गाउँमा पुगेन मतदाता शिक्षा



हेटौंडा, (नेस)
मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मकवानपुरका मतदातामा मतदाता शिक्षा नहुँदा आफ्नो मत सदुपयोग नहुने भन्दै मतदाता चिन्तित बनेका छन्।

निर्वाचन आयोगमार्फत् दिइने मतदाता शिक्षा कार्यकर्ता अझ सबै ठाउँमा नपुग्दा स्थानीय मत कसरी हाल्ने भन्ने चिन्तामा मात्र परेका छैनन्, आफ्नो मत बदर हुने भन्दै चिन्तित भएका छन्।

मकवानपुर सदरमुकाम हेटौंडाको सीमा जोडिएको आमभञ्ज्याङका स्थानीयले मतदान कसरी गर्ने भन्ने अझै थाहा नभएको बताए। सदरमुकामनजिक भए पनि आमभञ्ज्याङकै मात्र होइन, जिल्लाका अधिकांश स्थानमा मतदाता शिक्षा कार्यकर्ता पुग्न नसक्दा स्थानीयले मतदान कसरी गर्ने भन्ने अन्योलमा छन्।

मतदान गर्न लालायित मतदाताहरु मतदाता शिक्षा अभावमा आफ्नो मत खेरजाने चिन्ताले यतिबेला दुःखी छन्। करिब १ महिनाअघिबाट मतदाता शिक्षा कार्यकर्ता परिचालन भए पनि निर्वाचन हुने दिननजिक आइसक्दासमेत निर्वाचन कार्यालयकै नजिकका गाउँपालिकामा मतदाता शिक्षा कर्मचारी, कार्यकर्ता पुगेका छैनन्। मतदातामा मतदाता शिक्षा नपुगेको भन्दै निराशा छाइरहेको बेला जिल्ला निर्वाचन मकवानपुरका निर्वाचन अधिकृत गोविन्दप्रसाद पौडेल भने मतदाता शिक्षा केही स्थानमा छुटेको भए पनि सबै स्थानमा पुगेको दाबी गर्नुहुन्छ।

वैशाख ३१ मा भएको स्थानीय निकायको निर्वाचनमा निकै मत बदर रहेको अवस्थालाई मध्यनजर गर्ने हो भने यसपटक पनि बदर मतको संख्या बढी हुने सम्भावना मकवानपुरमा छ। मतदाता शिक्षा दिनु दलहरुको पनि कर्तव्य हो, तर राजनीतिक दलसमेत चुनाबी एजेन्डा, विकासका आश्वासन मात्र बोकेर गाउँ जान्छन्। तर, मतदातालाई मत हाल्न सिकाउने विषयमा त्यति चासो नदिँदा पनि यस्तो अवस्था आएको हो।

३ सय २४ मतदान केन्द्रमा ३ लाख २० हजार मतदाताले मतदान गर्दैगर्दा उत्साहित हुने समयमा निराश हुनु सही होइन। त्यसैले जिल्ला निर्वाचन कार्यालयले छुटेका गाउँपालिकामा तत्काल मतदाता शिक्षा दिएर जिल्लाको बदर मत घटाउनेतर्फ सोच्नुपर्ने स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्