मनास्लु बेस क्याम्पका लागि नयाँ पदमार्ग



नेपाल समाचारपत्र
लमजुङ
मनास्लु बेस क्याम्पका लागि पदमार्गको निर्माण गरिएको छ। गोरखाको आरुघाटबाट दुई साताको पैदलयात्रा गर्दै पुगिने मनास्लु बेस क्याम्पमा अब लमजुङबाट आउँदा उनीहरू एक सातामै पुग्न सकिने छ।

पदमार्गको निर्माण कार्य सकिएपछि मनाङको तिल्चे, गोवा हुँदै विश्व प्रसिद्ध मनास्लु पदमार्गमा आएका पर्यटकहरू ३ घण्टाको पैदल यात्रापछि मनास्लु बेस क्याम्प पुग्न सक्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना संरक्षण क्षेत्र व्यवस्थापन समिति तिल्चेका अध्यक्ष गुनराज गुरुङले बताउनुभयो। उहाँका अनुसार पदमार्गको निर्माण कार्यपछि गोरखाबाट मात्रै आरोहण गरिँदै आएको मनास्लु हिमालमा अब मनाङबाट पनि आरोहण गर्न सकिने भएको छ।

मनाङ जानका लागि गोरखाबाट भन्दा लमजुङबाट धेरै सहज हुने हुन्छ त्यसैले अब मनास्लु जाने पदयात्रीहरू लमजुङ भएर आउने छन् लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताउनुभयो। उहाँका अनुसार मनाङ जानका लागि पायक र सडक तथा पदमार्गका हिसाबले लमजुङ सहज रहेको उहाँको भनाइ छ। मनाङ र गोरखाको सीमा क्षेत्रमा पर्ने मनास्लु हिमालको आरोहण गर्न र दृश्यावलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी पदमार्गको निर्माण गरिएको मनाङका पूर्वसांसद कोमल घलेले बताउनुभयो। उहाँका अनुसार मनाङबाट मनास्लु बेस क्याम्प जाने भनेको त्यसको प्रस्थान बिन्दू लमजुङ भएको हुँदा यसको लाभ लमजुङले पनि लिनेछ।

सो पदमार्ग निर्माणका लागि पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले संसदीय क्षेत्र विकास कोषबाट १० लाख रुपियाँ विनियोजन गरेपछि निर्माण थालिएको घलेले बताउनुभयो। मनाङको नासो गाउँपालिका– ६ स्थित भिमथाङ नजिकै हाबु मिलेरेपादेखि पदमार्गको ट्रयाक खोलिएको पदमार्ग अनुगमन समितिका संयोजक धनबहादुर गुरुङले बताउनुभयो। उहाँका अनुसार मिलेरेपादेखि मनास्लु बेस क्याम्पसम्मको कुल ८ किलोमिटर पदमार्गमध्ये झण्डै ३ किलोमिटर निर्माणकार्य सम्पन्न भइसकेको छ। मनाङ क्षेत्रबाट मनास्लु हिमालको बेस क्याम्प छोटो दूरीको भएको हुनाले पदमार्गको निर्माणमा जुटेका हौं गुरुङले बताउनुभयो।

उहाँका अनुसार नासो गाउँपालिका तिल्चेका युवाले पदमार्ग निर्माणसँगै दूधखोलामा काठेपुलको निर्माण गर्ने, पदमार्ग छेउछाउका झाडीहरू हटाउने जस्ता काममा डेढ महिनाको श्रमदान गरेका छन्। माउन्ट किलरको नामले विख्यात मनास्लु हिमाल आरोहणका लागि आउने विदेशी पर्यटक गोरखाको आरुघाटबाट दुई साताको पैदल यात्रा गर्दै आइपुग्ने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्