निर्वाचनलाई भयरहित बनाऊ



प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रो चरणको निर्वाचनमा मतदान गर्न मतदाता तयारी अवस्थामा रहेका छन् । निर्वाचनको प्रचार–प्रसारको कार्यक्रम सम्पन्न भएर मौन अवधि शुरू भएको छ । यता निर्वाचनको क्रममा शृंखलाबद्धरूपमा उम्मेदवार लक्षित बम विस्फोटका घटनाले आम मतदातालाई त्रसित बनाउने काम गरेको छ । बम विस्फोटमा परी एक जनाको निधन भएको छ भने दर्जनौं घाइते भएका छन् । बम विस्फोटनको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम विस्फोटन गराएको भन्दै दर्जनौं नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको छ, तर पनि घटना बढिरहेको छ ।

निर्वाचनको प्रचार–प्रसार शुरू भएलगत्तै उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट गराएपछि यसले निर्वाचनको सुरक्षाप्रति ठूलो आशंका जन्माएको छ । निर्वाचनलाई स्वतन्त्र, भयरहित, निष्पक्ष बनाउनु सरकारको दायित्व र कर्तव्य हो । सरकारले बम हान्नेको पहिचान भइरहेको भन्दाभन्दै निर्वाचनको प्रचार–प्रसार सम्पन्न भएको छ । तर, अझै पनि ढुक्क हुने अवस्था छैन ।

उम्मेदवार र सर्वसाधारणको ज्यान नै लिने गरी बम विस्फोट गराउँदासमेत प्रभावकारी सुरक्षा व्यवस्था गर्न नसक्नु सरकारको कमजोरी हो । आपराधिक समूहले राजधानी काठमाडौंमा नै दिनहुँ बम राखेर हैरान पारेको छ । सुरक्षा प्रदान गर्ने सवालमा सुरक्षा निकाय किन चुक्यो ? भरपर्दो सुरक्षा व्यवस्था गर्न किन सकेन ? सुरक्षा निकायले बम राख्ने समूहको पहिचान किन गर्न सकेन ? सुरक्षा निकायअन्तर्गत रहेका संयन्त्रले पनि किन प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन् ? बम राख्नुपूर्व नै आपराधिक समूहलाई किन नियन्त्रणमा लिन सकिएन ? धेरै प्रश्न सुरक्षा निकायमाथि तेर्सिएका छन् । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले कडाइपूर्वक निर्देशन नदिँदाको परिणाम हो कि ? सरकारले भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्न नसकेकोप्रति आम नागरिकले सरकारमाथि प्रश्न गरिरहेका छन् ।

घोषितरूपमा कुनै पनि राजनीतिक दल र समूहले बम विस्फोट गराएको जिम्मेवारी लिएको छैन । सरकार भने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गरेको भन्दै दोष थोपर्दै आएको छ । कतै विप्लवको नाममा आपराधिक समूहले शृंखलाबद्धरूपमा बम विस्फोट गराएको त होइन ? निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्नु सरकारको पहिलो काम हो । कुनै पनि बहानाबाजी बनाएर यो दायित्वबाट सरकार पन्छिन मिल्दैन ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वतन्त्ररूपमा सम्पन्न गराउन सरकारले सबै प्रकारका कदम चाल्नुपर्छ । मतदाताले निर्धक्क भएर मतदान केन्द्रसम्म गएर स्वतन्त्रपूर्वक मतदान गर्न पाउने व्यवस्था सरकारले गर्नै पर्छ । साथै शृंखलाबद्धरूपमा बम विस्फोट गराउने आपराधिक समूहलाई पक्राउ गरी दोषीमाथि कडा कारबाही गर्न सरकार कुनै हालतमा पछि पर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्