हवाईमा चेतावनी साइरन बज्न थाल्यो



वासिंगटन,(एजेन्सी)
संयुक्त राज्य अमेरिकाले तत्कालीन सोभियत संघसँगको शित युद्ध अन्त्य भएयता पहिलो पटक हवाइ राज्यमा आणविक आक्रमण हुने बेलाको वार्निंङ साइरन परीक्षण गरेको छ। उत्तर कोरियाको बढ्दो आणविक र क्षेप्यास्त्र कार्यक्रमको कारण देखिएको खतरालाई मध्यनजर राख्दै अमेरिकाले पुनः मासिकरूपमा सो साइरनको परीक्षण शुरू
गरेको हो।

लगातार ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्दै आएका प्योङयाङले गत सेप्टेम्बरमा छैठौं आणविक परीक्षण गरेको थियो। प्रशान्त क्षेत्रमा रहेको हवाइमा यसअघि पनि सुनामीलगायत प्राकृतिक प्रकोपको चेतावनीका लागि मासिकरूपमा साइरन परीक्षण गरिँदै आएको थियो।

आणविक आक्रमण संकेतले स्थानीय बासिन्दा र पर्यटकहरूलाई घरभित्रै बस्न र अर्को निर्देशनको प्रतीक्षा गर्नका लागि फरक–फरक वेभरिङ टोनमा चेतावनी दिइने गरिन्छ। असीको दशकमा शितयुद्धको अन्तिम वर्षतिर हवाइ राज्यमा अन्तिम पटक आणविक आक्रमणको वार्निङ साइरन बजाइएको थियो।

शुक्रबारदेखि यो साइरन पुन सुनिन थालेको छ। अब प्रत्येक महिना यसलाई बजाइने हवाइ आपत्कालीन व्यवस्थापन निकायका अध्यक्ष भर्न मियागीले बताएका छन्। होनोलुलु स्टार एडभर्टाइजर नामक अखबारले उत्तर कोरियाबाट प्रक्षेपण हुने क्षेप्यास्त्र २० मिनेटभित्र हवाइमा खस्ने जनाएको छ।

हवाइमा एसिया प्रशान्त क्षेत्रको मामिला हेर्ने अमेरिकी सेनाको प्रधान कार्यालय रहेको छ। केही दिनअघि मात्र उत्तर कोरियाले अमेरिकाको कुनै पनि भागमा मार हान्न सक्ने हालसम्मकै सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्