संविधान संशोधनसहित समृद्धिका लागि मेरो उम्मेदवारी



भीमकुमार महर्जन
उम्मेदवार, काठमाडौं क्षेत्र नं. ९
नयाँ शक्ति पार्टी

अहिले संविधान कार्यान्वयन गर्ने क्रममा मुलुक उभिएको छ। संविधानप्रतिको बुझाइमा दुईवटा अतिवाद रहेका छन्। एक संविधानको कमा र पूर्णविराम कुनै पनि फेरबदल गर्नुहुन्न भन्ने बुझाइ। दोस्रो अतिवाद भनेको संविधान कागजको खोस्टो हो भन्ने बुझाइ। यी दुवै अतिवादलाई चिर्दै संविधानमा जे–जति राम्रा छन्, त्यसको कार्यान्वयन गर्नुपर्दछ। संविधानमा भएका कमजोरीहरू सच्याउनुपर्दछ। प्रादेशिक सीमांकन, भाषा, जाति, समानुपातिक समावेशी सवाल संविधान संशोधन आवश्यक रहेको छ। यसका लागि मैले उम्मेदवारी दिएको हुँ।

कांग्रेस, एमालेले वर्षौं वर्षसम्म शासन चलायो, तर देश आर्थिक समृद्धिको दिशामा अघि बढ्न सकेन। उल्टो भ्रष्टाचार, कमिसनखोर झन्–झन् मौलाउँदै गएको छ। माओवादी पार्टीसमेत यही बाटामो हिँडिरहेको छ। मुलुकको विकास, समृद्धि पुराना पार्टीबाट सम्भव छैन। यसका लागि नयाँ शक्ति राष्ट्रिय पार्टी बन्नुपर्दछ। यसै लक्ष्य प्राप्तिका लागि मैले उम्मेदवारी दिएको हुँ। त्यसैले सारभूत संघीयतासहित आर्थिक समृद्धि नै मेरो मुख्य एजेन्डा हो।

वैशाख १२ गतेको विनाशकारी भूकम्पले लडाएको सम्पदाको पुनर्निर्माण, भूकम्पपीडितलाई राहत वितरण, घर निर्माणका लागि अनुदान दिने कार्यलाई प्राथमिकता दिनेछु। ऐतिहासिक बस्तीको संरक्षण, सांस्कृतिक सम्पदाको संरक्षण गरेर पर्यटन उद्योग प्रवद्र्धन गर्ने, रोजगारीको सिर्जना पनि मेरो मुख्य एजेन्डा हुन्।

त्यसै गरी ३ नं. प्रदेशमा नेपालीपछि नेपाल भाषालाई सरकारी कामकाजी भाषाको रूपमा मान्यता दिलाउने, गैरन्यायीक सडक विस्तार कार्यलाई अन्त्य गर्न ऐतिहासिक सम्पदा, बस्ती र संस्कृतिमैत्री हुने गरी विकास निर्माणका कार्य अघि बढाउने कार्य गर्ने मेरो प्रतिबद्धता व्यक्त गरेको छु। बाटो विस्तार कार्य गर्दा सम्पदा, संस्कृति, संविधान र मानव अधिकारका कानुन र प्रचलित कानुनले निर्दिष्ट गरेबमोजिम हुनुपर्दछ। मुआब्जा तथा क्षतिपूर्ति नदिई घर, जग्गा जमिनबाट उठाएका जनतालाई अविलम्ब चलनचल्तीको पुनस्र्थापना, मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराउनुतर्फ मेरो ध्येय रहनेछ। घरदैलोका क्रममा मतदाताहरूले म मेरो पार्टीप्रति उत्साह र सकारात्मक प्रतिक्रिया व्यक्त गरेको पाएको छु।

हरेक दिन सयौं युवा रोजगारीका क्रममा विदेश पलायन भइरहेका छन्। नेपाल बूढाबूढीको देश बन्दै छ। त्यसैले समृद्धि हाम्रै पालामा सम्भव छ र बनाउनुपर्ने विश्वास जनतालाई दिइरहेका छौं। मेरो प्राथमिकता पर्यटकीय उद्योग प्रवद्र्धन, युवा उद्यमशीलता र स्वरोजगार कार्यक्रमबाट रोजगारी सिर्जना गर्नेछु। यी कार्य पुराना पार्टीबाट सम्भव छैन। यसका लागि नयाँ शक्ति पार्टी जन्मिएको हो। यस पार्टीले प्रादेशिक सम्भाव्यता, भएका स्रोत र साधन परिचालन गर्ने हिसाबले विकासको खाका प्रस्तुत गरेको छ। यस आधारमा जनताले नयाँ शक्तिको महत्त्वलाई महसुस गर्नेमा म पूर्णरूपमा विश्वस्त छु। अरू पार्टीले कुरामात्र गर्दछन्। हामी कुरा गरेअनुसार त्यसलाई पूरा गर्नेछौं। त्यसैले आर्थिक समृद्धि विकासको आधार, पहिचानसहितको प्रदेशको अधिकारका लागि म चुनावी मैदानमा उत्रिएको छु।

प्रतिक्रिया दिनुहोस्