निर्वाचनलाई निष्पक्ष बनाऊ



संविधान कार्यान्वयनअन्तर्गत आज प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदै छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरुले काम थालिसकेका छन् । संविधान कार्यान्वयनअन्तर्गत पहिलो चरणमा मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइसकेको छ । यो प्रतिनिधिसभा र प्रदेशको निर्वाचनलाई निकै महत्वको साथ हेरिएको छ । संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष मानिएको निर्वाचनमार्फत देश समृद्धि र विकासको गतिमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउने, धाँधलीरहित ढंगेल सम्पन्न गर्ने र जनताको मतको सम्मान गर्ने वातावरण सृजना गर्ने काम सरकारको हो । निर्वाचनलाई निष्पक्ष बनाउनको लागि सरकारले पारदर्शी ढंगले काम गर्नुपर्छ । सरकारले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउने ठाउँ दिनुहुँदैन । सबै मतदातालाई ढुक्क भएर मतदान गर्ने अवस्था बनाउनुपर्छ । आगामी पाँच वर्षको लागि जनताले आफ्ना जनप्रतिनिधिहरु चुन्ने हुँदा यस निर्वाचनलाई निष्पक्ष बनाउन कुनै कसरत पनि बाँकी राख्नुहुँदैन । विगतका निर्वाचनमा पनि बुथ कब्जा गरेको, धाँधली गरेको भन्दै छानबिनको लागि आयोगसमेत गठन भएका दृष्टान्त रहेका छन् ।

यसपटकको निर्वाचनमा सरकारले आफ्नो शक्तिको दुरुपयोग नगरी जनताको मतको सम्मान गर्ने ढंगले काम गर्नुपर्छ । निर्वाचन पटक–पटक हुँदैन । पाँच वर्षमा एकपटक हुने निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउँदा नै जनताले आफूले रोजेका व्यक्तिहरुलाई निर्वाचित गराउने मौका पाउँछन् । निर्वाचनमा हुने गलत क्रियाकलापलाई निस्तेज पार्ने कार्यमा निर्वाचन आयोगले खेल्ने भूमिका पनि महत्वपूर्ण हुन्छ । निर्वाचन आयोगकबाट खटिने कर्मचारीहरुले पनि दलको पक्षपोषण नगरी निष्पक्षरुपमा निर्वाचन गराउने वातावरण निर्माणमा भूमिका खेल्नुपर्छ । निर्वाचनलाई कहीँ–कतैबाट पनि धाँधली बनाउने गलत क्रियाकलापको विरुद्ध सम्बन्धित निकाय चनाखो हुनुपर्छ ।

निर्वाचनमा मतदाताहरुले कोहीबाट प्रभावित भएरभन्दा पनि आफ्नो प्रतिनिधि स्वतन्त्रतापूर्वक चुन्नुपर्छ । मतदातालाई डर–त्रासको वातावरण सृजना गर्ने समूहलाई सुरक्षा निकायले निस्तेज गर्नुपर्छ । मतदान केन्द्रमा फर्जी मतदान गर्नबाट रोक्ने र मतदान केन्द्रमा निर्भिकताका साथ मतदान गर्ने वातावरण सुरक्षा निकायले सृजना गर्नुपर्छ । निर्वाचन विश्वसनीय, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउने कार्यमा सरकार, निर्वाचन आयोग र राजनीतिक दलले भूमिका निर्वाह गर्नुपर्छ । जनताको दिने मत नै निर्णायक हुने भएकाले निर्वाचनमा धाँधली गर्ने, हुलहुज्जत गर्ने र गलत क्रियाकलाप गर्नेको विरुद्ध सरकारले कडारुपमा कदम चाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्