ह्वाङ्हो सभ्यता पढेर



झार होइन, फूल फुलाऔं
चीनको मध्यपूर्वी भागमा एउटा लामो नदी छ, जसलाई चिनियाँहरू ह्वाङ्हो नदी भन्छन्। यसै नदीको किनारबाट शुरू भएको सभ्यतालाई हामी ह््वाङ्हो सभ्यता पनि भन्छौं। इसापूर्व २६ सय वर्षअगाडि शुरू भएको यो चिनियाँ सभ्यतासँगै चीनलाई धेरै राजाहरूले शासन गरे। उनीहरूले शासन मात्र गरेनन् चिनियाँ समाजमा अफिमजस्तो विषको बीजारोपणसँगै यसको व्यापारीकरण गरे। आफ्नो सीप र कौसलमा मूल्य देख्ने त्यति बेलाका गरिब जनतालाई शासकले भ्रष्ट बनाए। चीनका सबैजसो भूभागहरूमा अफिम खेतीको शुरूवात गरियो र चीनको प्रमुख आयस्रोत नै अफिम बन्यो। चीनको त्यति बेलाको उत्पादित अफिमको ठूलो मात्रा पश्चिमा मुलुकहरूमा खपत हुन्थ्यो, खास गरी फ्रान्स र बेलायतमा। चीन सामन्तकालीन त्यो समाजमै विकसित बाटोमा उन्मुख हुँदै थियो।

वैदेशिक मुद्रा भित्रिँदै जानु, चीन सम्पन्न बन्दै जानु, पश्चिमा मुलुकहरू खास गरी बेलायतका लागि यो एउटा दुःखद घटना हुँदै थियो। बेलायतले यसै समयमा घोषणा गर्यो– चिनियाँ अफिम अब प्रतिबन्ध हुनेछ। चीनभित्र यो घटना त्यति सहज हुन भने सकेन। बेलायती प्रतिबन्धका बाबजुद पनि चीनले यसलाई रोक्न सकेन। परिणामस्वरूप सन् १८३८ देखि सन् १८४२ सम्म अफिम युद्ध भयो, जसमा २० हजारभन्दा बढी मानिसले ज्यान गुमाउनुपर्यो। चीनको यसमा हार मात्र प्रमाणित भएन, उसले आफ्नो देशलाई दीर्घकालीन समयसम्म बाँध्न सक्ने बेलायती साम्राज्यको सन्धिपत्रमा हस्ताक्षर गर्नुपर्यो। त्यो सन्धिपत्रले चीनको दक्षिण–पूर्वी भूभाग हङकङ उसबाट अलग गर्यो। त्यस बेला चीनका ५ मुख्य बन्दरगाह खुल्ला गर्नुपर्ने, विदेशी वस्तुमा ५ प्रतिशतभन्दा बढी आयात कर लगाउन नपाइने र बेलायती नागरिकलाई चिनियाँ कानुन बाध्य नहुनेजस्ता अर्धऔपनिवेशिक मुलुकको स्वीकृतिपत्रमा चीनको हस्ताक्षर भयो। यो राज्यको सम्झौताबाट चिनियाँ जनता आहत भए।

