क्रिकेटर महेशलाई “नेपालगन्ज स्पोर्टस् अनर” सम्मान



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट खेलाडी महेश क्षत्रीलाई शुक्रबार नेपालगन्ज स्पोर्टस् अनरबाट सम्मानित गरिएको छ।

नेपालगन्जमा जन्मिएर नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको हुनाले क्रियटिभ ह्यान्डस्ले सम्मान गरेको हो। मध्य तथा सुदूरपश्चिम क्षेत्रबाट खेल करियर शुरु गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण सफलता हासिल गरेका खेलाडीलाई क्रियटिभ ह्यान्डस्ले अवार्ड प्रदान गर्दै आएको छ। नेपालगन्ज स्पोर्टस् अनरबाट सम्मानित हुने विकेटकिपर महेश दोस्रो खेलाडी हुन्।

क्रियटिभ ह्यान्डस्ले यसअघि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापालाई स्कुटर प्रदान गरी सम्मान गरेको थियो। उमेर समूह हँुदै सिनियर क्रिकेट टिमबाट नेपाली क्रिकेटको विकासमा योगदान गरेकाले नेपालगन्ज निवासी महेशलाई सम्मान गरेको क्रियटिभ ह्यान्डस्का अध्यक्ष टीएस ठकुरीले बताए।

नेपालगन्जबाट क्रिकेट करियरको शुरुआत गरेका महेशले बाँके, मध्यपश्चिमको कप्तानको रूपमा घरेलु प्रतियोगितामा खेलेका छन्। राष्ट्रिय क्रिकेटर महेश अहिले नेपाली सेनाको क्रिकेट टिमका कप्तान हुन्। उनले अमेरिका र लन्डनबाट व्यावसायिक क्लब क्रिकेट खेलिसकेका छन्।

सन् २००२ मा अन्डर १५ टोलीबाट क्रिकेट करियर शुरु गरेका क्षत्रीले सन् २००५ मा अन्डर १९ राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। सन् २००६ मा मलेसियामा भएको एसीसी ट्रफीमा सिनियर टोलीबाट पहिलो खेल खेलेका क्षत्री, नेपालको टी–२० विश्वकप छनोट यात्राका सदस्य थिए।

सम्मानित भएपछि प्रतिक्रिया दिँदै क्षत्रीले आफूले खेल जीवनमा पाएको सबैभन्दा ठूलो सम्मानका रूपमा व्याख्या गर्दै आयोजक संस्था क्रियटिभ ह्यान्डस्लाई धन्यवाद दिए। आफूले खेल जीवनमा ठूलो संघर्ष गरेको बताउँदै उनले यस प्रकारको सम्मानले आफूमा ऊर्जा प्राप्त भएको उल्लेख गरे। उनले भने– ‘खेल जीवनमा मैले ठूलो संघर्ष गरेको छु। निकै दुःख पाएको छु तर आज सम्मानित हुँदा निकै ऊर्जा प्राप्त भएको छ। देशका लागि अझै मेहनत गर्नेछु।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले क्रिकेटर क्षत्रीले नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै खेलाडीको सम्मानका लागि आयोजक संस्थाले गरेको प्रयासको प्रशंसा गरे।
त्यस्तै कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष टीएस ठकुरीले यस प्रकारको सम्मान कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए। सम्मान कार्यक्रम आयोजना गर्न विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेको स्मरण गर्दै उनले सबैको साथ र सहयोगले कार्यक्रम गर्न सफल भएको बताए। खेल र खेलाडीलाई सम्मान गर्ने कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने उनको प्रतिबद्धता थियो।

क्रियटिभ ह्यान्डस्ले नेपालगन्जमा हाफ म्याराथन, अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल गर्दै आएको छ। संस्थाले प्रधानमन्त्री कप, राष्ट्रिय महिला भलिबल प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा सहयोगसमेत गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्