आर्टिफिसियल इन्टेलिजेन्समा रुस र चीनसँग पछारिंदै अमेरिका



मस्को (एजेन्सी)
रुस र चीनले आफ्ना सेनालाई आर्टिफिसियल इन्टेलिजेन्सबाट सुसज्जित पार्दै अत्याधुनिकरण गर्न चाहेका छन्। उक्त क्षेत्रमा अमेरिका पछाडि पर्ने खतरामा रहेको एक ताजा प्रतिवेदनले जनाएको छ। पूर्वरक्षाअधिकारी तथा त्यस क्षेत्रका विज्ञहरूले तयार पारेको प्रतिवदेनमा अमेरिकाका दुई ठूला सैन्य प्रतिस्पर्धीहरूले एआईलाई लिएर तीव्रताका साथ अगाडि बढिरहेका छन्। ‘उनीहरूले अमेरिकी सेनाका लागि या त भावी परिवर्तनको नेतृत्व लिन वा यसको सिकार हुन विकल्प छोडेका छन्’ –प्रतिवेदनमा उल्लेख गरेको छ।

रुसका सेनाले क्रुज क्षेप्यास्त्र र ड्रोनमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेका छन्। रुसले गत हप्ता बन्दुक जडित फाइनल एक्सपेरिमेन्टल डेमोन्स्ट्रेसन अब्जेक्ट रिसर्च (फेडोर) रोबोटलाई अन्तरिक्षमा पठाउने योजनामा प्रगति भइरहेको घोषणा गरेका थिए।

उक्त अत्याधुनिक रोबोटले गाडी चलाउन सक्ने, व्यायाम गर्न सक्ने र सन् २०२० सम्ममा रुसको अन्तरिक्ष यान फेडरात्सियालाई पृथ्वीको कक्षमा पुर्याउन मद्दत गर्नेछ। रुसले तेस्रो पुस्ताको सैन्य पोसाक रेत्निक–३ पनि सार्वजनिक गरिसकेको छ।

चीन पनि यो दौडमा प्रवेश गरिसकेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिंङले पिपुल्स लिबरेसन आर्मी (पीएलए) सशक्त बनाउँदै नयाँ साइबरमा आधारित प्रविधिलाई समावेश गरेका छन्। उनको सरकारले यसै वर्षको पूर्वाद्धमा अमेरिका र रुसलाई उछिन्न एआईमा मात्रै अर्बौं डलरको लगानी गर्ने घोषणा गरेको थियो।

यो दिशामा चीनले आफ्ना कार्यक्रम अगाडि सारिसकेको छ। यसै महिना चीनले यिटु टेकको थालनी गर्दै अनुहार पहिचान प्रविधि विकासको प्रतिस्पर्धा गर्दै त्यसका लागि २५ हजार डलरको पुरस्कारको व्यवस्था गरेको थियो। उक्त प्रविधिका लागि अमेरिकाको आफ्नै डिफेन्स इन्टेलिजन्स एजेन्सीको अनुसन्धान शाखा लागेको छ। चीनको प्राविधिकरूपमा कमजोर स्थिति अब छैन। उसले आर्टिफिसियल इन्टेलिजेन्समा अमेरिकालाई उछिनेर अगाडि बढ्न सक्ने हैसियत बनाइसकेको छ। जनमुक्ति सेना (पीएलए)ले सेनाको नवीकरणबाट परम्परागत अस्त्रमा व्यापक परिवर्तन ल्याउँदै नवीन उपलब्धि हासिल गर्ने लक्ष्य लिएको न्यु अमेरिकन सेक्युरिटीका एल्सा केनियाले एक प्रतिवेदनमा उल्लेख गरेको छ।

अमेरिकी सेनाले एफ– ३५ लाइटनिङ जेट–२ लगायत उसको अत्यन्त शक्तिशाली हतियारहरूमा आर्टिफिसियल इन्टेलिजेन्सबाट सुसज्जित गर्ने काम गरिसकेका छन्। केनिया र विज्ञहरूको सरकारी समूह गोविनीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एआईको विकासका लागि दीर्घकालिन रणनीति ल्याउन आग्रह गरेको छन्।

प्रतिक्रिया दिनुहोस्