भैरहवा भन्सारको बेथिति हटाऊ



विभिन्न समयमा चर्चामा आउने कार्यालय भैरहवा भन्सार पछिल्लो समय त्यहाँबाट हुने गलत क्रियाकलापको लागि चर्चामा आएको छ। त्यहाँका केही कर्मचारीको मिलेमतोमा एकपटक प्रयोग भइसकेको प्रज्ञापनपत्रको प्रयोग गरी मालसामानसहितका ट्रक भन्सारबाट पास भएको घटना बाहिर आएपछि पनि यस विषयमा नियमन गर्न सम्बन्धित निकाय मौन छ। पटक–पटक चर्चामा आउने भैरहवा भन्सार कार्यालयका कर्मचारी अलि जिम्मेवार बन्न जरुरी छ। यो घटना बाहिर आएपछि कर्मचारीको अवैध तथा कालोकर्तुतको पर्दाफास हुँदासमेत कर्मचारीतन्त्र सफा बनाउन नसक्नु राज्यको कमजोरी हो।

यसअघि पनि एकै प्रज्ञापनको प्रयोग गरी विभिन्न सामान छाडिएको घटना बाहिर आएको थियो। त्यस बेला पनि केही भएन। अहिले कर्मचारीकै मिलेमतोमा एकै प्रज्ञापनपत्रबाट धेरै ट्रक पास गराइने पुनः खुलेपछि दैनिक लाखाँं राजस्व छली भएको स्पष्ट भएको छ। यस्तो हुँदा पनि यसलाई गम्भीरतापूर्वक नहेरिनु लज्जास्पद हो। भर्खरै निर्वाचन सकिएको छ। वाम गठबन्धन दुई तिहाइ पुर्याउन लागिरहेको अवस्थामा यो विषयलाई महत्वको विषय बनाइनुपर्छ।

साउन २६ गते ना ६ ख ५६३५ नम्बरको ट्रकमा रहेको सामानको भन्सार पास गराइएको प्रज्ञापन नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बर रहेको थियो। यो ट्रकमा कपडा १ हजार १७ मिटर र उलन टप २ हजार २ सय ७० बन्डल रहेको र प्रज्ञापनपत्रमा समेत सोही उल्लेख गरी आवश्यक राजस्व ८ लाख ७ सय ४ रुपियाँ तिरेर पास भएको थियो। तर पछि अर्को ना ४ ख ४१२६ नम्बरको ट्रकमा माथिकै प्रज्ञापनपत्र जारी गरी माथिकै सामान पास भयो। तर त्यो सामान पास भएबापत कुनै राजस्व बुझाइएन। कारण प्रयोग भइसकेको प्रज्ञापनमार्फत सामान पास गराइएको थियो। तर यो कुरा भन्सारका केही कर्मचारीले थाहा पाएपछि बाटोबाटै नियन्त्रणमा लिएर भन्सारमा ल्याएका थिए। प्रयोग भइसकेको प्रज्ञापनमार्फत माँ मनकामना इन्टरनेसनल पड्सरीको नाममा सामानहरू आयात भएका थिए। एकपटक प्रयोग भइसकेको प्रज्ञापन पुनः प्रयोग गरी पास गरिएको ट्रकमा प्रज्ञापनमा उल्लेख भएका सामान नभई अन्य सामान थिए।

अब भन्सार कार्यालय, विभाग, अर्थ मन्त्रालयले भन्सारबाट हुने त्यस्ता बेथिति हटाउन सक्छ कि सक्दैन ? त्यसमा संलग्न हुने कर्मचारीलाई कारबाही गर्न सक्छ कि सक्दैन भन्ने आमचासोको विषय हो। आज पुरानो प्रज्ञापन प्रयोग गरी सामान पास भएको ट्रकमा विगतमा पनि यस्तै घटना नभएका होलान् भन्न सकिने अवस्था छैन। उक्त ट्रकमा हतियार, विष्फोटक पदार्थ, गोलाबारुद भएको भए त्यसको जिम्मेवारी कसले लिन्थ्यो ? यो घटनाले मुलुकको सुरक्षा संवेदनशीलतालाई पनि चुनौती दिएको छ। त्यसैले घटनामा संलग्न कर्मचारीहरूको समेत पुष्टि भइसकेकाले सबैलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ। उच्चस्तरीय छानबिन समिति गठन गर्न पनि जरुरी छ। होइन भने यो रोग मौलाउँदै जाने निश्चित छ। यसको छिटो समाधान होस्।
– सुशान्त केसी, भैरहवा

