“विदेशमन्त्री टिलर्सनलाई हटाउन लागेको समाचार गलत हो”



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति कार्यालयले विदेशमन्त्री रेक्स टिलरसनलाई हटाउन लागेको भन्ने समाचारलाई अस्वीकार गरेको छ।

ह्वाइट हाउसको प्रवक्ता सारा सेन्डर्सले टिलर्सन विदेश मन्त्रालयमा रहिरहने बताए। उनले भने टिलर्सनलाई हटाइन समाचार सही नभएको बताए। यसअघि अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउस रेक्स टिलर्सनको ठाउँमा बहालवाला सीआईए प्रमुख माइक पाम्पियोलाई विदेश मन्त्री बनाउने विचार गरिरहेको उल्लेख गरेको थियो।

हालैका दिनमा विदेश नीतिलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टिलर्सनबीच मतभेद भएको समाचार आएको थियो। विदेशमन्त्रीले राष्ट्रपतिलाई एक निजी वार्तालापमा ‘मन्दबुद्धी’सम्म भनेको पनि समाचारमा आएको थियो।
अन्य मामिलामा जस्तै उत्तर कोरियाका क्षेप्यास्त्र परीक्षण र इरानको परमाणु कार्यक्रमलाई लिएर दुईको विचार फरक छन्। यसअघि ह्वाइट हाउसको एक अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले टिलर्सनलाई हटाउने विचार भइरहेको र एक अज्ञात स्रोतले न्युयोर्क टाइम्स र वेनिटी फेयरसँग पनि यस विषयमा वार्ता गरेको जनाएको थियो।

न्युयोर्क टाइम्सका अनुसार सीआईए प्रमुख माइक पाम्पियोको कुर्सी रिपब्लिकन सिनेटर टम कटनलाई दिइनेछ। ट्रम्प र उनका विदेश मन्त्रीबीच मतभेदको समाचार धेरै समयदेखि चर्चामा आइरहेको हो।
विदेशमन्त्री इरानको परमाणु महत्वाकांक्षालाई नियन्त्रणमा राख्न बहुपक्षीय परमाणु सम्झौताको पक्षमा थिए। अमेरिकी राष्ट्रपति उक्त सम्झौताविरुद्ध आफ्नो फरक विचार राखिसकेका छन्। राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग कूटनीतिक सम्पर्क गरेर टिलर्सनले आफ्नो समय बर्बाद गरिरहेको टिप्पणी गरेका थिए।
टिलर्सनलाई गत जनवरीमा विदेश मन्त्री बनाइएको थियो। यदि उनलाई पदबाट हटाइयो भने उनी अमेरिकामा सबैभन्दा छोटो कार्यकाल टिक्ने विदेशमन्त्री हुनेछ।

प्रतिक्रिया दिनुहोस्