वैदेशिक रोजगारीबारे सचेत गराउने प्रतिबद्धता



नेपाल समाचारपत्र, खोटाङ
खोटाङस्थित माध्यमिक तहका विद्यार्थीले वैदेशिक रोजगारमा जान तयार व्यक्ति वा गइसकेका परिवारको आफन्तलाई सूचना केन्द्रसम्म पुग्न सल्लाह दिने प्रतिबद्धता जनाएका छन्। सुरक्षित वैदेशिकरोजगार सम्बन्धी विद्यार्थी सचेतना कार्यक्रम आयोजना भएको विद्यालयका विद्यार्थीले सो सम्बन्धी सूचना तथा परामर्श लिनका लागि दिक्तेल बजारमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सूचना तथा परामर्श केन्द्र पुग्न सल्लाह दिने प्रतिबद्धता जनाएका हुन्।

बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामीअन्तर्गत जिल्लाको विभिन्न विद्यालयमा आयोजना गर्दै आएको विद्यार्थी सचेतना कार्यक्रम हालै मात्र चार वटा विद्यालयमा सम्पन्न भएको परियोजनाले जनाएका छ। कार्यक्रम सम्पन्नपश्चात सहभागी प्रत्येक विद्यार्थीले कागजपत्रको प्रतिलिपि घरपरिवार वा आफन्तलाई नछाडी वैदेशिक रोजगारमा गएका व्यक्तिबाट कागजपत्र मगाउन लगाउनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

कागजपत्रको महŒवको बारेमा थाहा पाएपछि घरपरिवारले समेत प्रतिलिपि मगाउन तदारुकता देखाएको सामाजिक परिचालक लिला निरौलाको भनाइ छ।

वैदेशिक रोजगारलाई सुरक्षित तथा उपलब्धिमुलक बनाउनका लागि जिल्लाका १० विद्यालयका लागि तय गरिएको कार्यक्रमअन्र्तगत रूपाकोट मझुवागढी नगरपालिका–१० स्थित सरस्वती मावि पाथेका, सोही नगरपालिका–१ का सरस्वती मावि दिक्तेल, ३ नम्बर वडामा पर्ने सावित्रा मावि बाम्राङ र ६ नम्बरमा रहेको कालिका मावि नेर्पामा विद्यार्थी सचेतना हालै सम्पन्न भएको हो।

मावि मझुवा बास्बोटेमा पनि पहिलो चरण कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ। कार्यक्रममा सूचना तथा परामर्श केन्द्रले दिने सेवा सुविधा तथा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी जानकारी दिइन्छ। वैदेशिक रोजगारको फाइदा–वेफाइदा, सुरक्षित वैदेशिक रोजगारको प्रक्रिया र महिला कामदारसम्बन्धी जानकारीको विषयमा समेत कार्यक्रममा छलफल हुने गरेको छ।

कार्यक्रमको उद्देश्य विद्यार्थीको माध्यमबाट वैदेशिक रोजगारलाई सुरक्षित तथा उपलब्धिमुलक बनाउने रहेको छ। विद्यार्थीबाटै घरपरिवार, छरछिमेकी तथा गाउँघरमा सूचना सम्प्रेषण होस भन्ने ध्येयको साथ कार्यक्रम सञ्चालन गर्ने गरिएको परियोजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्