नेपालद्वारा युएईसामू २२२ रनको लक्ष्य प्रस्तुत



काठमाडौं ।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य पेश गरेको छ ।

युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकर अर्धशतकीय पारीको सहयोगमा ६ विकेट गुमाएर २२१ रन जोड्न सफल भएको छ ।

शरद भेषावकरले ८१ रनको योगदान गर्न सफल भए जसको सहयोगमा नेपालले सम्मानित रन बटुल्न सफल बन्यो । तेस्रो नम्बरमा ब्याटिङमा आएका भेषावकरले ९५ बल खेलेर ५ चौका प्रहार गरेका थिए ।

टिमको रन ४३ हुँदा पहिलो विकेटका रुपमा नेपालले १४.५ ओभरमा दिलिप नाथलाई व्यक्तिगत १६ रनमा गुमाएको थियो । नेपालले ८४ रन बनाउँदा दोस्रो विकेट गुमायो ।

अर्का ओपनर ज्ञानेन्द्र मल्ल ५४ रनमा एलबीडब्ल्यू आउट भए । ८३ बल खेलेका ज्ञानेन्द्रले ६ चौका प्रहार गरेका थिए ।

त्यसपछि आएका कप्तान पारस खड्काले २० रनमात्र जोड्न सके ।छैटौं नम्बरमा आएका बिनोद भण्डारीले पनि ४ रनमात्र बनाउन सके । सोमपाल कामीले १९ बलमा ३ चौकाको सहयोगमा नेपालको खातामा २० रन जोडे ।

नेपालका लागि बसन्त रेग्मीले १४ रन बनाए । बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले १–१ विकेट लिए ।
नेपाली टोली युएईले केहिबेरमा जवाफी ब्याटिङमा उत्रिने छ ।

प्रतिक्रिया दिनुहोस्