तिब्बती भिक्षुद्वारा आत्मदाह



वासिङ्टन, (एजेन्सी)
तिब्बतमा वेइजिङको उपस्थितिका विरुद्ध दक्षिण पश्चिम चीनमा भएको प्रदर्शनमा एक ६३ वर्षीय तिब्बती भिक्षुले आत्मदाह गरेको र यो वर्ष मात्र यसरी आत्मदाह गर्ने उनी पाँचौं व्यक्ति भएको तिब्बती कार्यकर्ताहरूले जानकारी दिएका छन्।

तिब्बती स्वायक्त प्रदेश सिचुआन प्रान्तको गान्जीमा आइतबार लोकप्रिय भिक्षु तथा ग्रामीण बालबालिकाका स्वयंसेवक शिक्षक टेंगाको आत्मदाहबाट मृत्यु भएको इन्टरनेसनल क्याम्पेन फर तिब्बतको वासिङ्टनस्थित मुख्यालयले जनाएको छ। सन् २००९ देखि यता आत्मदाह गर्ने उनी १ सय ५१औं तिब्बती भएको उक्त समूहले जनाएको छ।

यसै वर्षको पूर्वाद्र्धमा मात्रै गान्जीका बासिन्दा वाङचुक छेटेनले पनि घातक आत्मदाह गरेका थिए। अधिकारीहरूले पछिल्लो घटनाका बारेमा जानकारी नभएको एएफपीलाई बताए।

आत्मदाहको बेला टेंगाका साथीहरू घटनास्थलमा उपस्थित रहेको र उनले आफूलाई आगोमा होमिँदा उनहिरूले ‘हामी स्वतन्त्र तिब्बत चाहन्छौं’ नाराबाजी गरेको लन्डनस्थित अभियान समूह फ्रि तिब्बतले जनाएको छ।

उसले एक मिनेट लामा उक्त घटनाको डरलाग्दो भिडियो पनि सार्वजनिक गरेको छ। जसमा टेंगाले हेर्न बसेका भिडको अगाडि एक सडकमै आफूलाई जलाएका थिए भने केहीले शान्त भएर प्रार्थना गरिरहेका थिए। केही समयपछि नै युनिफर्ममा रहेका अधिकारीहरूले ब्लान्केटले छोपेको र अग्निसमन यन्त्रको मद्दतबाट आगो निभाएका थिए। ‘हरेक तिब्बतीको एउटा दायित्व छ र म जहाँ गए पनि मैले तिब्बतलाई बिर्सन्न भन्नुपर्छ। म सधैं उनलाई म एक तिब्बती भएको गर्वसाथ भनेर स्मरण गर्छु’ अमेरिकामा निर्वासित जीवन बिताइरहेका टेंगाका एक नातेदारले बताएको आईसीटीले जनाएको छ।

बेइजिङले सन् १९५१ मा उसको सेनाले तिब्बतलाई शान्तिपूर्ण ढंगले मुक्त गरेको बताएको छ तर धेरैजसो तिब्बतीहरू कम्युनिस्ट केन्द्र सरकारले धार्मिक दमन र उनीहरूको संस्कृति नष्ट गरिरहेको आरोप लगाउने गरेका छन्।

तिब्बती धार्मिक नेता दलाइलामा सन् १९५९ को असफल विद्रोहपछि त्यहाँबाट पलायन भएका थिए।

प्रतिक्रिया दिनुहोस्