चुनावको फेसबुक विज्ञापनमा करोडौं खर्च



नेपाल समाचारपत्र
काठमाडौं
सामाजिक सञ्जाल फेसबुकलगयातमा ‘फलानो उम्मेदवारलाई भोट दिऔं’ अथवा ‘यो पेज लाइक गरौं’ भन्ने खालका सन्देश न्युजफिडमा देखा पर्छन्। प्रविधिको विकाससँगै निर्वाचन आयोगले टोपी, टिसर्ट एवम् भित्ते लेखनमार्फत् प्रचार गर्न रोक लगाएपछि पछिल्लो समय चुनावी प्रचार प्रसारको शैली पनि परिवर्तन भएको हो।

फेरिएको चुनाव प्रचार शैलीले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौं रुपियाँ बाहिरिएको छ। सामान्य शैलीको चुनाव प्रचारप्रसार नै खर्चिलो भएको भन्दै आलोचना भइरहँदा चुनाव प्रचार प्रसारका नाममा फेसबुक, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा करोडौं खर्च भइरहेको छ। विशेषगरी फेसबुकमा प्रयोग हुने बुस्ट पेज तथा बुस्ट पोस्टजस्ता अप्सनबाट राजनीतिक दल, तीनका उम्मेदवारले पैसा तिरेरै ‘भोट हालौं’ भन्ने खालका सन्देश धेरै प्रयोगकर्तामाझ पुर्याउने गरेका छन्।

फेसबुकमा ‘पेज स्पोन्सर’ र ‘पोस्ट बुस्ट’का निम्ति उम्मेदवारले हजारौं डलर फेसबुकका मालिक मार्क जुकरबर्गको खातामा जम्मा गराएका छन्। सामाजिक सञ्जाल स्पोन्सर गर्न आवश्यक रकम सम्बन्धित सामाजिक सञ्जाललाई पठाएपछि पैसा तिरेकै अनुसार संख्याका प्रयोगकर्ताका सामु देखा पर्छ। उनीहरूले सो रकमबाहेक प्रयोग गरेकोमा निश्चित सेवा शुल्क लिने गरेका छन्। जानकारहरूका अनुसार फेसबुकमा पोस्ट सामग्री पाँच डलर तिरेवापत एक दिनमा पाँच सय लाइक आउँछ। त्यस्तै फेसबुक पेजमा हजार लाइक बढाउन ५० डलर तिर्नुपर्छ। नेताहरू फेसबुक पेजमा २ लाखदेखि १३ लाखसम्म लाइक भएको देखिन्छ, त्यसका निम्ति उम्मेदवारले १० लाख रुपियाँदेखि ६५ लाख रुपियाँसम्म खर्च भएको अनुमान छ।

दैनिक लाइकमा हुने खर्चको त कुनै लेखा जोखा छैन। फेसबुकलगायत सामाजिक सञ्जालमार्फत् तोकिएको शुल्क तिरेर निश्चित क्षेत्र तथा उमेर समूहका प्रयोगकर्ताको न्युज फिडमा आफूले चाहेको सन्देश, फोटो, भिडियोलगायत मल्टिमिडिया सामग्री देखिने बनाउने र पेजको लाइक तथा फलोअर बढाउन गरिने प्रवद्र्धनको कार्य गर्ने गरेका हुन्। विशेष गरेर शहरी क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने अधिकांश उम्मेदवारले पेज तथा कन्टेन्ट स्पोन्सर गराउने गरेका छन्।

पछिल्लो समय अनलाइनमा आउने मानिसको संख्या बढ्दै गएको अवस्थामा व्यावसायिक उद्देश्य भएका तथा आफ्ना सूचना सामग्री भाइरल बनाउन चाहने प्रयोगकर्ताले धेरै लाइक तथा फलोअर बढाउन पैसा तिरेर आफ्नो आईडी तथा पेजलाई स्पोन्सर तथा प्रमोट गर्न सक्छन्।

सामान्यतया लाइक तथा फलो गरिएका पेज तथा अकाउन्टबाट पोस्ट गरिएका सामग्रीमात्रै प्रयोगकर्ताको न्युजफिडमा देखिने हुन्छ। तर, स्पोन्सर गर्दा भने लाइक तथा फलो नगरिएका पेज एवम् प्रवद्र्धित सामग्रीसमेत सहजै लक्षित क्षेत्र र समूहका प्रयोगकर्ताको न्युजफिडमा देखिन्छ।
फेसबुकलगायत सामाजिक सञ्जाल प्रचारप्रसार अभियानकर्ता सन्तोष पाण्डेका अनुसार इलेक्ट्रोनिक पेमेन्टको आधारमा पेज तथा पोस्ट बुस्ट गर्ने गरिन्छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै पाण्डेले भन्नुभयो–‘यस्तो प्रोमसनमा मुख्यतः पेपल एकाउन्ट अथवा अन्तर्राष्ट्रिय क्रेडिड⁄डेबिट कार्ड एकाउन्ट हुन जरुरी छ। यसको लागि फेसबुकमा गएर बुस्ट गर्नुपर्ने हुन्छ। त्यसमा पेमेन्ट एकाउन्टमा गएर बैंकको नाम, डेबिट⁄त्रेडिट कार्डको नम्बरलगायतका सूचना भर्नुपर्छ। यसरी बुस्ट भएपछि हाम्रो एकाउन्टबाट पैसा सामाजिक सञ्जालको खातामा ट्रान्सफर हुन्छ। त्यसको प्रतिफल आफूले चाहेको प्रयोगकर्ताको न्युजफिडमा बुस्ट भएको पेज⁄पोस्ट देखापर्छ।

स्पोन्सर तथा प्रवद्र्धनका लागि सामाजिक सञ्जाललाई तोकिएको रकम डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ। पाण्डेले भन्नुभयो–‘अहिले म वाम गठबन्धनका एक शीर्ष नेताका लागि काम गर्छु। हामी औसतमा दैनिक ५० देखि १ सय अमेरिकी डलर खर्च गछौं।’ यसका लागि आफू संलग्न रहेको नेताले २ लाख रुपियाँ छुट्याउनु भएको छ।

हाल विदेशमा बस्ने आफन्त तथा शुभचिन्तकले फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालका पोस्टहरू बुस्ट गरिदिने गरेका छन्। विदेशमा इलेक्ट्रोनिक्स पेमेन्ट सजिलो भएकाले विदेशबाटै स्पोन्सर हुने गरेको हो। उनीहरूसँग क्रेडिट कार्ड सहजै उपलब्ध हुन्छ र सहजै चाहेको पोस्ट बुस्ट गरिदिन सक्छन्। साथै नेपालमा हुने धेरैले पनि एजेन्सीमार्फत् पनि बुस्ट गराएका छन्।

सामाजिक सञ्जालमा स्पोन्सर तथा प्रवद्र्धन कार्य सामान्य भए पनि नेपालीका लागि त्यसको भुक्तानी कार्य भने केही जटिल छ। नेपाल राष्ट्र बैंकको नियमन व्यवस्थाका कारण नेपाली बैंकले वितरण गरेका सामान्य डेबिट⁄क्रेडिट कार्ड र भुक्तानी सेवा प्रदायकबाट त्यस्तो भुक्तानी खुला भएका छैनन्।

प्रतिक्रिया दिनुहोस्