समृद्ध उदयपुर अभियान, कृषकलाई आत्मनिर्भर बनाउने योजना



आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका छन्। उदयपुर जिल्लामा २ प्रतिनिधिसभा र ४ वटा प्रदेशसभामा राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराउँदै चुनावी अभियानमा जुटेका छन्। उदयपुरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेसको बीचमा नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ। उदयपुर जिल्लाको विकास गर्ने योजना के छ ? भन्ने विषयमा प्रतिनिधिसभाका र प्रदेश सभाका उम्मेदवाहरूसँग नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गरेको कुराकानीः

सुकुम्वासीलाई बसोबासको व्यवस्था
समग्र मुलुकको विकासको एजेन्डा त सबैलाई थाहा छँदै छ अब मेरो क्षेत्रको कुरा गर्दा शिक्षा, स्वास्थ्य, यातायात खानेपानीलगायतका समस्यामा समाधान गर्नुपर्ने देखिन्छ यसलगत्तै मुख्यरूपमा पहिलो प्राथमिकता त्रियुगा नदीले दुःख दिइरहेको छ। वर्षेनी कैयौं उर्वरभूमि नदीले कटान गरेर खेतीयोग्य जमिन नष्ट गरिरहेको छ। त्रियुगा नदीलाईचाँहि वडा नं. ७ को भोग्सेदेखि वडा नं १ को जागीदहसम्म दुवैतर्फ तटबन्ध निर्माण गरी नदी नियन्त्रण गर्ने र दुवैतर्फ सडक निमार्ण गर्ने र त्यहाँबाट बाँकी रहेका जग्गामा हजारौं सकुम्बासीलाई बसोबास गराउने पहिलो प्राथमिकतामा छ। त्यस्तै अर्का नदी सरस्वती, शाही, खानीखोलालगायतका नदीलाई नियन्त्रण गरेर व्यवस्थित गरेर वर्षेनी हुने कटानको क्षतिबाट बचाउने एजेन्डा रहेको छ।

‘उदयपुरलाई समृद्ध बनाउन भूमिका खेल्छु
डा. नारायण खड्का
नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्र नं. १
उदयपपुर क्षेत्र नम्बर १ लामो समयदेखि म उदयपुरको विकासमा लागिपरेको छु। समग्र विकासमा नै मैले हेरेको छु, र गर्दै आएको छु। प्राकृतिकरूपले पनि यो जिल्ला धनी छ। यस क्षेत्रका आम कृषकलाई कृषिकै माध्यमबाट आत्मनिर्भर बनाउने मेरो योजना छ। यहाँ सडक, पुल खानेपानी र नदी नियन्त्रणको पनि काम हुँदै आएको छ। यहाँ करिब २५ ओटा खहरे खोला रहेका छन्। खोला नदीको नियन्त्रणको लागि राष्ट्रिय गरुयोजना बनिसकेको छ।मेरो विकासप्रतिको प्रतिबद्धता र लगनशीलता नै मेरो जितको आधार हो।

जिल्लाको
विकासमा लाग्छु
खेतीयोग्य जमिन नदीले वर्षेनी कटान गर्ने भएकाले उदयपुरको त्रियुगा नदीको कटान नियन्त्रणको काम मुख्य रहेको छ। किसान मजदुरको समस्या हल गर्नुछ। स्कुलमा दरबन्दीहरू छैनन्, त्यो पनि समस्या हो, यसको समाधानमा लाग्नेछु। उदयपुरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न चाहेको छु। स्वास्थ्य सेवा पनि राम्ररी पुगेको छैन। यहाँ ठूलो चुनढुंगा खानी छ। धेरै सिमेन्ट फ्याक्ट्री छन् र अरू पनि बन्न सक्छन्। ऐतिहासिक धरोहरहरू छन् त्यस्तालाई पर्यटकीय क्षेत्र बनाउने योजना छ। रोजगारीको कुरा पनि छ। पुल छैन भनेर भन्दै हुनुहुन्छ। यी सबै समस्याको समाधान गर्नेछु। पहिलो जिम्मेवारी पूरा गरेका छौं, जुन संविधान निर्माण हो त्यो हामीले गरिसक्यौं। विकासको कुरामा पनि मैले अरू जनप्रतिनिधिले भन्दा कम काम गरेको छैन, मैले अहोरात्र खटिएर विकास निर्माणको काम गरेको छु।

विमल कार्की
नेकपा एमाले, प्रदेशसभा १ ‘क’

औद्योगीकरणको विकास
पहिलो कुरा त आर्थिक समृद्धिका प्याकेज, औद्योगीकरणको क्षेत्रमा विशेष फोकस गर्छौं। यहाँ स्वदेशी र विदेशी लगानी भित्र्याउने र यो जिल्लालाई नेपालको सिमेन्ट उत्पादनको हब बनाउने चाहना छ। कृषिक्षेत्रमा पनि आधुनिकीकरण गर्छौं। त्यसलाई औद्योगिक उत्पादनको रूपमा विकास गर्छौं। भौतिक पूर्वाधारको निर्माणमा काम गर्छौं। मेरो विर्वाचन क्षेत्रमा अहिले ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा छ। त्यसका लागि जसले भोगचलन गरेको छ उसलाई लालपुर्जा उपलब्ध गराउँछौ। अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँछौ।

नदी कटान नियन्त्रण
त्रियुगा नदीले आक्रान्त पारेको यहाँको कृषियोग्य जमिन हरेक वर्ष नदीले कटान गरिरहेको छ। यसलाई नदीको नियन्त्रण गर्नुपर्ने अति आवश्यक छ। यहाँको ठूलो समस्या भनेको अव्यवस्थित बसोबास रहेको छ। यहाँका ठूला जग्गा नापी हुन सकेका छैनन्, जसको लागि व्यवस्थित बसोबास हुनुपर्ने देखिन्छ। आगामी दिनमा मलगायत नेपाली कांग्रेसले प्रदेशको सरकार बन्दा यहाँका समस्या समाधानका लागि काम गर्नेछ। जनाताका बीचमा हामीले यही नदी नियन्त्रण र व्यवस्थित बसोबासलाई चुनावी नारासमेत बनाएका छौं।

रामबहादुर थापा मगर
नेकपा एमाले , प्रदेशसभा १ ‘ख’
सिमेन्ट उत्पादनमा जोड
हाम्रो योजना भनेकै विकास योजना हो। वाम गठबन्धनकै मुख्य नारा भनेको समृद्ध नेपालको स्थापना हो। पहिला पनि निवार्चनमा राम्रै बहुमत ल्याएको थियो। स्थिर सरकार र विकासका लागि मलाई जिताउनुपर्ने आवश्यक छ। म पहिला पूर्वसभासद भएको नाताले नीति निर्माणमा पनि मेरो अनुभव रहेको छ। त्यसैले पनि फेरि मौका पाए नेपालीको लागि काम गर्नेछु। नेताभन्दा नीति ठूलो हो ,नीतिले नेतालाई दोहोर्याउँछ। त्रियुगा नगरपालिका देशकै सबैभन्दा ठूलो क्षेत्रफल भएको नगरपालिका हो। यहाँ मेट्रोसिटी बन्ने सम्भावना छ। एसियाकै सबैभन्दा ठूलो सिमेन्ट कारखाना छ यहीं गाईघाटमा। जसले ४० प्रतिशतभन्दा बढी काम गर्न सकेको छैन। शतप्रतिशत यसको उत्पादन गराएर राष्ट्रिय आयमा टेवा पुर्याउने काम गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस्