नउठेका एजेन्डा र चुनावी विश्लेषण



पेशल आचार्य

चुनावी घनचक्करमा छ देश। करिब ५० अर्बको चुनावी उद्योगले देशैलाई थाङ्थिलो बनाएको छ। नेता, कार्यकर्ता, समर्थक र आम भोटर बेफुर्सदी रफ्तारमा बढेका छन्। चुनावका डिजाइनहरूमध्ये देशी र विदेशी तत्वमै पनि न दिनको भोक, न रातको निद्रा भएको अवस्था छ। चुनाव आयोग र सरकार मात्र क्रियाशील छैनन्, यतिखेर नेपालस्थित केही एम्बेसीसमेत चुनावमा राम्रै गरी लागेका छन्। यसैलाई शायद ‘ओपन सेक्रेट’ पनि भनिन्छ।

यस्तो लाग्छ, जुवाको खाल भएको छ देश अनि जुवाडे भएका छन् सबै नेताहरू। देखावटीमा मात्र विदेशी एजेन्डा कम र नेपाली एजेन्डा बढी प्रचारमा आएका छन् तर भित्री पाटो त्यस्तो हुन्न। भित्र अनेकौं चक्रव्यूह रचना गरेर षड्यन्त्रका तानाबाना बुनिएका छन्। ठूला–ठूला जाल बिच्छ्याइएका छन्। डरलाग्दो कुरा त अहिले अकूत धनराशिको दोहन गरेर यो चुनाव पद्धतिलाई नै पार्टीहरूले महँगो तुल्याइदिएका छन्। आदर्शवादी नेताको सानो खर्चमा निष्ठाको भारी अब बेकम्मा भयो। पाएको टिकट पनि बिक्री गर्न बाध्य छन् कतिपय नेताहरू। अर्कातिर समानुपातिकका टिकटहरू टेन्डरमा राखिएका खबरसमेत अखबारी चर्चामा आए।

वाम र लोकतान्त्रिक गठबन्धनका नाममा एकातिर जनता रनभुल्ल छन् भने अर्कातिर ठूला नेता जिताउनकै लागि चुनावी ‘म्याच फिक्सिङ’ का कथाहरू पनि पत्रिकामा छताछुल्ल भई पोखिए। आचारसंहिता उल्लंघनमा भने शक्तिशालीले ह्याकुलाले पेल्दा जनता रनभुल्लमा परे। कुन पार्टी, नेता, समूह, गठबन्धन र विचारका कुरा सुनौं ? चियापसल, घर, खेत, बारी, कान्ला र घाँसपरालमा समेत नेता यतिखेर सजिलै उपलब्ध भएका छन्, चुनाव जितेपछि ती पाँच वर्षका लागि ‘सट्कदम्’ हुन्छन्। जुन बेला जनतालाई नेताको अति खाँचो पर्छ त्यो बेला नेता स्यालको सिङझैँ हराउँछन्। यतिखेर भने कोठा, चोटा, फोटा अनि गफमा, सपमा र हाँपझाँप शैलीमा नेता उपलब्ध छन्। माला, खादा र अबिरको बेजात्रा देखिन्छ।

भ्रष्टाचार नै अहिले नेपाली नेताहरूको सदाचार भएको छ। मन्त्री भएर नीतिगत भ्रष्टाचार गर्न पावरवालाहरूलाई उक्साउने अनि देशी–विदेशी कम्पनी, व्यापारी, नाफाखोर, जम्माखोर, कमिसनचोर, डन र धनवादी माफिया, कालोबजारी, दलाल र बिचौलियाहरूका हजुरमा ज–जसले गतिलो सेवा पुर्याउन सक्छ, जो ती अदृश्य शक्तिकेन्द्रका गतिला आज्ञाकारी अनुचर हुनसक्छन्, उही नै समाजमा ‘नेतारूपी मास्क’ लगाएर साइँदुवा र पानीमाथिको ओभानो बनी जनताका सपनामा दाइँ गर्दै देशैको नेता र पार्टीको मसिहा बन्छ।

