विमानका चालकदलले आकाशमा क्षेप्यास्त्र देखे



टोक्यो, (एजेन्सी)
जापानको आकाशमा उडिरहेको अमेरिकी एयरलायन्स क्याथे प्यासिफिकको एउटा विमानका चालक दलले गत साता उत्तर कोरियाले गरेको अन्तर महादेशीय क्षेप्यास्त्र प्रक्षेपणको आशंकित दृश्य देखेको उक्त एयरलायन्सले सोमबार जनाएको छ।

सो एयरलायन्सले चालक दलका ती सदस्यले क्षेप्यास्त्र पुनः पृथ्वीको वायुमण्डलमा प्रवेश गरिरहेको दृश्य देखेको बीबीसीसमक्ष पुष्टि गरेको छ। तर सो दृश्य देखिँदा पनि विमानले आफ्नो पूर्वनिर्धारित मार्ग परिवर्तन नगरेको जनाइएको छ।

गत २९ नोभेम्बरमा उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गर्दै त्यो अमेरिकाको कुनै पनि भागमा प्रहार गर्न सकिने दाबी गरिएको थियो। उक्त परीक्षणका कारण उत्तरको दक्षिण कोरिया र अमेरिकासँगको तनाव अझै चर्किन पुगेको छ।

वर्षेनि अमेरिका र दक्षिण कोरियाबीच हुने गरेको संयुक्त सैनिक अभ्यासलाई उत्तरले आफूविरुद्धको आक्रमणको तयारीका रूपमा लिने गरेको छ। प्योङयाङको यस पछिल्लो क्षेप्यास्त्र जापानको जलीय क्षेत्रमा खसेको थियो। साउथ चाइना मर्निङ पोस्टले क्याथेका अपरेसनल जनरल म्यानेजर मार्क होयलाई उद्धृत गर्दै कल साइन सिएक्स ८९३ बोकेको सो विमानका चालदलले उत्तर कोरियाको क्षेप्यास्त्र उडेको र खसेको देखेको जनाएको छ।

यसैबीच अमेरिकाबाट सोलतर्फ उडिरहेका दुईवटा दक्षिण कोरियाली यात्रुवाहक विमानले पनि सो क्षेप्यास्त्र देखेको दाबी गरेका छन्। अरू राष्ट्रको तरिका विपरीत उत्तर कोरियाले पूर्वघोषणा नगरीकनै यसरी क्षेप्यास्त्र परीक्षण गर्ने भएकाले अरूलाई क्षेप्यास्त्रको मार्ग थाहा हुँदैन।

प्रतिक्रिया दिनुहोस्