प्रहरीलाई पहिलोपटक नमूना मतदान



हेटौंडा, (नेस)
मतदान केन्द्रको सुरक्षासम्बन्धमा प्रहरी कर्मचारी र म्यादी प्रहरीलाई तालिम प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निर्वाचन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा मतदान केन्द्रको सुरक्षासम्बन्धी तालिम दिइएको हो।

जिल्ला प्रहरी कार्यालयपरिसरमा नमूना मतदान गरेर निर्वाचनको समयमा प्रहरीको भूमिका र निर्वाह गर्नुपर्ने भूमिकाबारे अभिमुखीकरण गरिएको हो। नमूना मतदानमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले प्रहरीहरुलाई मतपेटिका सुरक्षा, शान्त वातावरणका लागि प्रहरीको भूमिकाबारे जानकारी दिनुभएको थियो। निर्वाचन कार्यालयका सूचना अधिकारी दिनेश श्रेष्ठले मतदान अधिकृतको काम र मतदान अधिकृतको निर्देशनबारे प्रहरीलाई जानकारी गराउनुभएको थियो।

अभिमुखीकरणका क्रममा प्रहरी कर्मचारी र म्यादी कर्मचारीले मतदान केन्द्रको सुरक्षामा ध्यान दिनुपर्ने पक्ष र मतदान प्रक्रियाका विषयमा जानकारी गराउने उद्देश्यले नमूना मतदान कार्यक्रम गरिएको हो। म्यादी प्रहरीसहितलाई मतदान केन्द्रमा मतदातालाई सहजीकरण गर्ने र सुरक्षा सतर्कता अपनाउने विषयमा सचेत गराइएको थियो।

मकवानपुरमा कार्यरत सबै प्रहरी कर्मचारी र म्यादी प्रहरीलाई शनिबार र आइतबार २ दिन नमूना मतदान कार्यक्रममा सहभागी गराएर सचेत गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीपराज झाले जानकारी दिनुभयो।

डीएसपी झाका अनुसार निर्वाचनमा खटिने १ हजार ६ जना प्रहरी कर्मचारी र १ हजार ३ सय ३८ म्यादी प्रहरीलाई नमूना मतदानमा सहभागी गराइएको छ। प्रहरीलाई नमूना मतदानमा सहभागी गराइएको यो पहिलो पटक हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खनालले सुरक्षा निकायका तर्फबाट कुनै किसिमको समस्या नहोस् र निर्वाचन प्रक्रियामा महत्त्वपूर्ण चरण मतदानलाई सहज र सफल बनाउन प्रहरीलाई आवश्यक सचेतना अभिवृद्धि गराउने प्रयास भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्