नेपालमा यी भन्दा सजिला नेता बन्ने बाटाहरू सबै बन्द भए। वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठका शब्दमा ‘निकृष्ट मानिसहरूको अन्तिम लक्ष्य भनेकै राजनीति हो।’ यो भनाइमा अतुल पीडा र तीतो सत्य लुकेको छ, जसको विश्लेषण एकछिन् र एकदिनमा हुँदैन, वर्षौंवर्ष लाग्न सक्छ।
जनताका अन्तहीन दुःख दोहन गर्न यतिखेर नेपालमा विकासे पुनर्जागरण आवश्यक छ। स्वास्थ्य, शिक्षा, सडक, विद्युत्, टेलिफोन, स्मार्ट सिटी, मोनो रेल र केबुलकार हाम्रा जीवन गतिलाई उच्च प्रवाहमान् गर्ने साधन हुन सक्छन् तर सम्पूर्ण देशभक्त, व्यवस्थाप्रेमी, इमानदार र आज्ञाकारी जनजनले चाहेको भ्रष्टाचार, अनाचार, दुराचार, व्यभिचार र पापाचार मुक्त समाज नै हो। जहाँ राज्य अभिभावक बनोस् र जनता परिवारका परिश्रमी सदस्य बनून। देशैभरिका चुनावी क्षेत्रका सबै नेता र कार्यकर्ताहरू मूल्याङ्कनको कसीमा आउन सक्दैनन्। केही हेभिवेट भनिएका र चुनावपछि सत्ताको बागडोर सम्हाल्न सक्ने नेताहरूका चुनावी क्षेत्र पर्यावलोकन गरेका खण्डमा हामी के निष्कर्षमा पुग्न सक्छौं भने, यो चुनावमा कम्तीमा पनि लोकतन्त्र संस्थागत गर्न सबै पार्टीबाट हाम्रा होइन राम्रा नेता जिताउनु आवश्यक छ। सुन्दा यो कुरा मीठो लागे पनि व्यवहारमा निकै कडा हुन्छ।

राजनीतिमा प्रचूर सम्भावना र भविष्य बोकेका झापाका विश्वप्रकाश शर्मा र माओवादी केन्द्रका राम कार्कीमध्ये एकजना चुनावी प्रतिस्पर्धामा पछारिने निश्चित छ। शर्माले पराजय भोगे उनको संसदीय राजनीति मात्र पाँच वर्षका लागि स्थगित हुने हो तर कार्कीको भने राजनीतिक जीवनमा गतिलै अवरोध पुग्न सक्छ। सिन्धुलीबाट हाम्फालेर झापा गई चुनाव लड्नु उनलाई फलामे चिउरा चपाउनुसरहझैँ छ। झापामै कृष्ण सिटौला र राजेन्द्र लिङ्देनको चुनावलाई रोमाञ्चकरूपले हेरिएको छ। दुवैको उपस्थिति संसद्मा हुनु स्वाभाविक भए पनि यतिखेर वामगठबन्धन अर्को धर्मसंकटमा फँसेको छ। आन्तरिक सर्कुलर गरेर आफ्ना कार्यकर्ता र भोटरलाई आदेश दिऊँ राप्रपासँग ठूलो धोकाघडी हुने, नदिँदा कृष्ण सिटौलाजस्ता गह्रौं व्यक्तित्व संसद् प्रवेश गर्नमा वञ्चित हुने।

कांग्रेसले यो विषयमा बुद्धि नपुर्याएकै हो। जब तालमेलको स्थिति आयो त्यो बेला आफ्ना हेभिवेटलाई सेफ जोनमा टिकट दिनुपर्दथ्यो। ‘मेरा गोरुको बाहै्र टक्का’मा राजनीति अडिएपछि नै मोरङमा महेश आचार्य, माओवादीका अमनलाल मोदी र डा. शेखर कोइराला एमालेका लालबाबु पण्डितसँग असिनपसिन भएर चुनावी संग्राममा भिडिरहेका छन्। शेखरले हारे पनि पार्टी राजनीतिमा क्रियाशील हुन सक्छन् तर लालबाबुको हार भयो भने उनले उठाएको इस्सुको स्खलनसँगै राजनीतिक जीवनमा नराम्रो धक्का पुग्छ।

