकारहरूलाई बन्दी बनाएको र गाजा तथा अन्य स्थानहरूमा निर्दोषहरूमाथि आक्रमण गर्न आतंककारीलाई सहयोग गरेका छन् –उनले बताए।

यसअघि नेतान्याहुले पेरिसमा राष्टपति इम्यानुयल म्याक्रोंसँगको भेटवार्तामा जेरुसलम ३ हजार बर्ष देखि इजरायलको राजधानी रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्