व्यवसायी भन्छन्– “जसको बहुमत आए पनि काम गर्ने वातावरण चाहियो”



नेपाल समाचारपत्र
काठमाडौं
उद्योगी, व्यापारीहरू चुनावपछि कस्को सरकार आउने हो, उद्योग व्यवसाय धरापमा पर्छन् भनेर सशंकित हुन थालेका छन्। नयाँ सरकार निजी क्षेत्रमैत्री नहुने हुने हो कि भनेर सशंकित भएका हुन्। यद्यपि, उनीहरू खुलेर यस विषयमा चर्चा गर्न रुचाउदैनन्।

देशमा चुनावी माहोल तातेको बेलामा आफूहरू राजनीतिक अस्थिरताको वातारवरण समाप्त होला र आफूले चाहेको लगानीयोग्य वातावरण सिर्जना होला भन्ने आशा गरेको उद्यँेगी व्यवसायीको भनाइ छ। निर्वाचनको समयमा चलायमान बनेको अर्थतन्त्र र त्यसपछि बन्ने बहुमतको जुनसुकै सरकारले ल्याउने विकासका योजनाले देश नयाँ दिशामा बढ्ने विश्वास उनीहरूको छ। देशमा लगानी वृद्धिको वातावरण बने चाँडै नै देशमा आर्थिक समृद्धिको लहर जाग्नेमा उनीहरू विश्वस्त छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा भने नयाँ सरकारमा जुनसुकै दल र गठबन्धनको आए पनि आफूहरूलाई खासै असर नपर्ने बताउनुहुन्छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै राणाले भन्नुभयो– ‘उद्योगी व्यवसायी लोकतान्त्रिक गठबन्धनमा झुकाव हुने मान्यता राखिए पनि निजी क्षेत्र वाम गठबन्धनको विपक्षमा रहेको कुरामा कुनै सत्यता छैन। व्यवसायी वामको विपक्षमा रहेको कुरा आजसम्म कतै आएको छैन। किनकी विगतमा हामी जुनसुकै सरकार आए पनि मिलेर काम गरेका छौं।’ त्यसैका आधारमा व्यवसायी कसैको पक्षमा नरहेको उहाँको दाबी छ।

लोकतान्त्रिक वा कम्युनिष्ट जुनसुकै सरकार भए पनि निजी क्षेत्रको हितमा हुने काम गरे पुग्ने उहाँको भनाइ छ। राणाले भन्नुभयो– ‘जसको सरकार आए पनि निजी क्षेत्र फस्टाउनुपर्छ, लगानीको वातावरण बनाउनुपर्छ। जो आए पनि आर्थिक समृद्धिका एजेन्डा प्राथमिकतामा राख्नुपर्छ, निजी क्षेत्रको कार्यक्षमता बढाउनुपर्छ।’

यस्तै नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजा जुन सरकार बने पनि निजी क्षेत्रसँग सहकार्य गरेर जाने सरकार बनोस् भन्ने निर्माण व्यवसायीको मत रहेको बताउनुहुन्छ। सरकारले निर्माण क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरे देशको भविष्य उज्ज्वल रहेको उहाँ बताउनुहुन्छ। उहाँले भन्नुभयो– निजी क्षेत्रलाई उपेक्षा गरेर देशमा आर्थिक क्रान्ति कदापी सम्भव छैन।

वाम गठबन्धनले दुई तिहाई ल्याए पनि व्यवस्था लोकतान्त्रिक गणतन्त्र हुन्छ। तसर्थ, हामीलाई खासै अप्ठ्यारो पर्दैन। लोकतान्त्रिकको भन्दा वामको काम गर्ने तरिका फरक होला तर लगानीमैत्री अवसरको सिर्जना गर्ने जस्तो सुकै सरकार हामीलाई मान्य छ।’

प्रतिक्रिया दिनुहोस्