शंकास्पद राजनीति



प्रतिनिधिसभा र प्रदेशको निर्वाचन परिणाम सार्वजनिक हुने क्रम जारी छ। प्रारम्भिक नतिजाअनुसार बाम गठबन्धन अघि देखिएको छ भने नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन निकै पछि परेको छ। विभिन्न पार्टीका ‘हेविवेट नेता’ हरू अहिलेको निर्वाचनमा लज्जास्पद ढंगले पराजित भएका छन्। कांग्रेसका रामचन्द्र पौडेल, डा. राम शरण महत, अर्जुन नरसिंह केसी, महेश आचार्य, डा. शेखर कोइराला यही सूचीका अनुहार हुन्।

पराजित हुनेमा पूर्वउप–प्रधानमन्त्रीको सूची लामै छ। काँग्रेसका पौडेल, काँग्रेस फर्किएर ठूलै सपना बुनेका विजयकुमार गच्छदार, राप्रपाका कमल थापा, एमालेका बामदेव गौतम, माओवादीका नारायणकाजी श्रेष्ठ, एमालेका वामदेव गौतम अबका केही वर्ष उपप्रधानमन्त्रीको दौडका लागि अयोग्य पात्र ठहरिएका छन्। यस्तै हो भने राजनीतिक बजारमा योग्य उपप्रधानमन्त्रीको खडेरी हुने धरहराको ठहर छ।

अर्को आश्चर्य के भने केही महिनाअघि त के केही साता अघिमात्रै वाम कित्तामा प्रवेश गरेका, कम्युनिस्ट पार्टीको आदर्श र सिद्दान्तका सामान्य कुरासमेत बुझ्न नभ्याएकाहरू यो चुनावमा फटाफट विजयी भएका छन्। वाम गठबन्धनका ‘मुख्य सूत्रधार’ र ‘मुख्य लमी’ भनिएका वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पराजित भएका छन्। गौतम र श्रेष्ठ पराजित हुनु कतै देशी विदेशी शक्तिको चलखेल त हैन ? यसको जवाफ पाऊँ है, पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्