आफ्नै ट्राफिक नियम बनाउने दण्डित



बेइजिङ, (एजेन्सी)
चीनमा सडकमा राखिएको सीसीटीभीको सर्भेलियन्स फुटेजमा आफूलाई दिनहुँ सवारी साधन चलाउँदा सजिलो पर्ने गरी सडकमा नयाँ ट्राफिक चिह्न पेन्टिङ गरिरहेको अवस्थामा भेटिएका एक जना पुरुषलाई जरिवाना गरिएको छ।
दि मोडर्न एक्सप्रेसले जियाङ्सु प्रान्तको पूर्वी शहर लियानयुन्गाँगमा भएको सो घटनामा दोषी ठहरिएका २८ वर्षीय काइ नामक ती व्यक्तिलाई १ सय ५१ अमेरिकी डलर जरिवाना गरिएको जनाएको छ।
यिनलाई २७ सेप्टेम्बरमा एक क्यान ह्वाइट पेन्ट प्रयोग गरी सडकमा ट्राफिक निर्देशनका लागि वाणको चिह्न बनाउँदै गरेको अवस्थामा क्यामरामा कैद गरिएको थियो। उनले काममा जानेबेला दिनहुँ आफू चढ्ने बस लामो समय जाममा फस्ने गरेकाले वाक्क दिक्क भएर आफूले सो जुक्ति निकालेको प्रहरीसमक्ष बयान दिएका छन्।

उनले प्रहरीलाई भनेका छन्– ‘सीधा जाने बाटोमा जहिले पनि सवारी साधनको भिडभाड हुने गरेको छ। तर बाहिनेपट्टिको बाटोमा ठाउँ खाली हुने गरेको छ। त्यसैले मैले संकेत परिवर्तन गर्दा आफ्नो यात्र सुगम हुने सोचेको थिए।’ ट्राफिक प्रहरीले मोडर्न एक्सप्रेसलाई भनेका छन्– ‘काइको व्यवहार निकै खतरानाक थियो। उनको हरकतको कारण सावारी साधनहरू ठोक्किन सक्थे।

हामीले सो स्थानमा तत्काल पुनः पेन्ट गराइसकेका छौं।’ चीनमा कसैले आफूलाई पायक पर्ने गरी आफ्नो कला र सीप प्रयोग गरी आफ्नै ट्राफिक नियम बनाएको पहिलो घटना हो।

प्रतिक्रिया दिनुहोस्