जीएसटीको निहुँमा ग्राहकको ढाड सेकिदै



रोविन पौडेल, काठमाडौं ।

भारतमा कार्यान्वयनमा आएको (वस्तु तथा सेवा कर) जीएसटी नेपाली व्यापारीलाई मूल्य बढाउने बहाना बनेको छ। निर्यातमा भारतले जीएसटी छुट दिइसकेको अवस्थामा नेपाली व्यवसायीले साविकभन्दा मूल्य बढाएर भारतबाट आयात भएका सामान बेच्ने गरेका छन्। नेपाली बजारमा भारतबाट आयात गरिने कपडा, भाँडालगायतका अन्य सामग्री किन्दा व्यापारीले ग्राहकसम््ँग साविकभन्दा बढी मूल्य लिने गरेका छन्। ग्राहकले बढी मूल्य पर्नुको कारण सोध्दा जीएसटीका कारण भारतबाट आयात हुने सामान महंँगो पर्ने जवाफ व्यवसायीहरूको जवाफ हुन्छ।

‘भारतले निर्यातमा जीएसटी छुट दिए पनि नेपाली व्यवसायी मूल्य बढाउने गरेका छन्।’
प्रेमलाल महर्जन
अध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च

भारतले गत जुलाईदेखि नयाँ तथा एकीकृत कर प्रणाली ‘वस्तु तथा सेवा कर’ जीएसटी कार्यान्वयनमा ल्याएको थियो। भारतले सबै संघीय तथा केन्द्रीय कर प्रणाली खारेज गर्दै देशैभर एक कर नीति लागू गरेको थियो। यस कर प्रणाली कार्यान्वयनमा समस्या भएको भन्दै भारत सरकारले केही प्रदेश तथा निर्यातमा पनि छुट दिने घोषणा गरिसकेको छ।

भारतले निर्यातमा जीएसटी छुट दिए पनि नेपाली व्यवसायी मूल्य बढाउने गरेको नेपाल उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘व्यापारीलाई कुन बहानामा कालोबजारी गरौं वा मूल्य बढाऊ भन्ने हुन्छ। जीएसटीकै कारण मूल्य बढ्यो भन्नु त सरासर गलत हो।’ उहाँले थप्नुभयो–‘भारतमा लागू भएको नयाँ कर प्रणालीका कारण भारतमा उत्पादन हुने वस्तु नेपाल भित्रिँदा महंँगो पर्ने व्यापारीको तर्क झुट हो।’

अहिले नेपालमा जीएसटी बिलले मान्यता पाएकै छैन, साधारण बिलबाट नै काम चलाउनु परेको छ।
उमेशलाल श्रेष्ठ 

उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

तर खुद्रा व्यवसायी भने जीएसटीले मूल्य बढाएको तर्क गर्छन्। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार पहिले २ सय ८० रुपियाँ प्रतिकिलो पर्ने दाल डेढ सयमा पाउन थालिएको दाबी गर्नुहुन्छ। उहाले भन्नुभयो– ‘जीएसटी हाम्रा लागि राम्रो कुरा हो। भारतमा एकै कर लागू गर्दा नेपाल भित्रिने सामानमा थप भार पर्दैन।’ नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठका अनुसार नेपाल भित्रिने सामानमा भन्सार लाग्दा शुरुका १२ दिन मात्र जीएसटी बिल मान्य भएको थियो। उहाँले भन्नुभयो– ‘अहिले जीएसटी बिलले मान्यता पाएकै छैन, त्यसैले भारतबाट साधारण बिल देखाएरै भन्सार तिर्ने गरिएको छ।’

नेपाल भित्रिने समानको हकमा जीएसटी बिल मान्य नहुनुको कारण नक्कली बिल प्रयोग भएको भन्सार विभागले जनाएको छ। नेपाल भित्रिने सामानको बिल सक्कली हो कि होइन अथवा ‘रिजनेबल’ छ कि छैन भनेर हेर्ने अधिकार सम्बन्धित भन्सार प्रमुखकै हुने व्यवस्था रहेको छ। भारतबाट नेपाल समान भित्र्याउँदा प्रयोग हुने बिल नेपाली भन्सारको स्ट्यान्डर्डअनुसारको नभएपछि जीएसटी बिल मान्य हुन छाडेको हो। त्यसरी सामान ल्याउँदा एलसी खोलेर तथा भारतमा कर फिर्ता पाउने बिलसहितको सी–फर्मको प्रयोग भएको अवस्थामा मात्र नेपालमा भन्सारले जीएसटी बिललाई मान्यता दिने गरेको भन्सार विभागले जनाएको छ।

भारतबाट आयातित वस्तु तथँ औद्योगिक कच्चा पदार्थमा जीएसटी लाग्ने कारण उद्योगको उत्पादन लागतमा वृद्धि हुने गरेको छ। व्यापारिक सामग्रीमा त्यसको मूल्यवृद्धि भएर नै उपभोक्तालाई व्यायभार थपिएको व्यापारीको दाबी छ। भारतमा जीएसटी लागू भएदेखि त्यहाँ आवश्यक उपभोग्य वस्तु सस्तिएका थिए भने सुविधायुक्त र आधुनिक जीवनशैलीका सामान महँगिएका थिए। जसले गर्दा दूध, मसला, खुला खाद्यान्न, नुन, फलफूल, तरकारीलगायत वस्तु पहिलेको तुलनामा सस्तिएका थिए। तर, २८ प्रतिशतसम्म ट्याक्स लगाइएका गाडी, मोटरसाइकल, चकलेट तथा बटर, पेट्रोल, डिजेल, पान मसला, फ्रिज, मेकअपका सामान, टायर, वासिङ मेसिनलगायत भने पहिलेको तुलनामा केही महँगो पर्न गएको थियो।

 

प्रतिक्रिया दिनुहोस्