उनीहरूले छिटफुट विद्रोह पनि गरे तर सामन्तवादी सत्ता विदेशीसँग गर्नुपरेको सम्झौतामा कुनै आत्मग्लानिको महसुस गर्दै थिएन। चीनको त्यसपछिको समाज निकै गरिबी र समाजिक विपत्तिको सिकार हुन पुग्यो। सन् १९२८ सम्म चीन एउटा पछौटे सामन्तवादी मुलुकको रूपमा स्थापित भयो तर पछि केही सम्झौताहरू खारेज भए। तर पनि सामन्ती जमिनदारी प्रथा र यसको चरम विकास भएको बृहत् चीनमा मानिसहरू पशुजस्तै सजिलै किनबेच हुनु र भोकमरीले मर्नु कुनै अनौठो विषय थिएन।
कमजोर मानिसलाई विधिन्न रोगले गाँजेजस्तै चीनलाई सम्राज्यवादी मुलुकहरूले उपयोगको माध्यम बनाउन खोजे। यसै बीच अर्काे त्यो समयको साम्राज्यवादी मुलुक जापानले चीनमाथि हमला गर्यो। निराश चिनियाँ जनता अब न त कुनै पनि विदेशी शक्तिलाई टिकिरहन दिन चाहन्थे, न त चीनभित्रका सामन्तहरू जसले फेरि जापानसँग सम्झौता गर्न लाग्दै थिए उनीहरूसँग नै। सन् १९२१ मा निर्माण भएको चिनियाँ कम्युनिस्ट पार्टी नै भावी चीनको भविष्य बन्न खोज्दै थियो। चीनका सुख्खा पहाडहरू, कठोर हिमले भरिएका बस्तीहरू र मरुस्थलहरूबाट अब चीन गर्जंदै थियो। जनता तयार भए सन् १९२७ मा चीन तयार भयो स्वतन्त्र, स्वाधीन र विशाल चीनको निर्माण यात्रामा निस्कन। हजारौं बस्तीहरू जले, तोप र गोलाहरू महँगो भए र जीवन निकै सस्तो भयो। आफ्ना भावी सन्ततिहरूको निमित्त चीनको एउटा पुस्ताले परिवर्तनको आगोमा बारुद बनेर पड्किन तयार भए। परिणामतः सन् १९४९ मा चीनले पुन जन्म पायो।

अब चीन स्वतन्त्र छ, ९९ सय वर्षअगाडि बेलायतले जुन साम्राज्यवादी शैलीमा चीनको एउटा सुन्दर भूभाग हङकङ खोसेको थियो, स–सम्मान फिर्ता गरेको छ। आज चीन संसारकै तीव्रगतिको बुलेट रेलको गतिमा दौडिरहेको छ। आजका चीनका पुस्ता पुर्खाको त्यो इतिहासको जगमा विश्वकै उत्कृष्ट चीन निर्माणको यात्रामा लम्किरहेका छन्। म विशाल चीनलाई देखेर टोलाइरहेको त्यो क्षणमा एक चिनियाँ मित्र भन्छन्– आजको चीन चिआनहरूमाथि फुलेको सुन्दर फूल हो। झन्डै ८२ लाख मानिसको चिहानहरूमाथि आजको चीन दौडिरहेको छ। म झ्याल खोल्छु र पर हेर्छु, सडकका किनाराहरूमा फूलहरूको छेउमै दुई प्रेमीहरू हाँस्दै बसिरहेका छन्। सोच्छु, १९४९ को शिशु चीन साँच्चै जवान भएको छ। जब चीनको विशालतासँगै यसको इतिहासमा डुबुल्की मार्न खोज्छु, तब आफ्नो देशको इतिहाससँग जोड्न मन लाग्छ।

हामीले पनि सामन्ती समाज नभोगेको कहाँ हो र ? हामीले पनि हाम्रो भूमि नगुमाएको कहाँ हो र ? सबैभन्दा प्रिय कुरा कुनै गुमायौं भने ती हाम्रा आफन्तहरू थिए, तर पनि हामी चिनियाँहरूको त्यही समाजमा छौं, जहाँ मानिसहरूको बिक्री हुन्थो। फरक यत्ति छ कि उनीहरू आफ्नै देशभित्र बिक्री हुन्थे, हामी अन्तर्राष्ट्रिय वस्तुजस्तै बिक्री भैरहेका छौं। त्यो समाज, जहाँ मानिस अकाल मर्ने गर्थे, हाम्रोमा कुपोषणको सिकार भएर मरिरहेका छन्। राज्य लुटेराहरूको हातमा परेको छ। आज पनि हाम्रो मानवताको मरूध्यानमा जीवनरूपी विकासको फूल फुल्न सकेको छैन। यसको लागि हामीले हाम्रा पुर्खाहरूको रगतहरूले सिञ्चिएको यो भूमिमा झारहरू होइन, सुन्दर फूलहरू फुलाउनुपर्ने बेला भएको छ।
– सुमन सुस्केरा, रसुवा