यही अवस्था धनुषामा विमलेन्द्र निधि र राजेन्द्र महतोको छ। लोकप्रियता र मास लिडिङ क्यापसिटी भएका निधिले राजेन्द्रसँग चुनाव हारिहाले भने उनी पार्टी राजनीतिमा उपसभापतिको बार्गेनिङ गरी संसदीय राजनीतिक करिअर उकास्न अर्को पाँच वर्ष प्रयत्नरत हुनुपर्छ भने महतोको भने राजनीतिक कत्लेआम नै हुन्छ। विगतको व्यवहारका कारण उनी देशको समग्र नेता हुन नसकिरहेका अवस्थामा हुने चुनावी अवसान उनी र उनको पार्टीलाई भने ठूलो क्षति हुन्छ। जननजरबाट यति स–साना कुरा पनि देखिन्छन् भने नेतृत्व तहबाट किन नदेखिएका होलान् ? आममानिस प्रश्न गरिरहेका छन्।

वाम गठबन्धनका नेता तथा एमाले अध्यक्ष केपी ओलीको बोली यतिखेर निकै तड्को छ। उनी कांग्रेसलाई हियाएर र तल्लो स्तरमा झरेर बोलिरहेका छन्– ‘चुनावपछि कांग्रेस बट्टामा मात्र सीमित हुन्छ। बीपी बाँचिरहेका भए एमाले प्रवेश गर्थे। नेपाली कांग्रेसलाई चुनावपछि जनताले भोग्न नपर्ने तर पढ्न पाउने भए। नेपालमा अब ५० वर्षसम्म वामपन्थीकै सरकार हुन्छ।’ आदि भनाइलाई मिहिन विश्लेषण गर्ने हो भने नेतामा भिजन सकिँदै गएको आभास देखिन्छ। उनले आँकेजस्तै कांग्रेस पार्टी मात्र हो कि अभियान हो ?

संसार अहिले पूर्वमालेले झापामा वर्गशत्रु सफाया नाममा टाउको काटेको समयमा पक्कै नहोला। अभूतपर्व तक्निकी विकास, सूचनाको विश्वव्यापीकरण, ग्लोबलाइजेसन र जनताको चेतनाको अकाशिँदो फैलावटले अहिले कुनै पनि मानिस कसैको दास बन्न सक्ने अवस्थामा छैनन्। चाहना र रूचिमा विश्वका हरेक वस्तु, सिद्धान्त, कला, खेल, राजनीति र अध्ययन मानिसका समीप रहेका छन्। कोही कसैसँग झुक्न चाहँदैनन्। कसैलाई बल मिच्याइँ गरेर मुठीको माखा बनाउन सकिँदैन। राज्य, भाषा, जाति, वर्ग, विचार, सिद्धान्त र आदर्शका सिकन्जाहरू द्रुतत्तर गतिमा फत्फती गलेर ग्याल्बनाइज भएका छन्। युवावर्ग र जोशिला कार्यकर्ताहरू प्रौढ र वृद्ध नेताभन्दा धेरै अघि देखिन्छन्। तिनीहरू सुदूर भविष्यलाई नियालिरहेका छन्। आमनेताचाहिँ वर्तमान चुनाव र सत्तारोहणमै लालायित छन्।

