कास्कीमा कांग्रेसको जोगियो इज्जत



धन बस्नेत, पोखरा

कास्की क्षेत्र न. २ प्रदेश खका उम्मेदवार विन्दुकुमार थापाले जित्दै नेपाली काँग्रेस कास्कीको इज्जतलाई जोगाएका छन्। बाम गठबन्धनका राजकाजी गुरुङ करणलाई ८०२ मतले पराजित गर्दै कास्कीमा एक्लो बृहस्पतिको रुपमा थापा उदाए।

थापाले १० हजार ७२६ मत ल्याएका थिए। गुरुङले भने ९ हजार ९ सय २४ मत पाए। काँगे्रसबाटै बागी उठेका नरेशशंकर पालिखेले ११५८ मत पाएका थिए। चेपुवा परेर पनि चुनाव जित्दै थापाले काँग्रेसलाई बाम गठबन्धनको क्लिन स्वीप हुनबाट जोगाए। यद्यपी गुरुङ २०७० सालको चुनावमा पर्वतबाट समेत पराजित भएका थिए। गुरुङले २०६४ सालको पहिलो संविधान सभाको चुनावमा भने तत्कालिन कास्की क्षेत्र नं २ बाट विजयी भएका थिए।

पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष थापा निकै सरल स्वभावका छन्। “पर्यटन, ऊर्जा, कृषि र दक्षजनशक्ति” नारा लिई चुनावी अभियानमा हिडेका थापाले अब पाँच वर्ष आफनो नारासहितको प्रतिबद्धतालाई कार्यान्वयन गर्ने बताएका छन्।

उनले निर्वाचित भएपछि सविधानको सफलतापुर्वक कार्यान्वयन पहिलो आवश्यकता भएको बताए। त्यसपछि पोखराको समग्र विकास गर्दै समृद्धिको अभियानमा लाग्ने उनको भनाई थियो। उनले पोखराको अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राखी तदारुकता दिने, पोखराको बसपार्क निर्माण, सुकुम्बासी समस्याका व्यवस्थित व्यवस्थापन, खेलकुदको पुर्वाधार विकासमा आफनो प्रमुख अभियान रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्