अपहरित बालिकाको बलात्कारपछि हत्या



नयाँदिल्ली,(एजेन्सी)
भारतको उत्तरी राज्य हरियाणामा एकजना ६ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनालाई लिएर प्रहरीले थुप्रै व्यक्तिलाई सोधपुछ गरिरहेको बताइएको छ। डिसेम्बरको राति अपहरणमा परेकी ती बालिकाको लास आइतबार उनको घरनजिक फेला परेको थियो।
उनको शरीरमा रहेका चोटहरू देखेर भारतीयहरू निकै भयभित भएका छन्। यस घटनालाई धेरैले सन् २०१२ को दिल्लीमा बसमा भएको सामूहिक बलात्कारसँग तुलना गरेका छन्। ती बालिकाकी आमाले आफूहरूले न्याय चाहेको र घटना भएको २४ घन्टा बितिसक्दा पनि प्रहरीले कसैलाई पनि गिरफ्तार गर्न नसकेको बीबीसी हिन्दीका पत्रकार मनोज ढाकालाई बताएकी छिन्।

प्रहरीले ती महिलाका पतिका तीनजना नातेदारलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ। तर अझैसम्म कसैलाई पक्राउ गर्न र घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्न सकेको छैन। यस अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न जनदबाब निकै बढिरहेको कारण सरकारले एउटा विशेष अनुसन्धान टोली गठन गरेको छ। जिल्लाका स्थानीय जनता, कार्यकर्ता र राजनीतिक नेताहरू यस घटनाको विरोध गर्न गाउँमा जम्मा भएका छन्। पीडित परिवारले आफूहरूलाई स्थानीय प्रहरीको विवास नभएको जनाउँदै संघीय प्रहरीबाट अनुसन्धान होस् भनी माग गरिरहेको छ। सडकमा कवाड टिप्ने पेसाका ती बालिकाका पिताले छोरी अपहरित भएको रात आफू काममा रहेको बताएका छन्।

उनले बिहान ब्युँझिँदा आफ्नी पत्नीले आफ्ना छोरीहरूमध्ये एकजना हराएको खबर दिएको बताएका छन्।यी दम्पतीका अन्य दुईजना छोरा र एकजना छोरी छन्। प्रहरीले नजिकको सुकुम्बासी क्षेत्रको कसैले यो अपराध गरेको हुनुपर्ने आशंका गरेका छन्। शुरूमा पीडित परिवारले हत्यारा पक्राउ नपरुन्जेल लासको सदगद नगर्ने अडान लिएर बसेको थियो। तर प्रहरीले चाँडै नै अपराधी समात्ने वचन दिएपछि तिनीहरूले बालिकाको अन्त्येष्टि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्