घुमिफिरी यो चुनावपछि पनि प्रधानमन्त्री हुनेमा यिनै पुष्पकमल दाहाल, केपी ओली, शेरबहादुर देउवा र आकाशै खस्यो भने उपेन्द्र यादवसम्म हुने हुन्। पाँचौं र नयाँ व्यक्तिको प्रधानमन्त्री हुन सक्ने सिनारियो यो चुनावले देखाएकै छैन। वामलाई चुनाव जितेर सरकारमा गई काम गर्न भनेजति सजिलो त कहाँ छ र ? यिनीहरूमाथि पनि विदेशीका आग्रह, लगानी र चाहनाहरू स्पष्ट देखिन्छन् जसको पुष्टिका लागि विगतका यिनीहरूका कार्य, सोच, व्यवहार हेर्दा नै स्पष्ट भइन्छ। यिनीहरूले टिकट दिएर जे–जस्ता मानिसलाई उम्मेदवार बनाएका छन् तिनीहरूको व्यक्तित्वको ‘स्वट एनालाइसिस’ गर्दा पनि थाहा पाउन सकिन्छ। भनौं न, दीपक मनाङ्गे र गणेश लामाजस्ताको राजनीतिक यात्रा शुभारम्भ भएपछि के पार्टीले ठाकुर गैरे र धनराज गुरुङजस्तालाई सिध्याउनै खोजेको हो त ? युवापुस्तामा आशलाग्दा नेताका रूपमा उदाएका गगन थापा, प्रदीप पौड्याल र घनश्याम भुसालजस्तालाई पछि पार्नै खोजेको हो ? भुसाललाई लोकतान्त्रिक गठबन्धनका दीपक बोहराले कडा टक्कर दिएका छन्। गगन थापा लोकतान्त्रिक आन्दोलनका लागि व्यक्ति नभएर प्रवृत्ति पनि हुन् भने भुसाल कम्युनिस्ट राजनीतिमा वैचारिक शुद्धिबाहक उम्दा नेता हुन्। वार कि पारको स्थिति गराएर उम्मेवारलाई डेन्जर जोनमा उठाउनु र कूटिल राजनीतिमार्फत ‘म्याच फिक्सिङ’ को कुरा गर्नु सम्पूर्ण जनताप्रति नेताको घात हो।

कतिपय मानिस के पनि भन्न थालेका छन् भने, अब यस्तो फोहोरी खेलको अन्त्यकै लागि नेपालमा तेस्रो शक्ति उठान जरुरी छ। विवेकशील साझाजस्ता पार्टीहरूमा चेतनशील, बौद्धिक, विदेशमा रहेका सक्षम युवाको रुझान त्यसकै द्योतक हो। लोकतन्त्रको मेरुदण्ड भनेको स्वच्छ, निष्पक्ष, भयरहित र आवधिक चुनाव हो। यो कुरालाई टेकेर वाम र लोकतान्त्तिक समूह जसले जिते पनि राम्रा मानिसले जितून्। जितेका मानिसले सरकार गठन–विगठनमा देखिने र नदेखिने विकृतिका दोहन गर्दै देशलाई समृद्धि पथमा दौडाऊन्। अहिलेको समग्र चाहना यत्ति हो। आशावादीरूपमा के भन्न सकिन्छ भने, अबको पाँच वर्षपछि हुने चुनावमा यस्तो माहोल रहन्न। कि त राजनीति क्रमिक सुधारिएर ट्रयाकमा आउनै पर्छ, होइन भने यस्तो खर्चले थेग्नै नसक्ने चुनावको हामीकहाँ कुनै माने⁄मतलव रहनेछैन।

‘चुनाव जित्नै देशी–विदेशी तत्वका अघि हात पसार्यो, जितिसकेपछि अर्को चुनाव जित्नका लागि नीतिगत र संस्थागत भ्रष्टाचार गर्दै दलाल, माफिया, बिचौलिया र कार्टेलिङमा लिप्त शक्तिका अनुकूल कानुन बनाएर शरणागत भई अर्को पाँच वर्षपछि हुने चुनावका लागि अकूत धनराशि जम्मा गर्न पूरै राज्यशक्तिको दोहनमा लिप्त भयो’ –विवेकशील साझाका प्रवक्ता तथा काठमाडौँ–२ का उम्मेदवार डा. सर्वराज आचार्यको भनाइ कम्ती मार्मिक र सामयिक छैन। यो भनाइसँग यतिखेर भोटरका रूपमा बहुमतमा रहेका करिब ८० लाख युवा मतदाता आकर्षित हुने स्थिति क्रमशः नजिक–नजिक बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्