राजनीतिक ‘रेक्ट्रोफिट’



भूकम्पले पुर्याएको भौतिक क्षति न्यूनीकरण गर्न ‘रेक्ट्रोफिट’ अर्थात् प्रबलीकरण शब्द निकै प्रयोगमा छ। अढाइ वर्षअघिको गोरखा भूकम्पको पराकम्पन अझै दोहोरिरहेका बेला यो शब्द धेरैको जनजिब्रोमा झुन्डिएको धरहराले सुन्दै आएको छ। तर रेक्ट्रोफिट भन्ने शब्द राजनीतिमा पनि उत्तिकै प्रयोगमा आउने रहेछ भन्ने कुरा पछिल्लो राजनीतिक घटनाक्रमले पुष्टि गरेको छ।

सार्वजनिक भइरहेको चुनावी कम्प निकै चर्किएको छ भने परिणामले धेरै राजनीतिक दलका जग निकै कमजोर बनाएको छ। केही दलको विगतको पृष्ठभूमिसमेत मेटिने निधो भएको छ। नाम निशान मेटिने अवस्थामा पुगेका दलले लगभग शून्य अवस्थादेखि नै दलको पुनर्निर्माणमा जुट्न बाध्य बनाएको छ भने कांग्रेसको जग निकै कमजोर बनाएकाले सामान्य ‘रेक्ट्रोफिट’ गरेर हुन्न।

चुनावी परिणामसँगै वाम गठबन्धनको संगठनले भार थेग्न गाह्रो पर्ने भएकाले अनिवार्य ‘रेक्ट्रोफिट’ गर्नुपर्ने देखिएको छ। दायाँ–बाँया टेका र सपोट वाल दिएर हुन्न। त्यसैले भूकम्पपछिको पुनर्निर्माणमा जसरी तालिम प्राप्त डकर्मी र भूकम्प प्रतिरोधी घरको आवश्यकता औंल्याइएको छ, त्यसै गरी अब राजनीतिक बजारमा पनि एक्कासि तालिमप्राप्त राजनीतिक डकर्मीको खाँचो बढेको छ। मुलुकमा तत्काल तालिमप्राप्त राजनीतिक डकर्मीको अभाव हुने भएपछि छिमेकी मुलुकका डकर्मीले तालिमका लागि निकै चासो बढाइरहेको धरहराले बुझ्या छ।

प्रतिक्रिया दिनुहोस्