साइबर क्राइमका घटना रोक्न जरुरी
पछिल्लो समयमा विद्युतीय कारोबारअन्तर्गतका साइबर क्राइमका घटनाहरू बढी मात्रामा बाहिर आइरहेका छन्। सञ्चार प्रविधिको प्रयोग अहिलेको आधुनिक समाजमा नगरी सुखै छैन। यसो भनिरहँदा विद्युतीय कारोबारमा अपराधका घटनाले तीव्रता पाउनु चिन्ताको विषय हो। बढ्दो विद्युतीय कारोबारमा खासगरी युवायुवतीहरूले सक्रिय सहभागिता जनाएको पाइन्छ। नेपाली युवाहरूलाई सामाजिक सञ्जाल अर्थात् फेसबुक कुलतसरह भएको छ।

पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग दिन–प्रतिदिन बढ्दै गर्दा सोको प्रयोगलाई गलत बनाइएको छ भने सोही अनुसार अपराधका घटना पनि बाहिर आएका छन्। कहिले हत्या भएका घटना त कहिले लुटपाट तथा कहिले चरित्र हत्याका घटनाहरू बाहिर आएका छन्।

फेसबुकमा कसैको चरित्र हत्या, बदनाम, नैतिक पतनका
क्रियाकलाप साथै हत्यासम्म हुने गरी उक्साउने काम गरिएको भेटिन्छ। विद्युतीय कारोबारबाट कसैको चरित्र हत्या हुने काम गरे साइबर
अपराधमा राज्यले पक्राउ गर्ने भए पनि कार्यान्वयनको प्रक्रिया फितलो हुँदा अपराधले फराकिलो दायरा बनाएको छ।

सामाजिक सञ्जालको प्रयोग व्यवस्थित नहुदाँ समाजमा पछिल्लो समय अप्रिय घटना हुन थालेका छन्, जुन गलत हो। सामाजिक सञ्जालको प्रयोग सही रूपमा गर्न सक्ने हो भने यसबाट फाइदा लिन सकिने भए तापनि बदलाको भावना र आपराधिक मनासाय तथा प्रेमको विछोड र वियोगले यस्ता घटनालाई बढवा दिएको छ। केही महिनाअगाडि पोखरामा नेहा पुन, काठमाडौंमा भेनिसा लिम्बूको हत्या नै भयो भने कतिपयले सामाजिक सञ्जालको प्रयोग गरी लुटपाट तथा अनैतिक सम्बन्ध र यौनकाण्डसमेत बनाएर घरबारविहीनसमेत तुल्याएका घटना बाहिर आएका छन्।

पर्वतकै सन्दर्भलाई हेर्ने हो भने पनि साइबर अपराधका घटना दोहोरिने गरेको छ। विद्युतीय कारोबारअन्तर्गतको ऐन भए तापनि त्यसको बारेमा व्यापक प्रचारप्रसारको खाँचो देखिन्छ। समाजमा आपराधिक मनसायका मानिसको हाबी हुनाले पनि यस्ता घटनाले प्रश्रय पाएका छन्। कतिपय साइबर अपराधका घटना जानेर भएका छन् भने कतिपय अन्जानमा, साथै कसैको लहैलहैमा लागेर पनि हुने गरेका छन्। यस्ता घटनाको न्यूनीकरण गर्नको लागि सरोकारवाला निकायले आवश्यक कदम चाल्न आवश्यक छ। उचित समयमा उचित कदम चाल्नु आवश्यक छ भने अर्कोतर्फ अभिभावकले पनि आफ्ना बालबच्चामाथि निगरानी राख्नु आवश्यक छ।
– शंकर पाण्डेय, काठमाडौं

जितेर मात्तिने र हारेर आत्तिने होइन
भर्खरै सकिएको निर्वाचनको मत परिणाम आउँदै छ। नेपाली कांग्रेस उत्तानो परेको अवस्था छ। वाम गठबन्धनले दुई तिहाइभन्दा बढी मत ल्याउने देखिएको छ। यस्तो अवस्थामा पार्टी र नेताले सोच्नै पर्ने कुरा हारेर आत्तिने र जितेर मात्तिने गर्नुहुँदैन।

जनताको मतको कदर गरेर आफ्नो मत अर्को निर्वाचनसक्म सुरक्षित गर्न वामले विकासका काम गर्न जरुरी छ। विस्तारवाद र साम्राज्यवादको वकालत गर्न छाडेर नेपाली कांग्रेस पनि जनताप्रति बफादार हुँदै गएमा वामले पाएको मतभन्दा बढी कांग्रेसले पाउनेछ। सबैको दिन आउँछ। धैर्य गर्नुपर्छ।
– सागर श्रेष्ठ, भक्तपुर

प्रतिक्रिया दिनुहोस्