साइबर क्राइम लागू गर



सामाजिक सञ्जालमा जे मन लाग्यो त्यही पोस्ट गर्ने प्रवृत्ति बन्द गरिनुपर्छ। फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा जे मन लाग्यो त्यही पोस्ट गर्नेहरुलाई कानुनी दायरामा ल्याउन जरुरी छ। समाजमा नकारात्मक असर पार्ने खालका कुराहरु आउने विषयमा सबै गम्भीर हुनु जरुरी छ। अर्को डरलाग्दो विषय अनलाइनको पनि छ। छ्याप्छ्याप्ती खुलेका अनलाइनले पनि समाजमा नकारात्मक सन्देशमेत दिएका छन्। भ्रामक र कपोलकल्पित समाचार बनाएर सार्वजनिक हुने मात्रै हैन, छाडा कुरा र यौनकथा तथा फेसबुकमा सेक्स भिडियोसमेत मनलाग्दी तरिकाले पोस्ट गरिँदा यसले पार्ने असर र प्रभावको बारेमा ख्याल गरिएको हुँदैन। यस्तो संवेदनशील वियषयमा नियमनकारी निकायले केही गरेको छैन।

व्यक्तिगतरुपमा मिडिया पावर देखाउन खुलेका अनलाइन पनि करको दायरामा आएको पाइँदैन। उनीहरुले जे मन लाग्यो त्यही र जस्तो मन लाग्यो त्यस्तै समाचार पोस्ट गरेको पाइएको छ। सामाजिक सञ्जालमा केही मान्छेले नेता तथा अन्य व्यक्तिका विषयमा नराम्रा र अश्लील किसिमका फोटा बनाएर तथा गाली बेइज्जती गरेर गरेका पोस्टका विषयमा प्रहरी प्रशासन मौन हुनुहुँदैन।

निर्वाचनका मुखमा भइरहेका यस्ता गतिविधिले विभिन्न हिंसात्मक क्रियाकलापमा टेवा पुग्न सक्छ। व्यक्तिगत मानहानी गरी गरिएका यस्ता पोस्टको छानबिन गरी प्रशासनले हदैसम्मको कार्वाहीको शुरुवात गरेमा यस्ता गलत क्रियाकलाप नियन्त्रण हुने थिए। निर्वाचन आयोगले मौन अवधिमा अनुगमन गर्ने टोली बनाएको छ। यसले समाजिक सञ्जालको पनि व्यापकरुपमा अनुगमन गर्न जरुरी छ। साथै साइबर क्राइम लागू गर्नु जरुरी छ। यो विषयमा सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्यो।
– सरस्वती चापागाईं, चोभार, काठमाडौं

खेतीमा आधुनिक प्रणालीको खाँचो

‘मै दुःखी किसान, गाह्रो भयो जीवन बिताउन’ बोलको गीत जीवन शर्माले धेरै पहिल्यै गाएका हुन्। उनले गीत गाउँदाको अवस्थामा आधुनिक प्रविधि थोरै मात्र भित्रिएको थियो। त्यति बेलाको किसानको समस्या झल्काउने गीतले अहिले पनि त्यत्तिकै सान्दर्भिकता पाएको छ। नेपाल कृषिप्रधान देश हो। यो देशमा धेरैको घर धान्ने पेसा कृषि हो।

हुन त कतिपयले व्यावसायिकरुपमा कृषि पेसालाई नअंगालेका होइनन्। तर सरकार भने सधैँ कृषिको आयातमा अग्रपंक्तिमा उभिएको छ। आफ्नै बारीमा फलाएर आफ्नै जनतालाई पुर्याउन सक्ने हुत्ती सरकारमा देखिएन। यसले गर्दा हामी किसान सधैँ मर्कामा पर्ने गरेका छौं । यो विषयमा कृषि मन्त्रालय र विभागले ध्यान दिन जरुरी छ।

परम्परागतरुपमा गरिएको खेती–किसानीलाई व्यावसायिक बनाउने खालका कार्यक्रम अब आउन जरुरी देखिन्छ। अब आधुनिक खेतीमा ध्यान दिनु जरुरी छ।

– विपिन शिवाकोटी, भरतपुर, चितवन

अधिकार माग्दा कुटाइ खाने ?

नेपाल सरकारले विभिन्न आरक्षण कोटा सार्वजनिक सवारीसाधनमा अनिवार्य गराएको छ। विद्यार्थीलाई ४५ प्रतिशत छुट पनि भनेको छ। राजधानीमा त देखाउनलाई भए पनि लागू भएको होला तर हाम्रो जस्तो दूरदराजका गाउँमा यातायात व्यवसायीको मनोमानी छ। अशक्त, वृद्ध, महिला कसैलाई कोटा छुट्याइएको छैन। विद्यार्थीले छुट माग्दा कुटाइ खाने डर छ। विद्यार्थी र आरक्षण पाउने मान्छे राजधानीमा मात्रै छैनन्।
सरकारले यो विषयमा नीतिगतरुपमै पहल गर्नु जरुरी छ। विभिन्न विद्यार्थी संघठन र अधिकारकर्मीले पनि यो विषयमा आवाज उठाउन जरुरी देखिन्छ। नेपाल सरकारको सम्बन्धित निकायले यो विषयमा उनुसन्धान र अनुगमन गरी समस्याको समधान निकाल्नु जरुरी देखिएको छ। यो विषयमा सवारीचालक र परिचालक तथा सवारीधनीलाई सरकारी क्षेत्रबाट जानकार बनाउन पनि जरुरी देखिएको छ। साना सवारीसाधन मात्रै हैन लामो यात्राका नाइट बसले पनि कुनै छुट दिएका छैनन्।

– सुरेश आचार्य, लमही, दाङ

राजधानीमा पार्किङ हब बनाउन जरुरी

काठमाडौंमा पार्किङको समस्याले निकै समस्या झेल्नुपरेको छ। उपत्यकामा पार्किङको समस्या समाधान गर्न सरकारले हब बनाउन जरुरी देखिन्छ। आवतजावत बढी हुँदा बजार ठूलो हुन्छ। बजार ठूलो भएपछि गाडी धेरै हुन्छन्। त्यसैले गाडी सुरक्षित तरिकाले राख्ने ठाउँ पनि हुन जरुरी छ। तर पार्किङ नहुँदा र जथाभावी पार्किङ गर्नुपर्दा सबैको टाउको दुखाइ भएको छ।

महानगरपालिकालाई गाडी ओसार्न भ्याइ–नभ्याइ छ भने हामीले पार्किङ गर्ने ठाउँ नपाएर हैरान बेहोर्नुपरेको छ। उचित पार्किङ व्यवस्थापनका लागि केन्द्रीय स्तरबाटै पहलकदमी चाल्न जरुरी देखिन्छ। दिनानुदिन बढिरहेको गाडीको चापले पनि पार्किङको समस्या झनै चर्कने देखिएको छ। समयमै यसको समस्या समाधान नगरे पछिल्ला दिनमा निकै समस्या हामी सबैले झेल्नुपर्ने हुन्छ ।

सानो ठाउँ, त्यसमा पनि यति धेरै गाडीको चाप र पार्किङ व्यवस्थापन चुनौतीको विषय भएको छ। जामको समस्या पनि निकै हुने गरेको छ। यो पनि पार्किङको कारणले गर्दा भएको जस्तो लागेको छ। पार्किङ हब बनाएर हरतरहले यसको व्यवस्थापन गर्न जरुरी भइसकेको छ।
– राजु महर्जन, काठमाडौं

प्रतिक्रिया दिनुहोस्