शान्ति सुरक्षाको प्रत्याभूति चाहियो
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन करिब–करिब छिटफुट घटनाका बाबजुद शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। पहिलो चरणको निर्वाचन सकिएर दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा जनधनकै क्षति गराउने गरी बम विस्फोटका घटना बाक्लिन थालेका छन्। दाङको तुलसीपुरमा आयोजित चुनावी सभालाई लक्षित गरी गराइएको बम विस्फोटमा परी एकजनाको ज्यान नै गएको अवस्था छ, थुप्रै घाइते भएका छन्। पहिलो चरणको मतदान शान्तिपूर्ण ढंगले सम्पन्न गराएको सरकारले शृङ्खलाबद्ध विस्फोटको निरन्तरताका कारण मतदानअघि–पछिको समयमा पनि सुरक्षा व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने अवस्था देखिएको छ।

चुनाव बिथोल्ने नियतले आमनागरिकलाई आतंकित पार्ने गरी बम विस्फोटका घटना निरन्तर भइरहँदा समेत कुनै पक्षले पनि जिम्मेवारी नलिनुले आश्चर्य हुन पुगेको छ। सरकारबाट पनि यसमा संलग्नबारे स्पष्ट धारणा सार्वजनिक हुन नसक्नुले आमनागरिकमा अन्यौल सृजना भएको छ। विगतको पृष्ठभूमि, शंकास्पद गतिविधि र चुनाव बहिष्कारका कारण नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नै यसमा संलग्न रहेको अनुमान मात्र गरिनुले सरकारप्रति प्रश्न उठ्नु स्वाभाविक हो। यसमा नेकपाको संलग्नता छैन भन्न सकिने आधार पनि छैन र सरकारले किटानीसमेत गर्न सकिरहेको छैन। यति बेला नेकपाको मौनताको फाइदा अर्को कुनै समूहले उठाउने जोखिम पनि कम खतर्नाक छैन। जसले, जसरी र जुन उद्देश्यका साथ गरेको भए पनि व्यक्ति अंगभंग हुने र ज्यानै जाने गरी गराइएका यस्ता आपराधिक क्रियाकलाप गैरराजनीतिक र भत्र्सनायोग्य छन्। चुनाव बिथोलेर आफ्नो राजनीतिक अभिष्ठ पूरा गराउन खोज्नु शदियौंदेखिको पूरा हुन नसकेका जनताका अधिकारलाई संस्थागत गराउने प्रयासलाई असफल गराउने उद्दण्डता मात्र हो।
विस्फोट उम्मेदवार र चुनावीसभा लक्षित छन्। उम्मेदवार चढेको गाडी, उनीहरूको घर र सभालाई लक्षित गरेर विस्फोट गराइएका छन्। दाङको तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्न लागेको सभामै विस्फोट भयो, जुन घटनामा म्यादी प्रहरी २३ वर्षीय विनोद चौधरीको ज्यानै गएको छ भने नौ जना घाइते भए। उदयपुरको दनुवारबेसीमा विस्फोट हुँदा कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्कीसहित सातजना घाइते भए।

चुनावी प्रचारप्रसार बाक्लिँदै जाँदा विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रीलाई समेत लक्षित गरी विस्फोट गराइएका छन्। प्रधानमन्त्री र मन्त्री उपस्थित सभा र सवार गाडी विस्फोटको निशानामा पर्नुले राज्यको सुरक्षा व्यवस्थापन कति कमजोर रहेछ भन्ने देखाउँछ। यसले खासगरी सुरक्षा निकायको सूचना संयन्त्रमाथि प्रश्न खडा गरेको छ। चुनावविरोधी गतिविधिमा लागेको आरोपमा थुप्रै पक्राउ परे पनि विस्फोट गराउने क्रियाकलापमा संलग्न अधिकांश व्यक्ति सुरक्षा निकायको आँखा छल्दै सुरक्षित स्थानमा जानुले सुरक्षाकर्मीहरूको कमजोरीको उजागार गरेको छ।

सरकारले अहिले सिर्जित सुरक्षा चुनौती सामना गर्न सुरक्षा रणनीति बदल्नुपर्छ। आतंक फैलाउने यस्ता क्रियाकलाप नियन्त्रणमा दृढताका साथ अघि बढ्दै आमनागरिकमा शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ। समयमा सरकार गम्भीर नहुने हो भने, ठूलै धनजनको क्षति नहोला भन्न सकिने अवस्था छैन।
– सुदीप पाठक, काठमाडौं

प्रतिक्रिया दिनुहोस्